निडर, इमान्दार र सादगी नेता अमिक शेरचन


१९ कार्तिक २०७६, मंगलवार
amik serchan

चितवन, १९ कार्तिक । अमिक शेरचन राजनीतिसँगै इमान्दार, सदाचार र सादगी जीवन जिउने थोरै व्यक्तित्वमध्येमा पर्छन् ।

जीवनको लामो समय भूमिगत र अर्धभूमिगत भएर बिताएका उनी निर्भीक, निडर र इमान्दार नेताका रुपमा चिनिन्छन् । त्यही सादगी नेता शेरचन अहिले गण्डकी प्रदेशको प्रमुखमा नियुक्त भएका छन् ।

विसं २००६ मा म्याग्दी जिल्लाको ओखरबोटखानी–९ मा जन्मनुभएका बडिबहादुर र उमादेवीका छोरा उनी हाल भरतपुर महानगरपालिका–२६ का स्थायी बासिन्दा हुन् । युवावस्थादेखि नै वामपन्थी राजनीतिमा झुकाव राख्दै आएका शेरचन विसं २०३५ मा निर्मल लामाले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन) को केन्द्रीय सदस्य एवं चितवन जिल्ला सचिव भएका थिए ।

तत्कालीन समयमा पञ्चायत विरोधी अभियानमा सक्रिय उनले विभिन्न समयमा कारागार जीवन पनि बिताए । वामपन्थी नेता साध्यबहादुर भण्डारीका अनुसार विसं २०४७ मा तीन पार्टी र त्यसको एक वर्षपछि अरु दुई पार्टी थपिएर बनेको नेकपा (एकता केन्द्र) मा शेरचन केन्द्रीय सदस्य थिए । शुरुमा नेकपा (मशाल), नेकपा (चौथो महाधिवेशन) र सर्वहारावादी श्रमिक सङ्गठन मिलेर संयोजन समिति बन्यो ।

पछि त्यसैलाई एकता केन्द्रका रुपमा घोषणा गरिएको थियो । नेता भण्डारीले पछि सोही पार्टीको विद्रोही मसाल र रुपचन्द्र विष्टले नेतृत्व गरेको पार्टी समेत एकता केन्द्रमा समाहित भएको जानकारी दिए । शेरचन विसं २०४७ मा संयुक्त जनमोर्चाको चितवन जिल्ला अध्यक्ष भएका थिए ।

त्यसका केन्द्रीय अध्यक्षमा डा बाबुराम भट्टराई थिए । नेता भण्डारीका अनुसार विसं २०५१ मा संयुक्त जनमोर्चाबाट डा. भट्टराई र निरञ्जन वैद्य अलग्गिएर छुट्टाछुट्टै पार्टी खोलेपछि विसं २०५४ को जनकपुर सम्मेलनले शेरचनलाई संयुक्त जनमोर्चाका केन्द्रीय अध्यक्ष बनाएको थियो ।

एकता केन्द्र र संयुक्त जनमोर्चाका तर्फबाट विसं २०४८ को निर्वाचनमा उम्मेदवार बनेका शेरचन चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भए । विसं २०५९ मा संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको जनमोर्चा नेपालको अध्यक्ष पनि शेरचन नै भए । विसं २०६३ मा सो पार्टी विघटन भएको घोषणा गरी तत्कालीन नेकपा (माओवादी) मा समाहित भएको थियो ।

उक्त पार्टीमा शेरचन स्थायी समिति सदस्य बनेका थिए । यससँगै उनले पार्टीको अनुशासन कमिटीको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए । शेरचन विसं २०६३ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत बनेका थिए ।

विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उहाँ चितवन क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए । राज्य विद्रोहको मुद्दा लागेर पटक पटक हिरासतमा रहँदा त्यही प्रहरीलाई समेत कुटपिट गरेका शेरचन कम्युनिष्ट नेताहरुमध्येका साहसी नेता भएको उनीसँग निकट रहेर राजनीति गरेका माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले बताए ।

शेरचन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आमन्त्रित सदस्य छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७