आफैं सहभागी सरकारको समाजवादीद्धारा चर्को आलोचना, सरकार छाड्ने विषयमा मध्यमार्गी प्रस्ताव


२८ कार्तिक २०७६, बिहीबार
baburam bhattarai

काठमाडौं, २८ कार्तिक । सत्तारुढ दल समाजवादी पार्टीले आफू सहभागी सरकारको चर्को आलोचना गरेको छ ।   बिहीबार काठमाडौंमा बसेको ‘संघीय परिषद् बैठक’मा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आफैं सहभागी सरकारको आलोचना गरिएको हो ।

 प्रतिवेदनमा सरकार जनअपेक्षाअनुरुप काम गर्न असफल भएकोमात्र नभइ अकर्मन्यता, भ्रष्टाचार र यथास्थितिवादको दलदलमा फस्दै गएको उल्लेख छ । प्रतिवेदनमा संघीयता कार्यान्वयन गर्नुको सट्टा सरकार एकपछि अर्को गरी संघीयता असफल बनाउन लागिपरेको आरोप लगाइएको छ । सरकारको आलोचना गरेपनि सोही प्रतिवेदनमा तत्काल सरकारबाट बर्हिगमनको विषयमा भने मध्यमार्गी बाटो लिइएको छ ।

सरकार छाड्ने कि नछाड्ने भन्ने विषयमा पार्टीभित्र लामो बहस चलेपनि अध्यक्ष डा. भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा संविधान संशोधन प्रक्रिया अगाडि नबढाए सरकारबाट बर्हिगमनका लागि कार्यकारिणी समितिले निर्णय गर्ने मध्यमार्गी प्रस्ताव राखे । राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले प्रत्यक्ष लोकतन्त्रको विरुद्धमा नेकपा विपक्षी दल नेपाली कांग्रेसकै कित्तामा पुगेको जिकिर गरे ।

नेकपा वैचारिक रुपमा अन्यौलग्रस्त र नैतिक रुपमा स्खलित पार्टी भएको जिकिर गरे । भट्टराईले राजपा नेपाल राष्ट्रिय पहिचान र अधिकारको पक्षधर लोकतान्त्रिक दल रहेको उल्लेख गर्दै राजपासँग धेरै एजेण्डाहरु मिल्ने भएकाले एकता प्रक्रिया चलिरहेको बताए । प्रतिवेदनमाथि बैठकबाट प्राप्त सुझाव समेटेर केन्द्रीय समिति बैठकले राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्नेछ । 

बैठकमा देशभरिबाट करिब एक हजार संघीय परिषद् सदस्य सहभागी छन् । गएको वैशाख २३ गते तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच भएको एकता भएपछि पहिलोपटक संघीय परिषद् बैठक बसेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७