श्रीमतीसँग फोटो खिचेका युवकको हत्या, विदेशबाट फर्केर आई रक्सीमा मिसाएर पिलाए ‘विष’


२९ कार्तिक २०७६, शुक्रबार
hatya saptari

राजविराज, २९ कार्तिक । श्रीमतीसँग फोटो खिचेको भन्दै सप्तरी राजविराजका एक युवकले गाउँकै अर्का युवकको हत्या गरेका छन् ।

श्रीमतीसँगै बसेर फोटो खिचेको देखेपछि गाउँका युवकको हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमती र गाउँकै एक युवकको फोटो सँगै देखेपछि युवकको हत्या गर्ने महिलाका श्रीमानसहित दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरी थुनामा राखेको हो ।

जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलाशले सप्तरीको सुरुङ्गा नगरपालिका–३ विषहरियाका ४६ वर्षीय महेन्द्र सदा र २५ वर्षीय अनील सदालाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको छ ।

दुई वर्ष पाँच महिनाअघि सोही ठाउँ बस्ने १९ वर्षीय फुल्चनकुमार मण्डललाई विष खुवाइ हत्या गरेको अभियोगमा उनीहरू असोज ३० गते पक्राउ परेका थिए । ‘श्रीमति र अविवाहित फुल्चनले सँगै खिचेको फोटो फेला पारेपछि उनीहरूबीच प्रेम सम्बन्ध रहेको ठानी वैदेशिक रोजगारबाट फर्किए लगत्तै महेन्द्रले योजना बनाएर हत्या गरेका रहेछन्’ इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले भने ।

केशरीका अनुसार रक्सी खान बजारमा बोलाइ विषादी मिसाएको रक्सी खुवाएर सुनियोजित तरिकाले हत्या गरी फरार रहेका महेन्द्र र अनीललाई पक्राउ गरी अदालतमा बुझाइएको हो ।
रक्सीमा विषादी मिसाएर खुवाएपछि फुल्चनले आत्महत्या गरेको हल्ला फिंजाएर आरोपितहरूले घटनालाई ढाकछोप गर्ने प्रयास गरेको जनाउँदै फुल्चनकी आमा हन्सीदेवी मण्डल खत्वेले उजुरी दिएकी थिइन् । सँगै रक्सी खान बोलाएर फुल्चनको रक्सीमा विषादी मिसाएको थाहा पाएपछि हत्याको उजुरी दिएको उनले बताइन् ।

प्रहरीका अनुसार रक्सी खान बोलाइ ०७४ असार ७ गते दिउँसो साढे ३ बजे रक्सीमा विषादी चक्की हालेर खान दिएकै कारण फुल्चनको मृत्यु भएको थियो । मृतककी आमाको उजुरीका आधारमा आरोपितहरूमाथि कर्तव्य ज्यानको उजुरी दर्ता भए पनि दुई वर्ष चार महिनासम्म कोही पक्राउ परेका थिएनन् ।

भाइ र आफन्तहरूसँग मिलेर गाउँकै युवकको हत्या गरेर फरार आरोपितहरू महेन्द्र र अनील गाउँमै फेला परेपछि पक्राउ परेका हुन् । अन्य आरोपितहरू सोही ठाउँका महेन्द्रका भाइ ४४ वर्षीय जोगेन्द्र सदा, २४ वर्षीय अर्जुन सदा, २३ वर्षीय प्रदिप सदा र २२ वर्षीय अजित सदा फरार छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७