अपूरोमै सकियो तरुण दलको कार्यकाल


५ मंसिर २०७६, बिहीबार
Tarun Dal

काठमाडौं, ५ मंसिर । प्रमुख प्रतिपक्षी दल कांग्रेसको भ्रातृ संगठन तरुण दलको तीन बर्षे कार्यकाल सकिएको छ । तर तीन वर्षको कार्यकालभरि तरुण दलको केन्द्रीय कार्यसमितिमा जम्मा ४ जना मात्र पदाधिकारी थिए । ०७३ मंसिरमा नेताबीच भागबण्डाको आधारमा घोषित समितिको म्याद मंसिर २ गते नै सकिएको हो ।

पोखरामा भएको महाधिवेशनमा पार्टी नेताहरूको आन्तरिक सहमतिमा ४ जना पदाधिकारीको समिति बनाइएको थियो । समितिमा अध्यक्ष जीतजंग बस्नेत, उपाध्यक्ष उत्तम चपागाईं, महासचिव भूपेन्द्रजंग शाही र कोषाध्यक्ष विद्वान गुरुङलाई बनाइएको थियो ।

पोखरामा भएको महाधिवेशनमा अन्य सदस्यपछि थप्ने भन्दै ४ जनाको समिति घोषणा भयो । विधानअनुसार ९५ जनाको केन्द्रीय समिति हुन्छ । ९१ जना खाली रहँदै कार्यकाल सकियो ।
‘हामीलाई केन्द्रीय समिति विस्तार गर्ने अधिकार थिएन,’ अध्यक्ष बस्नेतले भने, ‘हाम्रो पार्टीको समस्य (आन्तरिक गुटबन्दी) तपाईंहरूलाई थाहै छ । त्यसकारण चारजनामै सीमित रह्यौं ।’

महासचिव शाहीले पार्टी शीर्ष नेतालाई केन्द्रीय समिति विस्तारका लागि पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरेको दाबी गरे। अध्यक्ष बस्नेत र कोषाध्यक्ष गुरुङ पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् । महासचिव शाही वरिष्ठ नेता रामचन्द्र पौडेल र उपाध्यक्ष चापागाईं नेता कृष्णप्रसाद सिटौला निकट हुन् ।

अर्को भ्रातृ संगठन नेपाल विद्यार्थी संघ पनि ११ महिनादेखि नेतृत्वविहीन हुँदा तरुण दलका नेतामा पनि संशय छ । पार्टी नेताको लडाइँले तरुण दल पनि ‘भ्याकुम’ हुने संका नेताहरू गर्छन् । म्याद सकिएको तरुण दलभित्र आन्तरिक विवाद उस्तै छ । अध्यक्ष बस्नेत महासचिव शाहीलाई कारबाही गरिसकेको र अब ३ जना मात्रै पदाधिकारी रहेको दाबी गर्छन् । महासचिव शाही पनि अध्यक्ष बस्नेतलाई कारबाही गरिसकेको दाबी गर्छन् ।

शाहीलाई पार्टीको अनुशासन समितिले समेत स्पष्टीकरण सोधिसकेको भन्दै अब संगठनमा उनी कुनै भूमिकामा नरहेको बताउँछन् । तर उपनिर्वाचनका लागि पार्टीलाई सहयोग गर्ने भन्दै दुवै जनाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर कार्यकर्तालाई खटिन अह्वान गरेका छन् । यसरी संगठन विस्तार नहुँदा कतिपय नेता अवसर पाउनबाट वञ्चित भएका छन् ।

विवादमा रुमल्लिएको तरुण दलबारे पार्टी भने चुपचाप छ । यो कार्य समिति कामचलाउ भए पनि उपचुनावमा पार्टीलाई प्रचार र सघाउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् । ‘उपनिर्वाचन अघि जीतजंगजीकै नेतृत्वमा तरुण दल निर्वाचनको तयारीमा होमिन्छन्’, उनले भने, ‘उपनिर्वाचनपछि पार्टी केन्द्रीय समितिले केही निर्णय गर्छ ।’

सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार तरुण दलबारे निर्णय गर्न पार्टीसामु दुई विकल्प छन्– पहिलो यही समितिलाई म्याद थपेर महाधिवेशन गर्न दिने र दोस्रो अर्को समिति बनाउने । उपचुनावपछि बस्ने पार्टीको केन्द्रीय समिति बैठकले यसबारे निर्णय लिने उनले बताए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७