सबै ५२ ठाउँकै नतिजा सार्वजनिक, नेकपाले जित दोहोर्‍यायो, कांग्रेसले सिट बढायो

नेकपा ३०, कांग्रेस १३, समाजवादी ४ र राजपा ३ स्थानमा विजयी


१६ मंसिर २०७६, सोमबार
election of nepal scaled 1

काठमाडौं, १६ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ३० स्थानमा विजय हासिल गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १३ स्थानमा चुनाव जितेको छ । समाजवादी पार्टी नेपालले चार र राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन स्थानमा विजयी हासिल गरेका छन् भने एक स्वतन्त्र उम्मेदवारले पनि उपनिर्वाचनमा बाजी मार्न सफल भएका छन् ।

नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, २४ वडाध्यक्ष पद जितेको छ । नेपाली कांग्रेसले भने प्रदेशसभा सदस्य एक, उपमहानगर प्रमुख एक र ११ वडाध्यक्ष पदमा विजयी हासिल गरेको हो ।

समाजवादीका उम्मेदवारले चार र राष्ट्रिय जनता पार्टीका उम्मेदवारले तीन वडाध्यक्ष पदको नतिजा आफनो पक्षमा पार्न सफल भए । नेकपाको सहयोगमा राष्ट्रिय जनमोर्चाले बागलुङमा प्रदेशसभा सदस्य एक पद जितेको छ भने एक जना स्वतन्त्र उम्मेदवार प्यूठानमा वडाध्यक्षमा विजयी भएका हुन् ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै विभिन्न कारणले रिक्त भएका ५२ पदमा अव नयाँ जनप्रतिनिधिको प्रवेश भएको छ । सिट संख्याका आधारमा उपनिर्वाचनको परिणामले राष्ट्रिय राजनीतिमा खासै असर नगरे पनि जनप्रतिनिधि छनोटको आधारमा भने केही फेरबदल भएको छ ।

अघिल्लो निर्वाचन जस्तै धेरै क्षेत्रमा पुरानै दलका प्रतिनिधि चयन भए पनि कतिपय स्थानमा भने एक दलका उम्मेदवारले अर्कोलाई विस्थापित गरेका छन् । प्रतिनिधिसभा कास्की क्षेत्र नं–२ मा नेकपाले जित दोहोर्‍याएको छ भने कांग्रेसले प्रदेशसभामा भक्तपुरबाट सिट संख्या बढाएको छ ।

बागलुङको प्रदेशसभा सदस्यमा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाले जितेको छ भने स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरपालिका प्रमुख जितेर कांग्रेसले प्रमुखको संख्या बढाएको छ । नेकपाले प्रतिनिधिसभासहित दाङको प्रदेशसभा र उपनिर्वाचन भएका तीन वटै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष जितेको छ । उपनिर्वाचनबाट सात महिला, सात मधेशी, १८ आदिवासी जनजाति र एक अल्पसंख्यकको चयन भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७