एमबिबिएस विद्यार्थीद्वारा भोलिदेखिको परीक्षा बहिष्कार, जलाए प्रवेश पत्र

कुन–कुन कलेजका विद्यार्थीले गरे परीक्षा बहिष्कार ?


१८ मंसिर २०७६, बुधबार
mbbs

काठमाडौं, १८ मंसिर । लामो समयदेखि आन्दोलन गर्दै आएका चिकित्सा शिक्षा एमबिबिएसलगायतका विद्यार्थीले भोलि (बिहीबार) देखि हुने परीक्षा बहिष्कार गरेका छन् ।

आज (बुधबार) देखि हुने भनिएको बिडिएस, नर्सिङलगायत आठ संकायका परीक्षार्थीले परीक्षा बहिष्कार गरेका हुन् । बिहीबारदेखि भने एमबिबिएस पहिलो वर्षको परीक्षा तय भएको थियो ।
युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज र जानकी मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गरेका हुन् ।

आन्दोलनरत् विद्यार्थीमध्ये चितवन मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गरेको जनाउँदै बुधबार प्रवेश पत्र समेत जलाएर विरोध जनाएका छन् । चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा चितवनमा विद्यार्थीले प्रवेश पत्र जलाएका हुन् ।

‘शुल्क समायोजनको नाममा मेडिकल कलेजमा अध्ययनरत् विद्यार्थीलाई शिक्षा मन्त्रालयले मिलेमतोमा धोका दिएका कारण परीक्षा बहिष्कार गर्नुपरेको हो,’ संघर्ष समिति सदस्य मान्यता थापाले जानकारी गराइन् । उनले भनिन्, ‘हाम्रा माग पूरा नभएसम्म भोलिदेखि हुने परीक्षामा विद्यार्थी सहभागी हुँदैनन् ।’

एमबिबिएस पहिलो र दोस्रो वर्षमा उठाइएको गैरकानुनी शुल्क फिर्ता गर्ने सहमति मंसिर १० गते भएको थियो । शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच भएको उक्त सहमतिले विद्यार्थीलाई राहत दिन नसक्ने भन्दै विद्यार्थीले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

शुल्क समायोजन गरिने भनिए पनि एमबिबिएस तेस्रो र चौथो वर्षमा उठाइएको गैरकानुनी शुल्कबारे केही नबोलिएको, कुन शीर्षकमा उठाइएको कति शुल्क फिर्ता गर्ने सहमति भएको उल्लेख नभएको भन्दै विद्यार्थीले अस्वीकार गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७