ज्ञानेन्द्रले दुई महिनाकी छोरीलाई समर्पण गरे भुटानविरुद्धको ‘शतक’


१९ मंसिर २०७६, बिहीबार
gyanedra

काठमाडाैं, १९ मंसिर । नेपाली क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्लले आज (बिहीबार) भुटानविरुद्ध आफूले गरेको शतक आफ्नी दुई महिनाकी छोरीलाई समर्पाण गरेका छन् ।

पछिल्ला खेलहरुमा राम्रो स्कोर बनाउन नसकिरहेका कप्तान ज्ञानेन्द्र मल्लले बिहीबार १३ ओं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत भुटानविरुद्ध शतक प्रहार गरेका छन् । १०७ रनमा आउट भएका उनी टी–२० मा सर्वाधिक रन बनाउने नेपाली क्रिकेटर बन्न सफल भए । त्रिवि क्रिकेट मैदानमा १०० रन बनाएपछि उनले छोरीलाई शतक समर्पण गरेका छन् ।

दुई महिनाकी आफ्नी छोरी आफ्ना लागि विजयको स्रोत बनिरहेको जनाउँदै उनले यो उपलब्धी छोरीको नाममा समर्पण गर्न चाहेको बताए । उनले सुनाए, ‘९९ रन बनाएपछि शतक हुन्छ भन्ने भयो र यो निर्णय गरें ।’

भुटान कमजोर टिम हो । तर त्यसविरुद्ध बनेको शतकले पनि आफूलाई आत्मविश्वास बढाउन मद्दत गर्ने मल्लले बताएका छन् । शतक शतक नै हो । त्यहाँ (मैदानमा) गएर खेल्नुपर्छ, बल हान्नुपर्छ । जस्तो टिम भए पनि बललाई रनमा परिणत गर्नुपर्ने हुन्छ,’ कप्तान मल्लले थपे, ‘अझ राम्रो गर्न बाँकी नै छ ।’

९५ रन बनाएको भुटानलाई अझ कम रनमा समेट्न सक्नुपर्ने उनको जोड थियो । ‘फिल्डिङ, बलिङ अझै अपेक्षा अनुसार भएन । अझ सुधार गर्ने ठाउँहरु छन्,’ उनले भने । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७