चार वर्षपछि बल्ल शुरु भयो जोरपाटी-सुन्दरीजल सडक विस्तारको काम

सडक छेउका संरचना हटाउन थालियो


२० मंसिर २०७६, शुक्रबार
road

काठमाडौं, २० मंसिर । गोकर्णेश्वर नगरपालिकाले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तारका लागि संरचना खाली गर्न शुरुवात गरेको छ ।

सार्वजनिक जग्गा भएको स्थानमा केन्द्रविन्दुबाट दायाँ–बायाँ ११–११ मिटर र निजी जग्गा भएको ठाउँमा केन्द्रविन्दुबाट दायाँ बायाँ सात–सात मिटर लिने गरी आजदेखि काम शुरु भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए ।

‘स्थानीयवासीको सहमति लिएर नै सडक विस्तार शुरु गरेका हौ । नगरपालिकाले आफ्नै स्वामित्वमा रहेको भैरव स्मृति जोरपाटी बगैंचाबाट विस्तारको काम शुरु भएको छ, यसपछि सानोबजार क्षेत्र हुँदै अघि बढ्छौं’, उनले भने ।

संरचना हटाउन तीनै तहका निर्वाचित जनप्रतिनिधि सडकमा ओर्लिएका थिए । काठमाडौं क्षेत्र नं ३ का सांसद कृष्णकुमार राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाललगायत जनप्रतिनिधिहरु संरचना भत्काउने कार्यमा सहभागिता जनाएका थिए ।

सो सडक खण्ड विसं २०७५ भदौमा कालोपत्र भइसक्नुपर्ने गरी विस्तारका गर्न चार वर्षअघि ठेक्का भएको थियो । पहिलो पटक थपिएको म्याद गत भदौमा सकिएको थियो । यसपछि आगामी असार मसान्तसम्म काम सक्ने गरी दोस्रो पटक म्याद थपिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सडक विस्तार हुन नसकेपछि पाँच पटकसम्म सडक मर्मत कार्य भइसकेको आयोजनाले जनाएको छ । सडकमा नाली खोल्न नदिएपछि जति पटक मर्मत गरे पनि दिगो हुन नसकेको आयोजना प्रमुख अर्जुन अर्यालले बताए ।

करिब सात किमी सडक ५४ करोडको लागतमा विस्तार गरी कालोपत्र गर्न ठेक्का सम्झौता भएको हो । दुई खण्डमा ठेक्का सम्झौता भएकामा दुवैतिरका काम अलपत्र छ । सडक नबन्दा घाम लागेका बेला धुलो र पानी परेका बेला हिलोले किनारा क्षेत्रमा बस्न नसकिने स्थानीयवासी रामचन्द्र खतिवडाको गुनासो छ ।

यही बाटो भएर पर्यटकीयस्थल सुन्दरीजल हुँदै चिसापानी, हेलम्बु, लाङटाङलगायत स्थानमा पुग्न सकिन्छ । हेलम्बु, लाङटाङलगायत स्थानमा पदयात्रा समेत गर्न सकिने यो सडक चार वर्षदेखि अलपत्र हुँदा पर्यटकमा नकारात्मक सन्देश गएको पर्यटन व्यवसायीको दुःखेसो छ ।

स्थानीयवासीले नेपाल भ्रमण वर्ष सन् २०२० अगावै सडक कालोपत्र गर्न विगत एक वर्षदेखि माग गर्दै आएका थिए । भ्रमण वर्ष शुरु हुन एक महिना पनि बाँकी नहुँदा बल्ल काम शुरु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७