प्रहरीद्वारा रङ्गशालामै कुटिए दर्शक र पत्रकार


२४ मंसिर २०७६, मंगलवार
rangshala

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह र फुटबल फाइनलको टिकटको लागि रङ्गशाला छिर्न खोज्ने दर्शक कुटिएका छन् ।

मङ्गलबार हुने पुरुष फुटबलको फाइनल खेलको टिकट नपाएको भन्दै आक्रोशित सर्वसाधारण प्रर्दशन गरेपछि प्रहरीले दशरथ रङ्गशालाबाहिर कुटपिट गरेको हो ।

उक्त प्रर्दशनको रिपोर्टिङको क्रममा रङ्गशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ । सर्वसाधारणको प्रदर्शन चलिरहँदा त्यसको रिपोर्टिङ गर्ने क्रममा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई प्रहरीद्धारा कुटिएका हुन् ।

रङ्गशाला अगाडि रहेको ब्लुक्रस अस्पताल अगाडि प्रहरीले कुटपिट गरेको दृष्य क्यामेरामा कैद गर्न खोज्ने सञ्चारकर्मी माथि पनि प्रहरीले हातपात गरेका हुन् ।  पत्रकार चापागाईंलाई डिएसपी सोमेन्द्र सिंह राठोरलगायत प्रहरीले आधिकारिक एक्रिडेसन कार्ड लगाएको अवस्थामा नै कुटपिट गरेको हो ।

तीन प्रहरीले रंगशाला भित्र नै पत्रकार चापागाईंलाई कुटपिट गरेका थिए । उनको कानबाट समेत रगत आएपछि हाल उपचारका लागि अस्पताल लगिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार पुलिसले सर्वसाधारणमाथि अत्याधिक दमन गरेपछि पत्रकार चापागाईंले रिपोर्टिङ गर्दा उनलाई अपशब्द बोल्दै आक्रमण गरिएको हो ।

‘फोटो खिच्दा मलाई प्रहरीले लाठी, मुक्का र बुटले प्रहार गर्यो’ घाइते चापागाईले भने,‘सागको अन्तिम दिन टिकट नपाएको विरोधमा दर्शक आन्दोलित थिए, प्रहरीले आन्दोलनकारीलाई लछारपछार पारेको फोटो खिच्दा मलाई एस एस राठोर नेमप्लेट लगाएका डिएसपीले कुटेका हुन।’

यसअघि सोमबार पत्रकार सम्मेलन गर्दे राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा १३औं दक्षिण एसियाली खेलकुद (साग) मुल आयोजक कमिटीका सदस्यसचिव रमेशकुमार सिलवालले   समापन समारोहलाई पछिल्ला दिनभन्दा पनि व्यवस्थित बनाउने बनाउने बताएका थिए । भने रंगशालाको उत्तरी प्यारापिटको १२ हजार सिटमध्ये ८ हजार तथा दक्षिणी प्यारापिटमा पनि २ हजार सिटमध्ये १ हजारमात्र टिकट बेचेको उनले बताए । सबै टिकट सोमबार नै बिक्रि भइसकेको थियो ।

आज समापन समारोहको उदघाटन अघि ३ बजे नेपाल र भुटानका पुरुष टोलीबीचको फुटबल फाइनल हुनेछ । फाइनल हेर्न आउने दर्शक समापन समारोह पनि हेर्न पाउनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७