विद्युतीय रेलको तयारी सुरु, यसरी अघि बढ्दैछ काम


३० मंसिर २०७६, सोमबार
Morang Photo

मोरङ, ३० मंसिर । कोशीपूर्वका तराईलाई जोड्ने गरी विद्युतीय रेलको तयारी सुरु भएको छ । झापा, मोरङ र सुनसरीलाई जोड्नेगरी विद्युतीय रेलको तयारी सुरु गरिएको हो ।

इनरुवा–काँकड्भिट्टा रेल्वे लाइन र इटहरी–विराटनगर लिंक लाइन रेल्वेका लागि तयारी सुरु गरिएको छ । इनरुवा–काँकड्भिट्टाखण्ड १०६ दशमलव ५९ र इटहरी–विराटनगरखण्ड २० दशमलव १६ किलोमिटर विद्युतीय रेलमार्ग निर्माण गरिने प्रस्ताव गरिएको छ ।

११ रेल्वे स्टेसन मार्गरेखामा प्रस्तावित छन् । १० स्टेसन मुख्य लाइनमा र एउटा स्टेसन लिंक लाइनमा राखिने प्रस्ताव छ । इनरुवा–काँकड्भिट्टा र इटहरी–विराटनगर रेल्वे लिंक आयोजनामा तीन जिल्लाका १८ वटा स्थानीय तहका ६३ वटा वडा पर्ने भएका छन् । रेल्वेको परामर्शको काम दोहा इन जेभी विथ केआरएनए, सोसुङ एन्ड सिल्ट इन एशोसिएसन विथ ईआरएमसी एन्ड मेटेरियल टेस्ट गौशाला काठमाडौंले गरेको छ ।

परामर्शदाता संस्थाले आइतबार विराटनगरमा आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी सार्वजनिक सुनुवाइ गरेको छ । रेल्वे परियोजनाका लागि ९० अर्ब रुपैयाँ लाग्ने प्रस्ताव गरिएको छ ।

प्रतिघण्टा २ सय किलोमिटरको गतिमा गुड्ने विद्युतीय रेलले झापा, मोरङ र सुनसरीको ५१२ दशमलव ६९ हेक्टर खेतीयोग्य जमिनलाई प्रभाव पार्ने देखिएको छ । आयोजना निर्माणका क्रममा ५३ दशमलव ६१ प्रतिशत जल क्षेत्र र ३३ हेक्टर बस्तीमा प्रत्यक्ष प्रभाव पार्ने वातावरणीय विज्ञ रिकेश चित्रकारले बताए । उनले मेन लाइनका ३५७ र लिंक लाइनका १९३ भौतिक संरचनामा प्रत्यक्ष असर पुग्ने बताए ।

इनरुवा–काँकड्भिट्टा र इटहरी–विराटनगर रेल्वे लिंक लाइनसहितको कार्यन्वयनले ६६६ संरचना प्रत्यक्ष प्रभावित हुने देखिएको छ । वातावरणीयविज्ञ चित्रकारका अनुसार विद्युतीय रेल निर्माणका क्रममा झापा र मोरङका पाँचवटा सामुदायिक वनको २० हेक्टर क्षेत्र प्रभावित हुनेछ । त्यसमा ८७४ वटा ठूला रूख काट्नुपर्ने देखिन्छ ।

सार्वजनिक सुनुवाइमा पूर्वमन्त्री शिव बस्नेत, नेपाली कांग्रेसका नेता भक्तिनाथ माझी, कटहरीका स्थानीय विश्वनाथ माझीलगायतले योजना मात्र बन्ने तर काम नहुने गरेको भन्दै विद्युतीय रेल निर्माणका काम छिटो सुरु गर्नुपर्ने बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७