‘लो प्रोफाइल’ का ‘अग्ला’ अभियान्ता


३० मंसिर २०७६, सोमबार
galje Sherpa12 scaled

काठमाडौं, ३० मंसिर । समाजमा धेरैजसो मान्छेहरु काम कम गर्छन् तर, प्रचार बढी रुचाउँछन् । बहुसंख्यक मान्छेहरु सानो काम गर्ने र ठूलो ‘मार्केटिङ्ग’ गरेर आफ्ना उद्देश्य पूरा गर्छन् । तर, अपवादमा यस्ता मान्छेहरु पनि छन्, जो चुपचाप काम मात्र गर्छन्, प्रचारलाई वास्ता समेत गर्दैनन् ।

‘लो प्रोफाइल’ मा बसेर चुपचाप उचाइका काम गरिरहन्छन् । त्यही अपवादमध्येका एक हुन्, गेल्जे लामा । पेशाले निर्माण व्यवसायी उनी तीन दशकदेखि निरन्तर सामाजिक अभियानमा क्रियाशिल छन् । खासगरी शेर्पा समुदाय र आफ्नो जिल्ला केन्द्रीत भएर सामाजिक अभियान जुटिरहेका छन् लामा ।

२०२२ सालमा रामेछापको बाम्ती भण्डारमा जन्मिएका लामाले २०४१ सालमा रामेछापबाटै एसएलसी पास गरे । काठमाडौंको त्रिचन्द्र कलेजबाट आइ.एस्सी । यसपछि उनी निर्माण क्षेत्रमा होमिए । निर्माण क्षेत्रमा लामा सबैसँग परिचित नाम हो । उनको निर्माण कम्पनीले दर्जनौं आयोजनाहरु निर्माण गरिसकेको छ ।

उनले आफूलाई निर्माण क्षेत्रमा मात्र सीमित राखेका छैनन्, सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय गराएका छन् । शेर्पा समुदायको साझा सामाजिक संगठन ‘नेपाल शेर्पा संघ’ मा आबद्ध उनी सामाजिक अभियानमा क्रियाशिल छन् । नेपाल शेर्पा संघको एक कार्यकाल केन्द्रीय सदस्य र दुई कार्यकाल उपाध्यक्ष पदमा रहेर उनले समुदायका निम्ति विभिन्न सामाजिक काम गर्दै आएका छन् ।

‘लो प्रोफाइल’ मा बसेर उचाइको काम
लामा नेपाल शेर्पा संघको केन्द्रीय समितिको सदस्य भएयता शेर्पा समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रको विकासका निम्ति निरन्तर क्रियाशिल छन् । शेर्पा संघको संगठन बिस्तारदेखि चेतना निर्माणका अभियानमा मात्रै होइन संघलाई आर्थिक रुपमा बलियो बनाउने कामको नेतृत्वमा पनि उनी छन् ।

काठमाडौंको जोरपाटी नारायणटारमा नेपाल शेर्पा संघको करीब ५ करोडको लगानीमा भव्य भवन निर्माण भएको छ । यो भवन निर्माणका आर्थिक संयोजनको जिम्मा उनैले लिएका हुन् । नेपाल शेर्पा संघको ५ औं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएपछि उनी शेर्पा संघको भवन निर्माणमा सक्रिय भए ।

आर्थिक संयोजनको संयोजक भएर उनी भवन निर्माणमा निरन्तर क्रियाशिल भए । इमान र निष्ठाका साथ क्रियाशिल भए छोटो समयमै ठूलो काम गर्न सकिन्छ भन्ने उदाहरण उनले कामबाटै पेश गरेका छन् । छोटो समयमा नेपाल शेर्पा संघको भव्य भवन निर्माण हुनुमा उनको क्रियाशिलता र इमानदारिताले काम गरेको छ ।

त्यसो त उनीले आफ्नो जिल्लामा अनेकौं समाजसेवाका काम पनि गरेका छन् । गरीब विद्यार्थीहरुलाई छात्रवृत्ति, गाउँका विद्यालय, गुम्बा, सार्वजनिक भवन निर्माणहरुमा उनले आर्थिक सहयोग गर्दै आएका छन् ।

नेपालका ५९ आदिवासी जनजातिहरूमध्ये परापूर्वकालदेखि नेपालको उच्च हिमाली, भू–भागमा बसोबास गर्दै आएको शेर्पा समुदाय इमान्दार, परिश्रमी, अहिंसावादी छवी तथा कुशल पर्वतारोहणका कारण विश्वभरि परिचित छन् । बौद्ध धर्मालम्बी शेर्पा समुदाय र हिमालको सम्बन्ध गहिरो छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथासँग जोडिएका अनेकौ कीर्तिमानहरु शेर्पा समुदायसँग जोडिएको छ । यी शेर्पा समुदायसँग जोडिएका क्षेत्र, शेर्पा समुदायको भाषा, धर्म र संस्कृतिको बिकास र बिस्तारका लागि अनेकन सम्भावना देखेका छन्, गेल्जेले । उनी भन्छन्, ‘शेर्पा समुदाय नेपालको शान र पहिचानसँग जोेडिएको समुदाय हो । यो समुदायको समृद्धि नेपालकै समृद्धि हो ।’

उनले नेपाल शेर्पा संघसँग जोडिएर काम गरेको निकै लामो समय भएको छ । उनी शेर्पा समुदायको सुख दुःख, अप्ठ्यारा–सप्ठ्यारा र सम्भावनाहरु बारेमा जानकार छन् । उनको त्यही ज्ञान र अनुभवलाई संस्थागत रुपमा प्रयोग गर्न चाहन्छन् ।

त्यसैले उनी आसन्न नेपाल शेर्पा संघको छैठौंं महाधिवेशनमा अध्यक्षको उम्मेद्बार छन् । भन्छन्, ‘मेरो समुदायको सबै खालका समस्या, अप्ठ्यारो र सम्भावना बारेमा म जानकार छु । त्यति मात्रै होइन शेर्पा समुदायको भूगोल मात्रै होइन शेर्पाहरुको सुख–दुःख बारेमा समेत जानकार छु । म यो अनुभव र ज्ञानलाई संस्थागत रुपमा प्रयोग गरेर काम गर्न चाहन्छु ।’

‘राजनीति होइन समुदायको सेवा’
पछिल्लो समयमा जातीय समुदायका संघ–संगठनहरु पनि समुदायको हितमा भन्दा पनि राजनीतिक दल र तिनका नेताहरुको प्रयोगको संस्था बन्न थालेका छन् । सम्बन्धित समुदायको अधिकार, भाषा, संस्कृति र संस्कारका निम्ति काम कम, राजनीतिक संस्थाहरुको बढी काम जस्तो देखिएको छ ।

यो प्रबृत्तिको बिरोधी हुन्, उनी । कुनै राजनीतिक दलमा आबद्ध छैनन् उनी । आफ्नो पेशा बाहेक सामाजिक काममा क्रियाशिल छन् । भन्छन्, ‘म कुनै दलमा आबद्ध छैन । म विशुद्ध समुदायको हक अधिकारको निम्ति क्रियाशिल भएको हुँ, अबको चाहना पनि त्यहि हो ।’

सामाजिक संस्थाहरुले समुदायलाई गोलबन्द गरेर आफ्नो अधिकारी प्राप्तीका लागि लड्नु पर्नेमा उनको जोड छ । भन्छन्, ‘राजनीति गर्नका लागि यतिधेरै पार्टीहरु छँदैछन् । यस्ता संस्थाबाट समुदायको हितका लागि काम गर्ने हो । दलगत कुरा गर्दा समुदाय बिभाजित हुनसक्छ । बिभाजित संस्थाले समुदायको निम्ति काम गर्न सक्दैन । त्यसलै स्वतन्त्र रुपमा नेतृत्व गरेर सबैलाई गोलबन्द गर्नुपर्छ ।’

‘सपना अनेकन’

लामा कम बोल्छन् । बोलीमा भन्दा व्यवहारमा आफ्नो विश्वास रहेको उनको भनाई छ । भन्छन्, ‘म बोली भन्दा काममा विश्वास गर्छु ।’ एक दिन (२९ मंसिर २०७६) मा काठमाडौंको बौद्धमा भेटिएका लामा शेर्पा संघको महाधिवेशनको कामको चटारोमा थिए । उनी यो महाधिवशेनको पनि आर्थिक संयोजक छन् ।

‘मैले मेरो समुदायका लागि इमानदारिताका साथ गरेको काम नै मेरो प्रचार हो । त्यसले म काम नै गर्छु ।’

उनीप्रतिको सम्मान र विश्वासले नै उनले सधैं आर्थिक संयोजकको जिम्मेवारी पाउने गरेका छन् । अध्यक्षको उम्मेद्वारीको प्रचार र अभियान भन्दा पनि उनी महाधिवेशनकै काममा जुटिरहेका छन् । उनले भने, ‘मैले मेरो समुदायका लागि इमानदारिताका साथ गरेको काम नै मेरो प्रचार हो । त्यसले म काम नै गर्छु ।’

शेर्पा समुदायको राजनीतिक अधिकार, भाषिक तथा सांस्कृतिक अधिकारसँग जोडिएका अनेकन बिषय छन् । त्यो प्राप्तीको अभियान र आन्दोलनसँगै शेर्पा समुदायको लिपी, भाषा र संस्कृतिको बिकास र रक्षाका निम्ति उनले धेरै योजना बनाएका छन् । भन्छन्, ‘यो संस्थालाई साँच्चीकै एक नम्बर सामाजिक संस्था बनाउने मेरो सपना छ ।’

राजनीति र प्रशासनमा शेर्पा समुदायको सहभागिता असाध्यै कम छ । यसका लागि पनि शेर्पा संघले एउटा अभियान चलाउनु पर्नेमा उनको जोड छ । आर्थिकसँगै चेतना निर्माण अभियानका कार्यक्रमहरु संघले चलाउने उनको योजना छ । भन्छन्, ‘नेता उत्पादन, कर्मचारी उत्पादनका निम्ति पनि एउटा जागरण अभियानको जरुरी छ । हामी यो महाअभियान पनि शुरु गछौं ।’

जो जुन पार्टीमा भए पनि उनीहरुलाई स्थापित गर्नका लागि संघले अभियान सञ्चालन गर्ने उनले योजना सुनाए । भन्छन्, ‘हामीले केवल गुनासो र बिरोध मात्रै होइन हाम्रो उपस्थितिका लागि पहलकदमी र काम पनि गर्नुपर्छ । अब हामी त्यो गर्नेछौं ।’

त्यसो त शेर्पा समुदायमा पनि उनीप्रतिको गहिरो विश्वास छ । उनलाई नजिकबाट बुझ्नेहरु भन्छन्, ‘उनी लो प्रोफाइलमा बसेर उचाइको काम गर्ने एक अग्लो कदका अभियान्ता हुन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७