नेपाली झण्डासहितको रेलको डिब्बा तयार, यस्तो छ विशेषता


१ पुष २०७६, मंगलवार
train nepal

काठमाडौं, १ पौष । नेपालमा रेलको स्थिति अत्यन्त दयनिय छ । रेल नाम मात्रको छ । भारतसँग जोडिएका ५९ किमी, जनकपुर–जयनगर रेल पनि बन्द छ ।

यही रुटमा रेल विभागले नेपाली झण्डासहितको रेल चलाउने तयारी गरिरहेको छ । रेल भारतमा बनिरहेको छ । उक्त बनिरहेको रेल वटा रेलका डिब्बा निर्माणबारे प्रगति बुझ्न नेपाली पक्ष सोमबार भारत पुगेको छ ।

जनकपुर–जयनगर ३५ किलोमिटर लामो उक्त रुटमा चलाइने रेल तयार भइसकेको छ । भारतको चेन्नइस्थित कोंकोण रेलको कारखानामा बन्दै गरेको रेल निरीक्षणका लागि विभागका महानिर्देशक बलराम मिश्रसहितको नेपाली टोली पुगेको हो ।

विभागले ८४ करोड ६५ लाख रूपैयाँमा भारतीय कम्पनीमार्फत रेल खरिद गर्न लागेको हो । गत वर्ष भएको सम्झौताअनुसार जनवरी मध्यसम्म भारतीय पक्षले रेल निर्माण गर्नेछ ।

रेल बनिसके पनि फिटिङका काम भइरहेको र सम्भवतः माघ वा फागुनतिर आइपुग्ने विभाग श्रोत बताउँछ । तर यसअघि पनि पटक –पटक रेल चलाउने मिति सर्दै आएको छ । विभागका महानिर्देशक बलराम मिश्र र प्राविधिकसहितको टोली शुक्रबारसम्म फर्किने कार्यक्रम छ ।

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरको दूरीमा मङ्सिर महिनादेखि रेल गुडाउने नेपालको योजना थियो ।

भारतीय सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भारतको जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माणाधीन छ।

यस्तो छ रेलका विशेषता
यो मध्यम दूरीका लागि उपयुक्त मानिन्छ । प्रतिघण्टा १०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ । डिजेल इन्जिनबाट बिजुली उत्पन्न हुन्छ र त्यसबाट रेलमा हुने ट्र्याक्शन मोटर चल्छ ।

ड्राइभिङ पावर कार, ट्रेलर कार र ड्राइभिङ ट्रेलर कार गरी एउटा ट्रेन सेटमा पाँचवटा कार हुन्छन् अर्थात बोलीचालीको भाषामा भन्नुपर्दा एउटा ट्रेन सेटमा पाँचवटा डिब्बा हुनेछ ।

रेलको एउटा सेटमा एक पटकमा १,२०० देखि १,३०० जनाले यात्रा गर्न सक्नेछन् । एसीजडित एउटा कोच पनि हुनेछ, जसमा ५० देखि ६० जना विशिष्ट व्यक्तिले यात्रा गर्न सक्नेछन् ।

रेल विभागका अनुसार कुर्थादेखि जयनगरसम्म आठवटा स्टेशन र हल्ट हुनेछन् । अर्थात आठ स्थानमा रेल रोकिनेछ ।

नेपालको बर्दिवाससम्म रेल गुडाउन आवश्यक लिक लगायतका पूर्वाधार आफ्नै लगानीमा निर्माण गरिदिने सहमतिबमोजिम भारतीय सरकारले अहिले सो परियोजनामा काम गरिरहेको छ ।

यो रेल गुड्ने रेलमार्ग खासै लामो नभएकाले अहिले आउन लागेको रेलमा अत्याधुनिक सेवाहरू हुने छैनन् । विभागले जनाएअनुसार आउन लागेको रेलमा सामान्य सुविधा हुनेछ भने नेपालको झन्डामा प्रयोग भएका मुख्य रंगहरू रातो र नीलो प्रयोग गरिएको छ । ‘बनिरहेको रेलको एउटा कम्पार्टमेन्ट चाहिँ एसियुक्त राख्ने कुरा भएको छ,’ रेल इञ्जिनियर परिवेश पराजुलीले भने ।

रेल आए पनि चलाउने जनशक्तिबारे नेपाली पक्ष अझै स्पष्ट छैन । रेल नियमावली लोकसेवा आयोगमा अड्केको छ भने रेल चलाउन आवश्यक प्राविधिक जनशक्ति भारतबाटै आउनेछ । जनशक्तिको पूर्ति तत्कालका लागि विभागका कर्मचारीबाटै गराउने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७