डाक्टर बनाउन गाउँपालिकाले नै लगानी गर्ने


१ माघ २०७६, बुधबार
doctor 1

जुम्ला, १ माघ । जुम्लाको पातारासी गाउँपालिकाले उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

यहाँका आठ वटा स्थानीय तहमध्ये सो गाउँपालिकाले विद्यार्थीलाई चिकित्सक बनाउन लगानी गर्न लागेको हो । गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले प्राविधिक शिक्षामा पनि पालिकाले छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए ।

चालू आर्थिक वर्षमा उच्चशिक्षा छात्रवृत्तिमा पाँच लाख र लोकसेवा तयारी कक्षाका लागि तीन लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।

उच्च शिक्षा छात्रवृत्ति अध्ययन गर्नका गाउँपालिकाभरिका इच्छुक व्यक्तिहरुबाट आवेदन सङ्कलन गर्न काम भइरहेको जनाएको छ । उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम कार्य्विधि नै बनाएर काम सुरू गरेको जनाएको छ ।

सात वडामा विभाजित पातारासी गाउँपालिकामा समुद्र सतहदेखि करीब तीन हजार २०० मिटरसम्मको उचाइमा छ । यहाँको कूल घरधुरी तीन हजार १७४ मा १७ हजार १३५ जनसंख्या छ । भौगोलिक रूपमा विकट र दुर्गम भए पनि पातारासी गाउँपालिकाको पर्यटकीय, व्यावसायिक, वातावरणीयलगायत विभिन्न बहुआयामिक पक्षबाट महत्वपूर्ण पहिचान रहेको सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए ।

काठमाडौंले खटाएका स्वास्थ्यकर्मी दुर्गम क्षेत्रमा बस्न नमान्ने गरेका कारण स्वास्थ्यकर्मीको दीर्घकालीन समस्या समाधानमा टेवा पुग्ने भएकाले गाउँकै युवालाई डाक्टर बन्न सहयोग पुर्‍याउन यस्तो कार्यक्रम अघि सारिएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७