प्रेम सर अर्थात् निजामती सेवामा निष्ठाको अग्लो ‘पहाड’


१९ माघ २०७६, आईतवार
Prem kumar rai
फाइल फोटो

१८ माघ २०७६ शनिबार, छुट्टीको दिन । हिउँदको चिसो, धुम्मिएको दिन । मुलुकको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार सुनसान थियो । तर, गृह मन्त्रालयस्थित गृहसचिवको कार्यालयमा अरु बार जस्तै भिडभाड थियो । सधै जस्तै व्यस्त थिए, गृहसचिव प्रेमकुमार राई ।

हामी पुग्दा मन्त्रालयकै सह-सचिव, उप-सचिवहरु पालो कुरिरहेका थिए । अन्य कार्यालयका सचिवहरुसँग भित्र कुराकानीमा थिए, गृहसचिव राई । गृहसचिव राई जसले सचिवको ५ वर्षे सेवा सिमाका कारण राजीनामा दिइसकेका छन् । र ठिक एक दिनपछि सिंहदरबारबाट उनको विदाइ हुँदै थियो । हाम्रो नेपाली मनोविज्ञान ‘बलेको आगो ताप्ने’ प्रवृत्तिको छ । अर्थात् प्रशासनिक वा अरु कुनै क्षेत्रमा विदाइ हुन लागेकाहरु वेवास्ताका शिकार बन्छन् । तर, गृहसचिव राईकोमा भिड यतिधेरै थियो, मानौं उनको स्वागतको दिन हो । मानाैं उनी आजै गृहसचिव भएर आएका हुन् । त्यो भिड उनीप्रति कुनै अपेक्षा अथवा माग बोकेर आएको थिएन । सबैको एउटै उत्तर थियो, ‘प्रेम सर, हाम्रो आर्दश हो, विदाइको पूर्बसन्ध्यामा भेटेर सम्मान र सद्भाव प्रकट गरौं भनेर आएका हौं ।’

भिड छिचोलेर भित्र पुगेपछि उनले हामीलाई सोधे, ‘के छ ?’ हाम्रो उत्तर थियो, ‘लामो सेवापछि विदाइको क्रममा हुनुहुन्छ, कुराकानी गरौं भनेर आएको ।’ ‘त्यस्तो कुरै केही छैन’ उनी अन्तर्वार्ताबाट पन्छिन खोजे । गृहसचिव राईको यो पुरानै आदत हो । उनी चुपचाप काम गरिरहन्थे । तर, प्रचारमा सकेसम्म उनी आउन चाहेनन् । उनी हमेशा भन्छन्, ‘हामीले काम नै गर्ने हो ।’

२३ महिनामा जम्मा १ दिन मात्रै बिदा

Premkumar Rai scaled
शनिबार पनि उसैगरी व्यस्त थिए उनी । तर, त्यो व्यस्तता उनको त्यो दिनको मात्रै होइन । निजामती सेवामा प्रवेशयता सधैं उसैगरी व्यस्त भइरहे । पछिल्लो २३ महिनायता उनी गृह सचिवको जिम्मेवारीमा थिए । २३ महिनाको अवधिमा मात्रै दशैं–तिहार बिदा बाहेक जम्मा एक दिन मात्रै बिदा बसे । दैनिक १० देखि १२ घण्टा काम गरे । बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म उनी कार्यालयमा भेटिन्थे । उनले सुनाए, ‘यो २३ महिनाको अवधिमा जम्मा एक दिन बिदामा बसेछु ।’

उनका सचिवालयका कर्मचारी नै छक्क पर्ने गरी खट्थे । यतिधेरै किन खट्नु भएको ? ‘हाम्रो समयसँग मुलकको भबिष्य जोडिएको हुन्छ । कहींकतै पनि हाम्रो कारण मुलुक र हाम्रो भावी सन्ततिको उज्यालो भबिष्यलाई असर पर्नु हुन्न,’ उनको उत्तर थियो । एक जना सरकारी उच्च अधिकारीको समयसँग धेरैको समय जोडिएको उनको भनाई छ । भन्छन्, ‘एक जना सरकारी कर्मचारीले सधैं सोच्नु पर्छ कि मेरो कारण कसैको उर्बर समयमा असर परेको त छैन ? अथवा मेरो कारण देश निर्माणको सुन्दर समयमा असर त परेको छैन ।’

त्यसो त गृहसचिव हुँदा मात्र होइन उनी शाखा अधिकृत भएदेखि नै सरकारी काममा १० देखि १२ घण्टा काममा खट्थे । सरकारी कर्मचारीको तोकिएको समय ७ घण्टा हो । सबै कर्मचारी दैनिक ६ घण्टा मात्रै इमानका साथ काममा खटे मुलुकलाई कायापलट गर्न सकिने उनको बुझाई छ । भन्छन्, ‘कर्मचारीले काम नगर्नु भनेको आफ्नो समय मात्रै होइन राष्ट्रको समय बर्बाद गर्नु पनि हो । आफू र राष्ट्र माथिकै बेइमानी पनि हो ।’


‘सामान्य किसानको छोरा उच्च पदसम्म’
राई २०१८ सालमा संखुवासभामा जन्मिए मध्यम वर्गीय किसान परिवार । संखुवासभा सदरमुकामसँग जोडिएको खोरन्डे गाउँ । उतिबेला त्यहाँका अधिकां युवाहरुको सपना हुन्थ्यो लाहुरे बन्नु । तर, उनलाई भने लाहुरे सपनाले कहिल्यै तानेन । उनी गल्लावालका सम्म छाती नपाउन कहिल्यै गएनन् । सुनाए, ‘मेरो दाजु पनि लाहुरे नै हुनुहुन्छ तर, मलाई भने त्यो सपनाले तानेन ।’

संखुवासभाको खाँदबारीस्थित हिमालय माविमा एसएलसीसम्मको अध्ययन गरे । २०३५ सालमा हिमालय माविबाट एसएलसी पास गरेपछि उच्च शिक्षका लागि काठमाडौं आए उनी । २०३६ सालमा शंकरदेव क्याम्पसमा आई.कममा भर्ना भए । तर, त्यो बेला आन्दोलनका कारण २०३९ सालमा मात्रै आइकम सकियो । मिनभवनबाट वि.कम गरे । २०४५ सालमा शंकरदेव क्याम्पसबाट उनले एम बिए सके ।

अध्ययनकै क्रममा उनले २०४० साल साउन १ गते लेखापालमा नाम निकाले । अध्ययनकै क्रम चलिरहेको थियो । बीचमा आन्दोलन आदिका कारण नियमित पढाइ हुन सकेको थिएन । अध्ययनको अवधि लम्बिँदै जाँदा घरबाट खर्च पढाउन समस्या भएपछि उनले जागिरको बाटो रोजे । महालेखा परीक्षक अन्तर्गतको जागिर गर्दा उपत्यका बाहिर जान नपर्ने र काम सकिएपछि पढ्ने समय पनि पाइने भएका कारण उनले त्यो जागिर रोजेका थिए । त्यही क्रममा उनले २०४४ सालमा शाखा अधिकृतमा नाम निकाले । उपसचिवका लागि २०४९ सालमा लिखित प्रतिस्पर्धा गरे राईले । त्यसमा पनि नाम निकाले । दिइएका परीक्षामा कहिल्यै निरास हुनु परेन उनले ।

पाँच वर्षअघि सचिव भएका राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय, आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र गृह मन्त्रालयमा सचिवको जिम्मेवारीमा काम गरे ।

Prem Kumar Rai Home office scaled

‘जहाँ गए त्यही सुधार’
गृहसचिव राई असाध्यै कम बोल्छन् । सरल छन् । प्रष्ट र सिधा बोल्छन् । खस्रो बोल्छन् । सेवाग्राही होस् वा अरु कोही हुने काम भए तत्काल गरीदिन्छन् । उनी घुमाएर बोल्दैनन्, जे हो त्यही प्रष्ट भनी दिन्छन् । उनीसँग नजिक रहेर काम गरेका कर्मचारीहरु भन्छन्, ‘प्रेम सर, हक्की हुनुहुन्छ । ‘हुन्छ’ भने हुन्छ, भनी दिनुहुन्छ । ‘हुँदैन’ भने सिधैं हुँदैन भनी दिनुहुन्छ । जे बोल्नु हुन्छ त्यही गर्नुहुन्छ । कानुनले गर्न नमिल्ने काम जस्तासुकै दबाब आए पनि गर्नुहुन्न ।’

कर्मचारीले कुनै पनि काम अथवा फाइल एक मिनेट पनि रोक्न नहुने उनको भनाई छ । भन्छन्, ‘हामीले कुनै काम अथवा फाइल रोकेर राख्दा सम्बन्धित सेवाग्राहीको अमूल्य समय बर्बाद भइरहेको हुन्छ । मुलुकसँग जोडिएको बिषय भए मुलुकको समय बर्बाद भइरहेको हुन्छ । हामीले कहिल्यै पनि जनता र देशको समय बरबाद गरी दिनु हुन्न ।’

उनी जुन–जुन मन्त्रालयमा गए त्यहाँ सुधारको शुरुवात गरे । सम्बन्धित मन्त्रालयका उच्च अधिकारीहरुका अनुसार उनी जहाँ–जहाँ गए त्यहाँ अमिट छाप छोडेर विदा भए । आफू जहाँ गए पनि सुधारको प्रयास गरेको उनी बताउँछन् । भन्छन्, ‘जहाँ अलि समय लिएर काम गर्ने अवसर पाएँ । त्यहाँ दीर्घकालीन रुपमा सुधार हुने गरी कामको शुरुवातको प्रयास गरें ।’ उनले गरेका अनेकौ कामका लामो सूची छ । पछिल्लो समयमा गरिएको कार्यसम्पादन सम्झौताको अवधारणा ल्याउनमा पनि उनको भूमिका छ । मुलुकको समृद्धि र सुशासनमा कार्यसम्पादन सम्झौता निकै प्रभावी हुने उनको बुझाई छ ।

पछिल्लो २३ महिना उनले गृह मन्त्रालयमा बिताए । मन्त्रालयका उच्च अधिकारीका अनुसार पछिल्लो २३ महिना गृह मन्त्रालयको इतिहासमा स्वर्णकाल हो । दीर्घकालसम्मलाई बाटो र उज्यालो हुने गरी उनले कामको शुरुवात गरेका छन् । गृहमा एउटा पद्धतिको आधार तयार पारेको उनले सुनाए । उनले भने, ‘अब गृहमा पनि एउटा ‘बेस’ तयार भएको छ । अब आउनेले इमानका साथ काम अघि बढाए धेरै ठूलो परिवर्तनको अवस्था आउनेमा म विश्वस्त छु ।’

‘इमान र निष्ठाको सगरमाथा’
सबैको आदरणीय प्रेम सर अर्थात् गृहसचिव राई शनिबार उही गृहसचिवको कुर्सीमा थिए । अब एक दिनपछि त्यो कुर्सीमा हुने छैनन् । उनलाई आदर र माया गर्ने सरकारी कर्मचारीहरुको फोन उनलाई तारन्तार आइरहेको थियो । उनीहरु भनिरहेका थिए, ‘सरले देखाएको बाटो भुल्ने छैनौं ।’ त्यसो त उनीप्रति देखाइएको त्यो सद्भाव र मायाले घरीघरी भावुक पनि हुन्थे । उनले सुनाए, ‘इमान र निष्ठाका साथ काम गर्दा एक दिन माया र सम्मान पाइने रहेछ ।’

सरकारी सेवामा सचिवहरु कैयन छन् । अवकाश हुने प्रक्रिया पनि चलि नै रहेको छ । तर, उनले सिंहदरबार छोडेर जाँदै गर्दा भने धेरै होहल्ला भएको छ । मानौं, अब कर्मचारीहरुको अभिभावक नै रहेन जसरी । उनले राजीनामा दिएको समाचार बाहिर आए लगत्तै खासगरी निजामती क्षेत्रका उच्च पदस्थहरुले मोबाइल म्यासेज र फोनमा मात्रै होइन सामाजिक सञ्जालमा समेत उनले हिंडेको बाटो पछ्याउने प्रतिबद्धतासहित भावुक स्टाटसहरु लेखिरहेका छन् । सहसचिव केदार पनेरुले लेखेका छन्, ‘आदरणीय प्रेमकुमार राई ! प्रेरणाको श्रोत ! इमान्दारिता, कर्तव्यपरायणता, सदाचारीता र नैतिकताप्रति सधै अव्वल ! अबको दिनमा निजामती कर्मचारीले उहाँको पथ समाउन त्यसरी नै लाग्न सकेमा सफलता टाढा छैन !’

शाखा अधिकृत अनिल किरातीले लेखेका छन्, ‘अधिकां कर्मचारीको अभिभावक आदरणीय गृह सचिव प्रेमकुमार राई सर निजामति सेवाको विशिष्ट श्रेणीबाट अवकास हुँदै हुनुहुन्छ । हामी निजामती सेवामा कार्यरत कर्मचारीहरुको रोल मोडल हो उहाँ । हामी उहाँकै मार्गमा हिंड्न खोजी रहेका छौ । कर्मचारीतन्त्रप्रति अहिले त अत्यधिक नकारात्मक धारणाहरु छन् तर प्रेम सर जस्तो व्यक्तित्वले यसको शाख जोगाउनु भएको हामी मान्छौं । आदरणीय सरको आगामी दिन पक्कै समग्र प्रशासन र कर्मचारीतन्त्रलाई सुदृढ गर्ने पक्षमै रहन्छ र रहनेछ, थाहा छ । हामी प्रेम सरको इतिहास (हिजो, आज र भोलि) को भूमिकाप्रति गर्व गर्छौ । सरको उपस्थिति हाम्रो शक्ति थियो र हुनेछ । सरको योगदान हाम्रो कर्मको आधार हो । हामी सरको मार्गलाई पछ्याउँछौं । सरलाई सविनय सप्रेम शुभकामना ।’

निजामती क्षेत्रलाई नजिकबाट बुझेका राजधानी दैनिकका कार्यकारी सम्पादक सागर पण्डितले लेखेका छन्, ‘गृह सचिव राईको सेवानिवृत्तपछि निजामती प्रशासनले एउटा धरोहर गुमाउने महसुस गरेका छन् निजामती कर्मचारीहरुले । उनीहरुको अनुभवमा निजामती क्षेत्र माली बिनाको फूलबारी जस्तै हुनेछ । निजामती प्रशासनभित्र एउटा भनाई नै छ राई जस्ता सचिब १० जना मात्रै हुने हो भने मुलुकको कायपलट हुन धेरै समय लाग्दैन ।’

सामाजिक सञ्जालमा उनीप्रति देखाएको सम्मान र सद्भावप्रति उनी अपडेट रहेछन् । ‘कस्तो लागिरहेको छ ?’ ‘मप्रतिको माया र सम्मानको रुपमा बुझेको छु,’ भावुक भएर मुस्कुराएर भने, ‘यस्ता सद्भाव र मायाले अझ राम्रो गर्ने उर्जा र प्रेरणा मिल्छ । म सबैप्रति आभारी छु ।’

‘परिर्वतन सम्भव छ’
अहिले बहस छ, ‘किन बनेन देश ?’ दोषी को हो ?’ राजनीतिक नेतृत्वसँगै कर्मचारीतन्त्रलाई पनि दोष दिइन्छ । देश नबन्नुमा कर्मचारीतन्त्र कति दोषी छ त ? यो आरोपमा उनी कति सत्यता देख्छन् । ‘आरोप गलत छ भन्न सक्ने अवस्था छैन,’ उनी भन्छन्, ‘सुशासन र समृद्धिका लागि निष्पक्ष र पारदर्शी सेवा आवश्यक छ । तर, हामीकहाँ अझै प्रणाली विकास हुन सकेको छैन ।’

साँच्चीकै हरेक कर्मचारीहरुले देशलाई शीरमा राखेर इमानका साथ काम गरे परिर्वतन सम्भव रहेको उनको भनाई छ । के इमानका साथ काम गर्ने कर्मचारीका मूल्याङ्गकन हुन्छ ? ‘अब बिस्तारै इमान र निष्ठाको मूल्याङ्कन हुने प्रणालीको बिकास हुँदैछ,’ उनले सुनाए, ‘अब इमानदारहरु पाखा पर्ने र खेदिने प्रणालीको अन्त्य गरिनु पर्छ ।’

यदि समय भएको भए…..

Prem Kumar Rai 2 scaled
गृहमा रहँदा उनले धेरै सुधारको आधार तयार पारेका छन् । गृह मन्त्रालय मातहतका निकायको भौतिक क्षमता विकास, अध्यागमन सुधार, कारागार क्षमता विकास, अपराध न्यूनीकरण, अभिलेखीकरण, सम्पतिको व्यबस्थापन आदिमा उनले दीर्घकालसम्मको एउटा मार्गचित्र तयार गरीदिएका छन् । उनले शुरु गरेका सुधार अभियान बिस्तारै नजितामा देखिन थालेको छ ।

हामीले सोध्यौं, ‘अलि धेरै समय काम गर्न पाउनु भएको भए अझ बढी गर्न सकिन्छ भन्ने लागेको छैन ?’ ‘त्यो त लागेको छ,’ उनी मुस्कुराए, ‘प्रणालीको बिकासका लागि धेरै आधारहरु तयार पारेका छौं । निश्चित रुपमा यो भूमिकामा अलि लामो समय बिताउन पाए धेरै गर्न सकिन्छ जस्तो त लागिहाल्छ । तर पनि हामीले तय गरेको प्रणालीलाई अब आउनेले पछ्याउनेमा विश्वास छ ।’

कर्मचारीहरुको प्रिय प्रेम सर सोमबार अर्थात् २० माघ सोमबारबाट सिंहदरबारको कार्यालयमा भेटिने छैनन् । सधैं जस्तो बिहान ९ बजेदेखि राति ९ बजेसम्म गृह मन्त्रालयको त्यो कार्याकक्ष खुल्छ वा खुल्दैन ? त्यो पनि टुङ्गो छैन । अन्तिममा हामीले उनलाई सोध्यौं, ‘यो कुर्सी छोडेर जाँदै गर्दा अन्य कर्मचारीहरुले तपाईबाट के सिकुन् जस्तो लाग्छ,’ उनी मुस्कुराएर भने, ‘हाम्रो समय देश र जनताको भबिष्यसँग जोडिएको हुन्छ । समृद्धि र सुशासनसँग जोडिएको हुन्छ । उच्च समपर्ण, निष्ठा र इमानका साथ काम गर्नुपर्छ । एक दिन त्यसको मूल्याङ्कन हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७