सञ्चार उद्यमी जमिम शाह हत्याको १० वर्ष : प्रमुख योजनाकार र सुटर अझै फरार


२४ माघ २०७६, शुक्रबार
jamin

काठमाडौं, २४ माघ । २४ माघ २०६६ मा उपराष्ट्रपति परमानन्द झाको शीतलनिवासमा शपथग्रहणको कार्यक्रम थियो । देशका उच्चपदस्थ व्यक्तिहरू शीतलनिवासमा भएकाले त्यस दिन लाजिम्पाट, महाराजगन्ज क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको थियो ।

तर, त्यही दिन एउटा घटनाले देशको सुरक्षा संयन्त्र कति कमजोर छ भन्ने उदांगो बनाई दियो । एक भारतीय समूहले लाजिम्पाटको फ्रान्सेली दूतावासअगाडि सडकमा सञ्चार उद्यमी जमिम शाहमाथि गोली हानी हत्या गर्‍यो ।

शाह हत्याको शुक्रबार १० वर्ष पुगेको छ । यति लामो समयसम्म पनि त्यो घटनामा भएको कमजोरीबाट सरकारले पाठ सिक्न सकेको छैन नै, घटनाको अनुसन्धानसमेत अहिलेसम्म अधुरै छ । घटनाका मुख्य अभियुक्तहरू पक्राउ परेका छैनन् भने छानबिन आयोगले सुरक्षा बलियो बनाउन दिएका सुझाबहरूसमेत कार्यान्वयन भएका छैनन् ।

तीन कारणले यो घटना निकै संवेदनशील भएको प्रहरी अधिकारीहरू बताउँछन् । पहिलो, यसमा अन्तरदेशीय आपराधिक गिरोहको संलग्नता थियो । दोस्रो, यसमा नेपाल प्रहरी अधिकारीकै मिलेमतो थियो । र तेस्रो, देशको भिआइपी क्षेत्रमा दिउँसै गोली हानेर हत्या गरेर सुटरहरू सजिलै भाग्न सफल भएका थिए ।

आतंकवादी गतिविधि तथा नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा शाहको हत्या भएको अनुसन्धानपछि विश्लेषण गरिएको थियो । तर, त्यस्तो अपराधमा शाहको संलग्नता पुष्टि हुन सकेको थिएन ।

दाउद समूहसँग कारोबारमा मुछिएका युनुस अन्सारीलाई हत्या गर्न त्यो समूह भारतबाट आएको र त्यसमा असफल भएपछि शाहको हत्या गरेको अनुसन्धानमा खुलेको त्यतिवेला काठमाडौं प्रहरीका प्रमुख रहेका गणेश केसी बताउँछन् । त्यसवेला अन्सारी नक्कली नोट कारोबारको आरोपमा पक्राउ परेका थिए । उनलाई अदालत लैजाने क्रममा गोली हान्ने उनीहरूको योजना असफल भएको थियो । एक वर्षपछि सुन्धारास्थित केन्द्रीय कारागारभित्रै छिरेर अन्सारीमाथि गोली प्रहार भएको थियो । जेलबाट छुटेका युनुस गत वर्ष फेरि पक्राउ पर्दै हाल जेलमै छन् ।

अधुरो अनुसन्धान
जमिम हत्या घटनामा प्रहरीको अनुसन्धान अझै अधुरै छ । महानगरीय प्रहरी परिसर काठमाडौंले २७ फागुन २०६६ मा जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा दायर गरेको थियो । तीन वर्षपछि जिल्ला अदालतले पाँचै जनालाई दोषी ठहर गरेको थियो । जेल परेका सबैजना छुटिसकेका छन् ।

प्रहरीले तत्कालीन सइ प्रकाश क्षेत्री, हतियार व्यवस्थापन तथा सुटरलाई भगाउन भूमिका खेल्ने लक्ष्मण धमला र प्रकाश खड्का, गिरोहलाई सहयोग गर्ने पूर्व डिएसपी जगदीश चन्द र ठमेलका श्रीकृष्ण पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो ।

पौडेल अझैसम्म फरार छन् । उनकै कार्गाे अफिसलाई आपराधिक समूहले हतियार लुकाउन प्रयोग गरेको थियो । छोटा राजन समूहको निर्देशनमा बब्बु श्रीवास्तवले यो हत्या गराएको छानबिन आयोगको निष्कर्ष थियो । त्यसका लागि त्रिलोक सिंह भनिने दीपक शाही पटकपटक नेपाल आएका थिए ।

शाही तथा सुटरविरुद्ध अहिलेसम्म अनुसन्धान र मुद्दा दायर हुन सकेको छैन । त्यतिवेला उनीहरूको ठेगाना नखुलेकाले मुद्दा दायर नभएको काठमाडौं परिसरका तत्कालीन एसपी गणेश केसी बताउँछन् । डिआइजीबाट अवकाश पाएका केसी भन्छन्, ‘त्यतिवेला उनीहरूको ठेगाना खुल्न नसकेकाले मुद्दा दायर नगरिएको हो ।

फरार बनाएर मुद्दा दायर गरेको भए प्रहरीले उनीहरूमाथि थप छानबिन गर्न पाउँदैनथ्यो, त्यही भएर पनि मुद्दा दायर नगरिएको हो ।’ तर, त्यसयता प्रहरीले सो घटनाका अभियुक्त खोज्न चासो दिएको छैन । घटनामा संलग्न सइ क्षेत्री योजनाकार दीपक शाहीका आफन्त थिए । सोही आधारमा आर्थिक लोभमा परेर उनले सुटर भगाउनसमेत सहयोग गरेका थिए ।

शाहको हत्यापछि सिआइबी गठन
पुनरावेदन अदालतका पूर्वन्यायाधीश गोपाल पराजुलीको नेतृत्वमा सरकारले छानबिन आयोग गठन गरेको थियो । आयोगले सरकारले एक दर्जन महत्वपूर्ण सुझाबहरू दिएको थियो । त्यसमध्ये एउटा मात्र सुझाब कार्यान्वयन भयो– संगठित किसिमको अपराध अनुसन्धानका लागि विशेष प्रकृतिको संयन्त्र बनाउने ।

सोही सिफारिसअनुसार नेपाल प्रहरीमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को स्थापना भएको आयोगका सदस्यसमेत रहेका पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी बताउँछन् । उनकै नेतृत्वमा २०६७ साउनदेखि सिआइबी स्थापना भएको थियो  ।

आयोगले सीमा बलियो नियन्त्रित सिस्टम बनाउन तथा उपत्यकाका नाकामा भेहिकल एक्सरे गेट राख्न भनेको थियो, जुन अहिलेसम्म कार्यान्वयन भएको छैन । त्यस्तै, अध्यागमनको जिम्मा कर्मचारीबाट खोसेर अध्यागमन प्रहरी गठन गर्न भनिएको थियो । पटकपटक अध्यागमनको जिम्मेवारी प्रहरीलाई दिने प्रयास भए पनि कर्मचारीतन्त्रबाटै विरोध भएपछि सफल हुन सकेको छैन ।

अभियुक्त नसमातिँदा रोकिएन हत्या श्रृंखला
स्पेसटाइम नेटवर्क तथा च्यानल नेपाल टेलिभिजनका मालिक रहेका शाहलाई दैनिक निगरानी गरेर हत्या गरिएको थियो । मोटरसाइकलमा पिछा गरेर उनलाई गाडीभित्रै गोली हानिएको थियो । उपचारका क्रममा उनको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । शाहका चालक मथुरामान मालाकार समेत गोली लागेर घाइते भएका थिए । सुरुमा मालाकारलाई गोली हानी गाडी रोक्न लगाएर शाहमाथि गोली हानिएको थियो ।

घटनाका प्रमुख योजनाकार छोटा राजनका सहयोगी बब्लु श्रीवास्तव हुन् । जेलबाटै उनीहरूले यो योजना बनाएका थिए । उनले दीपक शाहीलाई खटाएर जमिमको हत्या गरेका थिए । शाहीले भारतबाटै सुटर ल्याएर लामो समयसम्म शाहको सूचना जम्मा गरेर हत्या गरेका थिए ।

घटनालगत्तै सोही समूहका भरत नेपालीले स्पेसटाइमको कार्यालयमा फोन गरेर हत्याको जिम्मेवारी लिएका थिए । उनीहरू सबै छोटा राजन समूहका सदस्य हुन् । छोटा राजन र दाउद समूहबीच चलेको टक्करका कारण यस्ता घटना हुँदै आएको र यसमा भारतीय सुरक्षा निकायको समेत स्वार्थ गाँसिएको एक उच्च प्रहरी अधिकारी बताउँछन् ।

जमिम शाहपछि भारतीय गिरोहबाटै ९ असोज २०६८ मा घन्टाघरमा इस्लामिक संघका महासचिव फैजान अहमदको गोली हानी हत्या भएको थियो । यसमा पनि जमिमको हत्या गर्ने समूहको संलग्नता देखिएको थियो । २०५५ सालदेखि नै नेपालमा अन्तरदेशीय अपराधको शृंखला चल्दै आएको छ ।

१५ असार २०५५ मा पूर्वमन्त्री मिर्जादिलसाद बेगको हत्या भएको थियो । छोटा राजन समूहले नै मिर्जाको हत्या गरेको थियो । सोही समूहको प्रत्यक्ष–अप्रत्यक्ष असहयोगमा नेपालमा अन्य ठूला हत्या हुँदै आएका छन् । पछिल्लोपटक सुनसरीमा भएको खुर्सिद आलमको घटना पनि यसैको श्रृंखला भएको प्रहरीको विशेष ब्युरोका एक प्रहरी अधिकारी बताउँछन । नयाँ पत्रिकाबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७