लोकल कुखुराको व्यापारमा २९ वर्षदेखि छविलाल, कुखुराकै कमाइले पक्की घर


८ फाल्गुन २०७६, बिहीबार
kukhura
फाइल फोटो

कञ्चनपुर, ८ फागुन । बिहानीको झिसमिसेमै गाउँ–गाउँमा साइकल गुडाउँदै स्थानीय जातका कुखरा खोज्दै हिंड्नु कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका छविलाल सार्कीको दिनचर्या नै हो । सार्कीलाई स्थानीय बासिन्दाले कुुखुरा व्यापारीका रूपमा चिन्ने गर्दछन् ।

कुखुरा व्यापारीको पहिचान बनाएका उनले यसै व्यवसायबाट जीविका चलाउँदै आएका छन् । सार्की २९ वर्षदेखि स्थानीय जातका कुखराको व्यापारमा संलग्न छन् । पहिला जस्तै आजभोलि पनि सार्की साइकल डोर्‍याउँदै कुखुरा खोज्नमै व्यस्त छन् ।

घरबासका लागि जग्गा र त्यसमा बनेको कच्ची घर सम्पत्तिका रूपमा रहेका सार्की जीविका चलाउनका लागि कुखुराको व्यापारलाई रोजेको बताउँछन् । ‘स्थानीय जातका कुखुरा मात्रै पहिला पाल्ने चलन थियो’, सार्कीले भने, ‘गाउँ–गाउँमा सहज र सुपथ मूल्यमा कुखुरा पाइन्थे । हाल विकासे जातका कुखुरा व्यावसायिकरूपमा पाल्न थालिएपछि स्थानीय जातका कुखुरा खोज्न गाह्रो भइसक्यो । एक सयमा दुई जनाले मात्रै स्थानीय जातका कुखरा पाल्ने गरेका छन् ।’

दुई–तीन दिन लगातार गाउँ चहारेपछि चार–पाँच कुखुरा मात्रै पाउन सकिने गरेको उनी बताउँछन् । रु ५० प्रतिकिलोका दरले जिउँदो कुखुरा खरिद गरेर बजारमा बेचेको स्मरण गर्दै सार्कीले भने, ‘त्यसबेला दैनिक २५ देखि ३० किलोसम्म कुखुरा बिक्री गर्न लैजान्थें । गाउँमा खरिद गरेको कुखुरा बजारमा लगेर बिक्री गरी परिवारको खर्च सहजै चल्थ्यो । हाल त्यसको आधा मात्रै कुखुरा पाइने गरेका छन् ।’

उनका अनुसार अहिले कुखुरा पाउनै मुस्किल छ, पाइहाले पनि थोरै पाइने भएकाले आम्दानी पनि कम छ । ‘कुखुराको व्यापारले घरपरिवारको खर्च धानिएकै छ । तीन छोरीको विवाह पनि यसै व्यापारको कमाइले गर्न भ्याएको छु । छोरीको विवाह गर्नमै रु सात लाख बढी खर्च लागेको छ । त्यो सबै कुखुराकै कमाइ त हो नि ।’

हाल स्थानीय जातको कुखुराको भाले रु ५५० र पोथी रु ४५० प्रतिकिलोका दरले खरिद गरी रु ५०० देखि रु ६०० मा उनले बिक्री गर्दै आएका छन् । कुखुरा खरिद गरी बिक्री गरेर आएको केही रकम बचत गरी उहाँले पक्की घर समेत बनाउन थालेका छन् ।

‘मुर्गावाला’ को नामले परिचित सार्की जीविका चलाउने एक मात्रै माध्यमका रूपमा रहेको कुखुराको व्यापार नछाड्ने बताउँछन् । गाउँबाट खरिद गरेर ल्याएका कुखुरा भीमदत्तनगर बजारको सब्जीमण्डीमा बिक्री हुने गरेको छ ।

वर्षौं पहिले पहाडबाट बसाइ सारेर तराई झर्दा कमाइने गर्ने साधन थिएन । भारतबाट आएका व्यापारीले मात्रै कुुखुराको व्यापार गर्दथे । भारतीय व्यापारीले कुखुरालगायतको खुद्रे व्यापार गरेर आरामले परिवारको खर्च चलाएको देख्दा यसबाटै प्रेरणा लिँदै सार्कीले कुखुराको व्यापार गर्न शुरु गरेका हुन् ।

बजारमा मजदुरी गरेर कमाएको रु १०० बाट पहिलोपटक कुखुरा खरिद गरी बजारमा लगेर बिक्री गरी आएको आम्दानी जम्मा गरे । ‘त्यसपछिको आम्दानी जम्मा गरी पूँजी बनाएँ’ सार्कीले भने, ‘थोरैबाट धेरै कुुखुरा खरिद गर्न थालेपछि आम्दानी पनि बढ्यो । परिवारको खर्च चल्न थाल्यो । त्यसपछि यो नै व्यवसाय बन्यो ।’

‘व्यापार सानो ठूलो हुँदैन । मेहनत गरे सानो व्यवसायबाट पनि परिवार सहजरूपमा चल्दोरहेछ । पहाडबाट तराई झर्दा एकसरो लुगामा आएका थियौँ । मेहनत गरें । निरन्तररूपमा व्यवसायमा संलग्न रहेकाले कसैसँग पैसाका लागि अहिलेसम्म हात थाप्नुपरेको छैन’, उनले भने ।

उनका अनुसार पैसाकै लागि धेरै जना विदेशिने गरेका छन् । स्वदेशमै लगनका साथ काम गरे परिवारसँगै बसेर त्यो भन्दा बढी कमाउन सकिन्छ । त्यसका लागि धैर्य आवश्यक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७