चुनाव अगाडि नै सरकार फेर्ने एमालेको योजना, प्रचण्ड भने देउवा सरकारकै पक्षमा


१८ आश्विन २०७४, बुधबार

काठमाडौं : सत्ताको प्रमुख सहयोगी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकता गर्नेसम्मको सहमति गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्यबारे विभिन्न अड्कलबाजी हुन थालेका छन् । तर, अहिलेको संसद्को आयु एक महिनाभन्दा कम भएको, केन्द्र र प्रदेश सभा निर्वाचनका लागि समय थोरै भएको तथा संसद्मा बहुमत पुर्‍याउन पनि एमाले, माओवादीलाई सहज नभएकाले तत्काल सरकार फेरिने सम्भावना भने कम देखिन्छ । मंगलबार आयोजित निर्वाचन तालमेल घोषणा कार्यक्रममा पनि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले आफूहरूको प्रयास कांग्रेसलक्षित नभएको भन्दै सरकार फेरबदलमा नलाग्ने संकेत गरेका छन् ।

KP oli and Prachand 5

‘हाम्रो तालमेल कांग्रेसविरुद्ध छैन,’ कार्यक्रममा प्रचण्डले भने, ‘म प्रस्ट पार्छु यो जनता र राष्ट्रको पक्षमा छ ।’ एमाले अध्यक्ष केपी ओलीले पनि तीनदलीय सहमति कसैका विरुद्ध नभएको टिप्पणी गरे । ‘हाम्रो सहमति कसैका विरुद्ध छैन, यो जनताको चाहना हो,’ ओलीले भने, ‘देश बनाउने कुराबाट कोही पनि नझस्के हुन्छ ।’

सरकार नफेरिने प्रचण्डको आश्वासन
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार बिहान र दिउँसो गरी दुईपटक प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरे । तर, दुवै भेटमा प्रचण्डले आफूहरूले चुनावी तालमेल गरे पनि सरकार फेरबदलतिर नलागेको भन्दै आश्वस्त बनाउन खोजेका थिए । ‘प्रचण्डजीले प्रधानमन्त्रीसँग हाम्रो असन्तुष्टि सरकारसँग होइन, हामीले वापमन्थीबीच मात्र तालमेल गर्न लागेका हौँ भन्नुभएको छ,’ कांग्रेस नेता डा। प्रकाशशरण महतले भने, ‘प्रचण्डजीले अहिलेकै सरकारले निर्वाचन गराउँछ, सरकार फेरबदलको कुरा छैन भन्नुभएको छ ।’

बहुमत पुर्‍याउन समस्या, समयको चाप
आगामी १० र २१ मंसिरको प्रदेश र संघको निर्वाचनअघि सरकार फेरिने सम्भावना न्यून छ । २९ असोजमा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउनुपर्ने र ५ कात्तिकमा उम्मेदवारको मनोनयन हुने अघिल्लो दिनबाटै यो संसद्को कार्यकाल सकिने भएकाले नयाँ सरकार गठनको गृहकार्य त्यति सहज छैन ।

एमाले र माओवादी केन्द्र मिले पनि सरकार गठन गर्न बहुमत पुग्दैन । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, कमल थापा नेतृत्वको राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपासहितका साना दलबाट पनि समर्थन आवश्यक पर्छ ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले प्रदेश र संघको निर्वाचनको मुखमा सरकार फेर्ने पक्षमा आफ्नो पार्टी नभएको बताइन् । ‘संविधान कार्यान्वयनका निम्ति चुनाव हो, यसकारण यो सरकारलाई हाम्रो समर्थन भइरहन्छ,’ भुसालले भनिन्, ‘हामी निर्वाचनसम्म सरकारमा सहभागी हुन्छौँ ।’

एमालेको जोडबल सरकार फेर्नेसम्म !
एमालेले भने तत्काल सरकार फेर्नेसम्मको विकल्पमा जान माओवादीलाई प्रस्ताव गरेको चर्चा कांग्रेसभित्र भएको छ । सकेसम्म केपी ओली नेतृत्वको सरकार बनाए जसरी फेरि पनि निर्वाचनअघि नै सरकार फेरेर जान सकिने प्रस्ताव एमालेबाट आएको विषयमा मंगलबार कांग्रेस बैठकमा चर्चा भएको थियो । तर, समयको चाप र निर्वाचनको तयारीमा व्यस्त रहनुपर्ने, निर्वाचनको मुखमा सरकार फेर्दा गलत सन्देश जाने भएकाले यही सरकारलाई निर्वाचन गराउन दिने समझदारीमा पुगेको बताइन्छ ।

‘एमालेको जोडबल सरकार फेरिहालौँ भन्ने आसय आएको देखिन्छ, तर उनीहरूसँग तत्काल बहुमत पुर्‍याउन सक्ने अवस्था छैन । उपेन्द्र यादव र कमल थापासहितका साना दलको समर्थन आवश्यक देखिन्छ,’ कांग्रेस नेता महतले भने, ‘यसकारण उनीहरू तत्काल हच्किएको बुझेका छौँ ।’

कांग्रेस नेता महेश आचार्यले निर्वाचन गरेर संविधान कार्यान्वयन गर्ने दायित्वबाट नभागी कांग्रेस नेतृत्वको सरकार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन गराउन केन्द्रित भएर लाग्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७