बच्चा बोकेकी महिलालाई लाठी हान्ने इन्स्पेक्टर पौडेललाई जिम्मेवारीबाट हटाइयो


१८ फाल्गुन २०७६, आईतवार
police 1

काठमाडौं, १८ फागुन । केहि दिनअघि एक बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवी पौडेललाई इञ्चार्जको जिम्मेवारीबाट हटाइएको छ ।

बच्चा बोकेकी महिला हेमा श्रेष्ठलाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी निरीक्षक पौडेललाई जिम्मेवारीबाट हटाइएको हो ।

महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको नेतृत्वबाट पौडेललाई हटाएर नयाँ इन्स्पेक्टर पठाइएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईले पौडेललाई जावलाखेलमा तानिएको जानकारी दिएका छन् ।

‘एसपी दुर्गा सिंह नेतृत्वको समितिले पनि छानविन गरिरहेको छ’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राईले भने, ‘अहिले भैंसेपाटीमा प्रहरी निरीक्षक सुजित ओझालाई पठाइएको छ ।’ नेपाली सेनाबाट अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला साह नामकी महिलाबीच भएको विवादका क्रममा बिहीबार पौडेलले लाठी चार्ज गरेका थिए ।

साहका लागि न्याय माग्न भन्दै खत्री निवास पुगेकी आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठलाई उनले लाठी हानेका थिए । सो प्रकरणको छानविनका लागि गठित समितिले मंगलबारसम्ममा प्रतिवेदन तयार पार्ने जनाइएको छ । सोही आधारमा इन्स्पेक्टर पौडेलमाथि कारबाही गरिने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७