मिर्गौला रोगी बाबु बचाउन असमर्थ बने ११ वर्षीय मनिष, चन्दाको रकमले काजकिरिया गर्दै


२४ फाल्गुन २०७६, शनिबार
kiriya

गुल्मी, २४ फागुन । छरछिमेकले आर्थिक सहयोग गर्न थालेपछि गुल्मी मदाने गाउँपालिका–७ भनभने नेटाखर्कका ११ वर्षीय मनिष खड्कालाई मिर्गौला रोगी आफ्ना बाबुको उपचार होला भन्ने लागेको थियो ।

आफ्ना ४२ वर्षका बाबु रामबहादुर खड्काको उपचारका लागि कति खर्च लाग्छ र कहाँ गएर कसरी उपचार गर्नुपर्छ भन्ने थाहा नभए पनि छरछिमेकीहरु आएर सकेको सहयोग दिंदै ‘रामबहादुरको उपचार गर्नुपर्छ केहि हुँदैन’ भनि आश्वास्त पार्दा मनिषको मन हलुको हुन्थ्यो ।

बाबुलाई निको हुन्छन् भन्ने लाग्थ्योे । तर, मनिषको मनमा जागेको आशा धेरै दिन अघि बढ्न सकेन । रकम संकलनकै क्रममा बाबु रामबहादुर संसारबाट विदा भएपछि मनिषको मन नमिठो गरी दुःखेको छ ।

अहिले बाबुको उपचार गराउन रकम जोहो गर्दै गरेका ११ वर्षीय मनिष सोही रकमले बाबुको काजकिरिया गरिरहेका छन् ।

दुबै मिर्गौला फेल भएका उनका पिता रामबहादुर खड्काको उपचारमा पनि रकम अभावका कारण चन्दा उठाइएको थियो । उपचारकै क्रममा फागुन १५ गते ४२ वर्षको उमेरमा रामबहादुरको मृत्यु भएपछि काजकिरियाका लागि समेत रकम अभाव भएको छ ।

छिमेकीले शाहघाटबाटै काजकिरियाका लागि चन्दा उठाउन शुरु गरेका थिए । नगद तथा अन्न संकलन गरेर काज किरियाको खर्च जुटाइएको छिमेकीहरुको भनाइ छ । घरमा तीन महिना पनि खान नपुग्ने जमिन भएका खड्का परिवारले दैनिक मजदुरी गर्दै जीविका चलाउँदै आएका थिए ।

मनिष आफै पनि बिरामी नै छन् । हर्नियाबाट ग्रसित उनको उपचार गर्न पनि नसकिएको परिवारले बताएको छ । शुरुमा बाबुको उपचारमै ध्यान केन्द्रित गरिएको र अहिले काज किरियामा लाग्नु परेका कारण मनिषको उपचार हुन नसकेको हो । मनिषकी आमा निर्मला खड्काले छोराको रहरमा १० सन्तानको जन्म दिएको बताइन् । १० सन्तानमध्ये मनिष मात्र छोरा हुन् ।

खड्का परिवारको बिचल्लीको खबर सुनेर स्थानीयवासी तथा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का नेता बुद्धि जिसी सहयोग रकम लिएर पुगेका थिए । उनले आफ्नो तर्फबाट ३५ हजार नगद सहयोग मृतककी जेठी छोरी पवित्रालाई हस्तान्तरण गरेका छन् ।

अहिले काज किरिया कसरी टार्ने भन्ने चिन्ता भएको र त्यसपछि पनि परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्ताले सताइरहने निर्मलाको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७