नारितामा नेपाली चेलीहरूको खुसीको आँसु


२८ फाल्गुन २०७६, बुधबार
Susma and Sita


२ मार्च २०२० को बिहान । विश्वकै व्यस्त विमानस्थलहरूमध्येका एक नारिता अन्तर्राष्ट्रिय विमानस्थलको मौसम निकै चिसो थियो । सिमसिम पानी । धुम्म कुहिरो । नेपाल वायु सेवा निगमको चन्द्र–सूर्यसहितको राष्ट्रिय ध्वजावाहक विमान करिब सात घन्टाको सीधा उडान भरेर जापानको स्थानीय समयअनुसार बिहानको १०ः५० बजेको थियो ।

NAC at Narita
नारिता विमानस्थलमा चन्द्र–सूर्यसहितको राष्ट्रिय ध्वजावाहक विमान

 


विश्वकै व्यस्त विमानस्थलमध्ये एक नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा छिनछिनमै विमान अवरतण गरिरहेका थिए, उडिरहेका थिए । नेपाल वायु सेवा निगमको चन्द्रसूर्य ध्वजावाहक विमान अवतरणपछि नारिता अन्तर्राष्ट्रिय विमानस्थलको मैदानमा पार्किङका लागि गुड्दै थियो । विमानस्थलमा आफ्ना कमान्डरमातहत कडा नियम र अनुशासनमा काम गर्नुपर्ने हुन्छ । नारिता अन्तर्राष्ट्रिय विमानस्थलको ग्रान्उडमै कार्यरत नेपालकी चेली सीता कुँवर र सुष्मा रावतले जब अचनाक नेपालको चन्द्रसूर्य ध्वजावाहक विमान देखे, कमान्डरको आदेश र नियमलाई समेत भुलेर सीता र सुष्मा दगुरेर विमानलाई पछ्याउन थाले । जब विमान रोकियो । सीता र सुष्मा पनि रोकिएर रुन थाले । जब विमानको ककपिटबाट प्रमुख क्याप्टेन विजय लामा र क्याप्टेन रमण घिमिरेले त्यो दृश्य देखे । दुवैजनाले ककपिटबाटै हात हल्लाए ।

जब चन्द्रसूर्य ध्वजावाहक विमानबाट पाइलटद्वयले हात हल्लाएर सीता र सुष्माले झनै थाप्न सकेनन् । दुवैजना अँगालोमा बाँधिए, उफ्रिए । यो दृश्य देखेपछि क्याप्टेन लामा र घिमिरले पनि आँसु थाप्न सकेनन् । दुवैजना भावुक भए । गत ३५ वर्षदेखि विमान चलाइरहेका क्याप्टेन लामा र विगत १२ वर्षदेखि विमान चलाइरहेका क्याप्टेन घिमिरेका लागि पनि त्यो जीवनकै सुन्दर क्षण थियो । क्याप्टेन लामाले त्यो क्षणबारे आफ्नो ब्लगमा लेखेका छन्, ‘त्यो क्षण अहिलेसम्मकै मेरो प्रिय क्षणहरूमध्येको एक थियो । हामी बाहिर गएर पनि विमान चलाउन सक्छौं । सीमित सेवासुविधा लिएर पनि चन्द्रसूर्यसहितको राष्ट्रिय ध्वजावाहक विमान चलाउनुको सुखद पक्ष यही हो ।’

NAC at Narita Japan
नारितामा नेपाली यात्रुहरु । तस्बिर : एभिएसन वायर


त्यस्तो त सीता र सुष्माको अनुभूति पनि उस्तै छ । लामो समयदेखि यही विमानस्थलमा काम गरिहेका छन् उनीहरू । दैनिक अनेकौं देशका ध्वजावाहक विमानहरू अवतरण हुन्छन्, उड्छन् । कुनै हिसाबकिताब हुँदैन । आफूसँगै काम गर्ने विदेशी साथीहरूले ‘मेरो देशको विमान’ भनेर देखाउँछन् । जब त्यो दिन चन्द्रसूर्यसहितको राष्ट्रिय ध्वजावाहक विमान उनीहरूले देखे र खुसीले धरधरी रोए । सीता भन्छिन्, ‘त्यो क्षणबारे म शब्दमा बयान गर्न सक्दिन । त्यो यस्तो खुसी र गर्वको क्षण थियो कि हामीले आफूलाई रोक्नै सकेनौं । हामी विमानसँगै कुद्यौं, रोकियौं, रोयौं ।’

आफ्नो देशको चन्द्रसूर्यसहितको राष्ट्रिय ध्वजावाहक नारिताको मैदानमा गुड्दाको क्षणलाई अमूल्य र असाधरण क्षणका रूपमा मान्छिन्, सुष्मा । सुष्माले त्यो क्षणबारे अनुभूति साट्दै भनेकी छिन्, ‘जब हामीलाई ककपिटबाट हात हल्लाउनुभयो, त्यसपछि हामीले आफूलाई नियन्त्रण गर्न सकेनौं । वाह ! हामी नेपाली भन्ने अनुभूति भयो ।’

उडानले थपियो उत्साह

Vijay Lama
क्याप्टेन विजय लामा


राष्ट्रिय ध्वजावाहक विमानको नारिता उडान व्यावसायिकसँगै भावनात्मक हिसाबले पनि महŒवपूर्ण रहेको पहिलो उडानमा नारिता गएका सांसद तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता गणेशकुमार पहाडी बताउँछन् । पहिलो उडानमा नारिता गएका प्रतिनिधिसभाको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले जापानको आकाशमा नेपाली राष्ट्रिय ध्वजावाहक उड्नु गर्वको विषय भएको बताए । यो उडानले नेपालको पर्यटन विकास महत्वपूर्ण सहयोग रहने उनको भनाइ छ ।

चन्द्र–सूर्यसहितको राष्ट्रिय ध्वजावाहक विमान विदेशी भूमिमा उड्दा साँच्चिकै गर्वको अनुभूति हुने लामो समयदेखि जापानमा बसिरहेका नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले बताउँछन् । उनी भन्छन्, ‘चन्द्रसूर्यसहितको राष्ट्रिय ध्वजावाहक विमानले नारितामा उडान सुरु गरेपछि टोकियो क्षेत्रमा बसिरहेका करिब ९३ हजार नेपाली असाध्यै खुसी छन् । यो केवल व्यापारको मात्रै विषय होइन, यो भावनाको पनि विषय हो ।’

लामो समयदेखि निगमको जहाज नारिता लैजान प्रयास गरिरहेका पर्यटन व्यवसायी कर्पु शेर्पा व्यावसायिक रूपमा पनि नारिताको उडान सफल हुने बताउँछन् । नारितादेखि काठमाडौं सीधा उडानले टोकियो क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुलाई ठूलो राहत भएको उनको भनाइ छ ।
प्रवासी नेपाली एकता मञ्च जापानका अध्यक्ष हवलचन्द्र लामा निगमको नारिता उडानले राष्ट्रको गौरव बढाएको बताउँछन् । गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष देवीलाल भण्डारीले यो उडान जापानमा रहेका नेपालीहरुका लागि महत्वपूर्ण भएको बताए । उनले भने, ‘यो व्यवासयको मात्रै विषय होइन, राष्ट्रको गौरव बढाउने विषय पनि हो । जापानका नेपालीहरूका लागि गौरवको विषय हो ।’

राष्ट्रिय ध्वजावाहक विमानले नारिता उडान गर्ने भएपछि जापानमा रहेका नेपालीमा उत्साह छाएको जापानमा लामो समयदेखि बसिरहेका पत्रकार महासंघ जापनका सचिव शान्त पहारीले बताए । निगमको विमानले काठमाडौं सीधा उडान भर्ने भएपछि नेपाली तथा नेपाल जाने पर्यटकका लागि पनि राम्रो सुविधा भएको उनको भनाइ छ ।

ओसाका छोडेर नारिता

Nepal airlines in Narita Japan
नारिता विमानस्थलमा चन्द्र–सूर्यसहितको राष्ट्रिय ध्वजावाहक विमान

 


नेपाल वायु सेवा निगमको चन्द्रसूर्यसहितको ध्वजावाहक विमानले साताको सोमबार, बुधबार र शुक्रबारको उडान इजाजत पाएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी ए–३३० जहाज छन् । त्यही जहाजबाट उडान हुनेछ । कुल २ सय ७४ सिट क्षमताको वाइडबडी विमानले पहिलो उडानमै २ सय ३४ यात्रु लिएर नारिता उडेको थियो । फर्किदा २ सय ७२ जना यात्रु लिएर नेपाल फर्किएको थियो । यसअघि वायुसेवा निगमले जापनको ओसाका उडान गर्दै आएको थियो । नाफा नभएपछि गत भदौदेखि सुरु गरेको काठमाडौं–ओसाका उडान पाँच महिनामै बन्द गर्ने निर्णय गरिएको थियो ।

ओसाका क्षेत्रमा करिब १५ हजार नेपाली बसोबास गर्छन् । तर, नारिता विमानस्थल प्रयोग गरेर टोकियो क्षेत्रवरिपरि करिब ९३ हजार नेपाली बसोबास गर्छन् । निगमले वाइडबडी जहाज ल्याएलगत्तै व्यावसायिक योजनाअनुसार अत्यधिक नेपालीको बाहुल्य भएको नारिता उडानको तयारी गरेको थियो । तर, निगमका कार्यकारी अध्यक्ष नियुक्त गरेका मदन खरेलले नारिता उडान रद्द गर्दै ओसाका गर्ने निर्णय गरेका थिए । खरेलले आफ्नो स्वार्थका लागि करोडौ घाटा बेहोरेर ओशाका उडाएका थिए । निगमले ओसाका उडान गर्दा प्रतिउडान १ करोड ३० लाख हाराहारी सञ्चालन खर्च नै उठ्थ्यो ।

NAC Japan
नारिता विमानस्थलमा चन्द्र–सूर्यसहितको राष्ट्रिय ध्वजावाहक विमान

 

करिब पाँच महिनाको अवधिमा निगमले करोडौं घाटा बेहोरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले भने सुरुदेखि नारिता उडान गर्नुपर्नेमा जोड दिँदै आएका थिए । भट्टराईको निर्देशनपछि ओसाका बन्द गरेर नारिता उडान सुरु गरिएको हो । निगमले हाललाई एकतर्फी भाडा ३७ हजार र दुईतर्फी ७३ हजार रुपैयाँ प्रवद्र्धनात्मक भाडादर राखेको छ । नेपाल एयरलाइन्सका जापानस्थित कन्ट्री मेनेजर सुलेश मिश्रका अनुसार यो प्रमोसनल फेयरअन्तर्गत हो । उनले भने, ‘भाडादर परिवर्तन हुन सक्छ ।’ नारिता उडानका लागि एसजी प्रेजेक्ट नेपाल–जापानका अध्यक्ष तथा व्यवसायी कर्पु शेर्पाले लामो समयदेखि पहलकदमी लिँदै आएका थिए ।

तत्कालीन स्व. रवीन्द्र अधिकारी पर्यटनमन्त्री भएको समयदेखि आफूले नारिता उडानका लागि पहल गरेको शेर्पाले बताए । शेर्पाकै पहलकदमीमा गत ११ चैत २०७५ मा नारिता अन्तर्राष्ट्रिय विमानस्थलका भाइस प्रेसिडेन्ट कोजी ताकाहासीसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलसहित निगमका पदाधिकारीलगायतलाई भेटेर नारिता उडान भर्न अनुरोध गरेका थिए ।

नारीता विमानस्थलले नेपाल वायुसेवा निगमको विमान अवतरणबाट लिने विमानस्थल शुल्क पहिलो वर्ष शतप्रतिशत, दोस्रो वर्ष ७० प्रतिशत र तेस्रो वर्ष ४० प्रतिशत छुट दिने प्रस्ताव गरेको थियो । नारिता विमानस्थलले नेपाल वायुसेवा निगमको एक वर्षसम्म निःशुल्क प्रमोसनसमेत गरिदिने भएको छ । शेर्पा विगत तीन दशकअघिदेखि जापानमा बसेर पर्यटन व्यवसायमा संलग्न छन् ।

-बुधबार साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७