विषाक्त मदिराले मृत्यु भएका परिवारलाई प्रदेश सरकारद्वारा जनही तीन लाख दिने घोषणा


३ चैत्र २०७६, सोमबार
dhanusha

जनकपुरधाम, ३ चैत । धनुषामा विषाक्त मदिरा (रक्सी) पिएका कारण मृत्यु भएका परिवारलाई प्रदेश–२ सरकारले जनही तीन लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

विषाक्त घरेलु मदिरा पिएका कारण बुधबारयता मात्र नौं जनाको मृत्यु भएको धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयामा सोमबार बिहान पुगेका प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारलाई राहत दिने घोषणा गरेका हुन् ।

पीडित परिवारहरूसँग भेट गरी समवेदना व्यक्त गर्दै मुख्यमन्त्री राउतले ३–३ लाख राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले विषाक्त मदिरा उत्पादन तथा बिक्री–वितरण गर्नेलाई कानुनको दायरामा ल्याउने प्रतिबद्धता जनाउँदै घटनामा संलग्न दोषीको खोजी जारी रहेको जानकारी दिएका छन् । मुख्यमन्त्री राउतले प्रदेश सरकार चाँडै प्रदेशलाई नै खुला मदिरामुक्त घोषणा गर्ने तयारीमा रहेको जानकारी समेत दिएका छन् ।

रमदैया पुगेको मुख्यमन्त्रीको टोलीमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आजै (सोमबार) सुरक्षा समितिको बैठक बसी खुला मदिरा नियन्त्रणको प्रक्रिया अघि बढाइने बताए । साथै घटनाका दोषीलाई कारबाही प्रक्रिया पनि थालिने उनले जानकारी दिएका छन् ।

विषाक्त मदिरा पिएका कारण १५ दिनयता धनुषाका रमदैया बस्तीमा ९, जनकपुरधाम उपमहानगरपालिका–७ मुसहर बस्तीमा ६ र लक्ष्मीनियाँ गाउँपालिका–६ बगेबामा गरी आइतबार साँझसम्म २० जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७