१० वर्षमा पनि बनेनन् कर्णाली राजमार्गका १३ पुल


६ चैत्र २०७६, बिहीबार
karnali

सुर्खेत, ६ चैत । निर्माण कम्पनीका चरम लापर्वाहीका कारण कर्णाली राजमार्गमा विभिन्न १३ वटम पुल हालसम्म सम्पन्न हुनसकेका छैनन् ।

निर्माण थालिएको एक दशकसम्म ती कम्पनीले समयमा काम नगर्दा राजमार्गमा आवतजावत गर्ने यात्रुका दुःख अझै उस्तै छन् । गत असोजमा सम्पन्न गर्नुपर्ने ती पुलको म्याद पुनः थपिएको छ ।

म्याद थपसँगै निर्माणको काम अझै ढिलो हुने देखिएको छ । एक दशकदेखि निर्माण शुरु गरिएका करिब २० वटा पक्की पुलमध्ये सात वटा मात्र निर्माण सम्पन्न भएका छन् । अझै १३ वटा पुल निर्माण सम्पन्न हुन बाँकी रहेका छन् ।

अधिकांश पुलमा मुख्य ठेकेदारले पेटी ठेकेदारलाई जिम्मा दिने पेटी ठेकेदारले केही रकम बचाएर अर्कालाई जिम्मा दिने प्रवृत्तिका कारण पुल अलपत्र बनेको स्थानीयवासीको गुनासो छ । साँघुरो सडक र निर्माणाधीन पुल समयमै नसकिएपछि यात्रु दैनिक हैरानी खेप्नुपर्ने बाध्यतामा रहेका छन् ।

दैलेख खण्ड हुँदै जुम्लासम्म पुग्ने सो राजमार्गका पक्की पुलको जिम्मा लिएका कम्पनीको अन्तिम म्याद गत असोजसम्म थप गरिएको थियो । सरकारले पुनः नयाँ निर्देशिका जारी गरेपछि अहिले चार महिनादेखि एक वर्षसम्मको समय थप गरिएको सुर्खेत सडक डिभिजन कार्यालयका सूचना अधिकृत देवेन्द्र भट्टराईले जानकारी दिए । उनले अन्तिम पटकका लागि म्याद थपिएको समयभित्र काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राखिने बताए ।

सो राजमार्गको दैलेख खण्डका किटुखोला, जाक्सीखोला, पातलखोला, भट्टेखोला, पाल्तडाँलगायतका स्थानका पुल अझै निर्माण सम्पन्न हुनसकेका छैनन् । तल्लो डुगेश्वर सियाकोट जोड्ने लुवाखोलापुल सडकको सतहभन्दा होचो छ ।

रतिखोला पुल पनि अझै सम्पन्न भएको छैन । आठबीस नगरपालिका दैलेखका नगरप्रमुख खड्गराज उपाध्यायले तत्काल काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएको जानकारी दिए । उनले राजमार्गमा पर्ने पुल निर्माण लिएका कम्पनीलाई बोलाएर छिटोसक्न ताकेता दिएको बताए ।

यातायातलाई सहज र प्रभावकारी बनाउन नेपाल सरकार र विश्व बैंकले अर्बौं लगानी गर्दा नागरिकका समस्यालाई निर्माण कम्पनीले ध्यान नदिएको स्थानीयवासीले गुनासो गरेका छन् । सुर्खेत सडक डिभिजन कार्यालयले दिएको जानकारी अनुसार पुल एउटै कम्पनीले विभिन्न कम्पनीसँग जेभी गरेर काम थालनी गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७