कोरोना संक्रमण प्रभाव : भिसा जारी प्रक्रिया स्थगित


१० चैत्र २०७६, सोमबार
aadyagaman

काठमाडौं, १० चैत । अध्यागमन विभागले आइबारबाट सबै प्रकारका प्रवेशाज्ञा (भिसा) जारी गर्ने प्रक्रिया स्थगित गरेको छ । विभागले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सबै प्रकारका भिसा जारी र नविकरण गर्ने प्रक्रिया स्थगित गरेको हो ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अध्यागमन विभागले विदेशी नागरिकका लागि जारी गर्दै आएको भिसा चैत्र २१ गते सम्मका लागि स्थगित गरेको छ । विभागले आइतबारबाट कुनै पनि प्रकारका भिसा जारी गरेन ।

भिसा नविकरण समेत नगर्ने जनाएको छ । विभागले आफ्नो कार्यालय प्रवेश गर्ने मुल गेटमा सूचना टाँस गरेर भिसा प्रदान गर्ने प्रक्रिया स्थगित गरेको जनाएको छ ।

उसले आफ्नो वेवसाइट मार्फत समेत भिसा जारी गर्ने प्रक्रिया स्थगन गरिएको जानकारी गराएको छ । नेपालस्थित अमेरिकी दूतावासले समेत भिसा जारी गर्ने प्रक्रिया स्थगित गरिसकेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संभावित जोखिम र त्यसबाट उत्पन्न हुन सक्ने प्रभावलाई नियन्त्रण गर्न नेपाल सरकारले आइतबारदेखि चैत्र २१ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारको सोही निर्णयलाई आधार मान्दै अध्यागमन विभागले आइतवारबाट सबै प्रकारका भिसा जारी गर्ने प्रक्रिया स्थगित गरेको हो । सेवा प्रवाह बन्द भएका बेला भिसाको अवधि समाप्त भएमा सेवा सुचारु भए पछि नियम अनुसार भिसा नियमित गरिने अध्यागमन विभागले जनाएको छ ।

आइतबार भिसा सम्बन्धी काम लिएर अध्यागमन विभाग पुगेका विदेशीहरु सेवा वन्द भएको सुचना पढेर फर्किएका छन् । भिसा नविकरण गर्न दिनहुँ सयौं विदेशीहरु अध्यागमन विभाग पुग्ने गरेका थिए । अध्यागमन विभागले पर्यटक, ध्ययन, वैवाहिक, नातेदार, व्यापार लगायतका भिसा जारी गर्दै आएको छ । विभागले उपत्यका बाहिरका अध्यागमन नाकाहरुबाट भिसा जारी गर्ने प्रक्रिया यस अघि नै स्थगित गरेको थियो । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि गत साता युरोपेली मुलुक, पश्चिम एसियाली मुलुकलगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिक र ती मुलुकमा रहेका नेपालीलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७