कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन


१७ चैत्र २०७६, सोमबार
Death Body

काठमाडौं, १७ चैत । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ । उनको उपचारका क्रममा गए राति निधन भएको हो ।

मिर्गौला रोगबाट पीडित तामाङको दुई सातादेखि वीर अस्पतालमा उपचार भइरहेको थियो । राति नै निधन भएका तामाङको परिवारजनले खबर गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । क्यानले उनको उपचारका लागि आर्थिक सहयोग गर्दै आएको थियो ।

यस्तै नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) ले ‘तामाङ सहयोग अभियान’ सञ्चालन गरेको थियो । यस क्रममा तामाङलाई रु ५० हजार सहयोग गरेको थियो । समाजले उक्त रकम तामाङकी श्रीमती निरमायालाई हस्तान्तरण गरेको थियो । ‘थप रकम हस्तान्तरण गर्ने तयारीमा थियौं’, समाजका संस्थापक अध्यक्ष भानु सिग्देलले भने ।

यसैगरी तामाङको उपचारका लागि नेपाल क्रिकेट खेलाडी सङ्घ (सीप्यान) ले समेत एक लाख ३३ हजार सहयोग गरेको थियो । दुवै मिर्गौलामा समस्या आएपछि अस्पताल भर्ना भएका तामाङ डेढ दशकदेखि त्रिवि क्रिकेट मैदानको रेखदेख गर्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७