बुटवलमा मृत्यु भएका युवाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’


१७ चैत्र २०७६, सोमबार
butwal hospital

रुपन्देही, १७ चैत । ‘कोरोना विशेष’ अस्थायी अस्पताल बुटवलमा आइतबार उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना रिपोर्ट नेगेटिभ (संक्रमण नभए) आएको छ ।

युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्थायी अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिएका छन् ।

पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना–४ सिसौडाडाका ३४ वर्षका बाबुराम थापा क्षेत्रीको दोस्रो स्वाब परीक्षणको रिपोर्ट सोमबार दिउँसो आएको हो ।

‘पहिलो रिपोर्ट नेगेटिभ आएपछि हामीले शंका लागेर दोस्रो पटक परीक्षणका लागि पठाएका थियौं । तर, दोस्रो रिपोर्ट पनि नेगेटिभ आयो’ डा. थापाले सुनाए । ती युवकको स्वाब अस्पताल भर्ना भएको चौथो दिन मात्रै परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो ।

शनिबारसम्म थापाको स्वास्थ्य अवस्था स्थिर रहेकोमा आइतबार बिहान श्वासप्रश्वासमा समस्या देखिएको र दिउँसो एक बजे थापाको मृत्यु भएको थियो । दुबईमा ट्याक्सी चालक रहेका थापा त्यहाँबाट ६ गते त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल काठमाडौं उत्रिएका र चैत ७ गते बसबाट सैनामैना आएका थिए ।

थापालाई ज्वरो आएपछि स्थानीय आचार्य मेडिकलमा जँचाएर औषधि सेवन गरेकामा निको नभएपछि चैत १३ गते बेलुका लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए ।

त्यहाँ सामान्य जाँचपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । मृतक थापाका एक श्रीमती र दुई छोरा छन् । थापाको शव अस्पतालमै रहेको छ । उनको स्वास्थ्य रिपोर्ट नआएका कारण शव उठाउन समेत समस्या भइरहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७