एनसेलले सरकारलाई बुझायो पुँजीगत लाभकर ४ अर्ब ६० करोड


१८ चैत्र २०७६, मंगलवार
ncl scaled

काठमाडौं, १८ चैत । निजी क्षेत्रको मोबाइल सेवाप्रदायक संस्था एनसेलले सरकारलाई पुँजीगत लाभकरका दोस्रो किस्ता बुझाएको छ ।
एनसेलले मंगलबार ठूला करदाता सेवा कार्यालयमा ४ अर्ब ६० करोड रुपैंया लाभकर दाखिला गरेको ठूला करदाता सेवा कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले जानकारी दिए ।

यसअघि, पुस १५ गते प्रथम किस्तास्वरुप एनसेलले ४ अर्ब ५० करोड रुपैंया बुझाएको थियो । यो रकमसँगै एनसेलबाट पुँजीगत लाभकर स्वरुप ९ अर्ब १० करोड रुपैंया भुक्तानी भएको छ । सर्वोच्च अदालतले एनसेललाई २२ अर्ब ४५ करोड रुपैंया भुक्तानी गर्नुपर्ने गरी पुँजीगत लाभकर निर्धारण गरेको थियो । यो लाभकर रकमलाई स्वीकार गरेको एनसेलले उक्त कर तिर्न किस्ता सुविधा माग गरेको थियो ।

एनसेलको प्रस्तावलाई औपचारिक रुपमा स्वीकार नगरे पनि अर्थ मन्त्रालयको निर्देशनपछि ठूला करदाता कार्यालयले किस्तामा तिरिएको रकम बुझेको थियो । एनसेलले अझै १४ अर्ब ४० करोड रुपैंया बुझाउन बाँकी रहेको प्रमुख कर प्रशासक अधिकारीले जानकारी दिए । 

‘बाँकी रकम लकडाउन खुल्नेबित्तिकै तिर्न हामीले भनेका छौं । सिस्टमले चैत मसान्तसम्म उक्त रकम तिरे थप ब्याज जोड्दैन । उहाँहरुले पनि बैंकबाट ऋण मिलाउँदै गरेकोले ऋण स्वीकृत हुनेबित्तिकै बुझाउँछौं भन्नुभएको छ’ अधिकारीले भने ।

त्यही क्रममा कम्पनीले केही दिन अघिमात्रै सरकारले आह्वान गरेपछि कोरोनाविरुद्ध लड्नका लागि १० करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको थियो। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७