‘र्‍यापिड किटले नेगेटिभ–पोजेटिभ जे देखाए पनि अन्तिम निर्णय पीसीआरले नै दिने हो’


२५ चैत्र २०७६, मंगलवार
rapid test

काठमाडौं, २५ चैत । सरकारले र्‍यापिड डायग्नोस्टिक टेस्ट किट प्रयोग गर्ने तयारी गरेको छ । त्यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) ले उक्त किटको गुणस्तर प्रमाणीकरण र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले अनुसन्धान गर्नेछन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ पहिचानमा उक्त किट सिफारिस गरेको छैन । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), एनपीएचएल, एनएचआरसी र सुदूरपश्चिम सरकारको संयुक्त प्रयासमा किटको गुणस्तर प्रमाणीकरणसँगै अनुसन्धान प्रक्रिया अघि बढाइएको हो ।

सरकारले कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा रहेका र बागलुङमा उपचारमा रहेका संक्रमितको बासस्थान वरिपरिका व्यक्तिमा र्‍यापिड किटबाट परीक्षण गर्ने निर्णय गरिसकेको छ । चैतमा मुलुक प्रवेश गरेका र उनीहरूको सम्पर्कमा आएकाहरूको पनि त्यही किटबाट परीक्षण गर्ने भनिएको छ । र्‍यापिड किटमा पोजेटिभ देखिएकाहरूको पुनः पीसीआर परीक्षण गरेर यकिन गरिने छ ।

ईडीसीडीका पूर्व निर्देशक डा. जीडी ठाकुरलगायतका विज्ञहरूले भने विश्वव्यापी रूपमा र्‍यापिड किटको गुणस्तर शंकास्पद रहेको जनाउँदै पीसीआरलाई नै प्राथमिकता दिनुपर्ने बताउँदै आएका छन् ।

‘मुलुकमा कोभिड–१९ संक्रमण स्थानीय रूपमा देखिएर दोश्रो चरणमा प्रवेश गरिसकेको छ । अब समुदायमा समेत देखिन सक्ने हुनाले पीसीआर परीक्षणमै मुख्य रूपले भर पर्नुपर्छ र यसैको थप विस्तार गर्नुपर्छ,’ डा. ठाकुरले भने ।

अनुसन्धान र प्रमाणीकरणका लागि ६ जनाको टोली दुई सयभन्दा बढी घाँटीको र्‍याल र रगतको नमुना संकलन गर्न कैलाली गएको एनएचआरसीका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए । ‘मंगलवार नमुना संकलन सुरु हुन्छ,’ उनले भने, ‘नमुना ३–४ दिनपछि काठमाडौं ल्याउँछौं ।’

एनपीएचएलमा संकलन गरेर ल्याइएको रगतको नमुना र्‍यापिड किटबाट र घाँटीको र्‍यालको नमुनालाई पीसीआर मेसिनबाट परीक्षण गरिन्छ । एनपीएचएलकी निर्देशक डा. रुना झाले परीक्षणबाट प्राप्त दुवै परिणामलाई तुलना गरेर रिपोर्ट स्वास्थ्य मन्त्रालयलाई दिने बताइन् ।

मन्त्रालय श्रोतका अनुसार सुदूरपश्चिमबाट ल्याइने नमुनामा करिब ‘२०–२५’ वटा कोभिड–१९ पोजेटिभ समेत आए र्‍यापिड परीक्षण किटको विश्वसनीयता तुलना गर्न बढी सहज हुन्छ । तर दुई–चार वटा समेत पोजेटिभ केस आउने सम्भावना कम छ ।

त्रिवि शिक्षण अस्पताल बायोकेमेस्ट्री विभागका डा. विनोदकुमार यादवले र्‍यापिड परीक्षण किटको विश्वसनीयता शतप्रतिशत नहुने बताए । ‘द्रुत परीक्षण किटले कुनै संक्रमणविरुद्घ लड्न हाम्रो शरीरले निर्माण गरेको एन्टिबडी परीक्षण गर्छ’, उनले भने, ‘संक्रमण भएको ८ दिनपछि शरीरमा एन्टिबडी निर्माण हुन थाल्ने भएकाले यसअघि परीक्षण गर्दा यो किटले नेगेटिभ देखाउन सक्छ ।’

यो किट ‘भ्यालिडेसन’, ‘मास स्क्रिनिङ’ लगायतमा उपयोग गर्न सकिने डा. यादवले बताए । ‘यो किटले नेगेटिभ–पोजेटिभ देखाउँदा पनि अन्तिम निर्णय भने पीसीआरबाटै गर्नुपर्छ,’ उनले भने ।
द्रुत परीक्षण किटबाट संक्रमण नदेखिए पनि सम्बन्धित व्यक्तिलाई १४ दिन घरमै बस्न भन्नुपर्ने डा. यादवले बताए ।

‘द्रुत परीक्षण किट उपयोग गरौं तर यसले नेगेटिभ देखाए पनि क्वारेन्टाइनमै बस्नुपर्ने नियम बनाऔं । यसको भर परेर दुई जना मात्र संक्रमित समाजमा गए रोगको विस्तार रोक्न सकिंदैन,’ उनले भने ।

पीसीआर परीक्षण सुविधा पनि राजधानी बाहिर उपलब्ध हुन थालेको छ । हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १५२९ वटा नमुनाको परीक्षण भइसकेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्र कोभिड–१९ का लागि हुँदै आएको पीसीआर परीक्षणको विस्तार धरान, पोखरा, जनकपुर, सुर्खेत, धनगढी, चितवन, धुलिखेल, भरतपुर, भैरहवामा गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
सरकारसँग हाल ७५ हजार थान र्‍यापिड परीक्षण किट छ । पीसीआर करिब १० हजार जनालाई परीक्षण गर्न सकिने गरी मौज्दात छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७