देशभर एक सय जना आइसोलेसनमा, नौ हजार २२८ क्वारेन्टाइनमा


२५ चैत्र २०७६, मंगलवार
SBS Surkhet 3

काठमाडौं, २५ चैत : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सम्पूर्ण मानव जातिका लागि दुष्मन भएकाले यसविरुद्ध अग्रपंत्तिमा खट्ने चिकित्सक र सम्बन्धित सबैको मनोबल बढाउनुपर्ने बताएका छन् ।

ज्योति ग्रुपले प्रदान गरेको अटोमेटिक ब्याकप्याक स्पे्रयर सामग्री आज बुझ्दै मन्त्री ढकालले कोरोनाविरुद्ध सम्पूर्ण मानवजाति एकताबद्ध भएर लड्नुपर्नेमा जोड दिए । मन्त्री ढकालले विपद्का समयमा सरकारसँग हामी सँगै छौं भनेर दिएको सहयोगका निम्ति धन्यवाद दिएका थिए ।

मन्त्री ढकालका प्रेस संयोजक माधवराज तिवारीका अनुसार ज्योति ग्रुपका निर्देशक एवं स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिका अध्यक्ष सौरभ ज्योतिले उक्त सामग्री हस्तान्तण गरेका थिए ।

सो कम्पनीले दिएको होण्डा अटोमेटिक ब्याकप्याक स्पे्रयर सार्वजनिक स्थानहरुमा कीटनाषक औषधि छर्नका निमित्त उपयोगी हुनेछ । ग्रुपले १० थान अटोमेटिक ब्याकप्याक स्पे्रयरको ७ लाख रुपैयाँ पर्ने जनाइएको छ ।

कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न परीक्षण जारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको जनाएको छ । आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ सङ्क्रमित व्यक्ति नभएको र सङ्क्रमित आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म कूल एक हजार ७९६ नमूना परीक्षण सम्पन्न भएको छ । काठमाडौं उपत्यका बाहिर नौ स्थानमा नमूना परीक्षणको सेवा शुरु भएको छ । प्रवक्ता डा. देवकोटाका अनुसार कैलाली र कञ्चनपुरमा परीक्षण शुरु गरिएको छ ।

आज कञ्चनपुरमा २१ र कैलालीमा १८ नमूना सङ्कलन भएको भएको छ । त्यस्तै, जुम्ला र अछाममा स्वाबको नमूना सङ्कलन शुरु भएको छ । स्वाबको ४०० भन्दा बढी नमूना लिने तयारी छ ।

हालसम्म काठमाडौंमा १६, उपत्यका बाहिर ८४ गरी कूल १०० जना आइसोलेसनमा छन् । नेपालभरी नौ हजार २२८ जना क्वारेन्टाइनमा छन् । वीरेन्द्र सैनिक अस्पताल संयुक्त मेडिकल टोलीले सशस्त्र बल र नेपाल प्रहरीका अस्पतालका २६ जना स्वास्थ्यकर्मीलाई तालीम दिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले विश्व स्वास्थ्य दिवसको अवसरमा सम्पूर्ण स्वास्थ्यकर्मीले अदम्य साहस र उत्साहका साथ गरिरहेको अमूल्य योग्दानप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

मन्त्री ढकालले आज जारी गरेको विज्ञप्तिमा नेपालको स्वास्थ्यस्थिति सुर्धान ९२ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयमसेविकाको ठूलो भूमिका रहेको र उनीहरुलाई कोरोना भाइरसविरुद्धको अभियानमा लाग्न आग्रह गर्दै एक हजार ५०० प्रोत्साहनस्वरुप उपलब्ध गराउने सरकारले निर्णय गरेको उल्लेख छ ।

मन्त्री ढकालले विदेशबाट फर्किएका दाजुभाइ दिदीबहिनीले क्वारेन्टाइनमा बसी सहयोग पुर्‍याएको प्रति धन्यवाद दिँदै लकडाउनको विकल्प नभएको हुनाले त्यसको पूर्णरुपमा पालना गर्न आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७