नयाँ सांसदलाई काठमाण्डौंमा डेरा खोज्न धपेडी


२ माघ २०७४, मंगलवार
Samsad Bhawan

काठमाण्डौं : काठमाण्डौंमा दिनहुँजसो घर बन्ने क्रम छ । घर निर्माणकै कारण खुल्ला ठाउँ मासिंदै गईरहेको छ । तर, यतिधेरै घरहरु निर्माण भईरहे पनि काठमाण्डौंमा कोठा पाउन निकै संघर्ष गर्नुपर्छ । यहि समस्या अहिले प्रतिनिधिसभा निर्वाचन जितेका नयाँ सांसदहरुलाई परिरहेको छ ।

Samsad Bhawan
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित ६६ नयाँ सांसदमध्ये अधिकांश यतिबेला काठमाण्डौंमा डेरा खोज्ने धपेडीमा छन् । प्रतिनिधिसभामा प्रत्यक्षबाट निर्वाचित १६५ मध्ये ९९ जना पूरानै अनुहार छन् भने ६६ जना पहिलोपटक निर्वाचित हुन् । मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट विजयी भएकाहरू सांसदहरु डेरा खोज्न, गृह जिल्ला आवत–जावत गर्न तथा कार्यकर्ता भेटघाटमै व्यस्त छन् । एमालेबाट ४०, माओवादी केन्द्रबाट ११, कांग्रेसका ३, संघीय समाजवादी फोरमबाट ७, राजपाका ४ र राप्रपाबाट १ जना पहिलो पटक सांसद बनेका छन् । नयाँ सांसदमध्ये काठमाण्डौंमा घर नभएकाहरू डेरा खोजिरहेका छन् ।

डेरा खोज्नेमा एमाले सांसद बढी

नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित सांसदहरूमध्ये ४० जना नयाँ अनुहार हुन् । उनीहरूमध्ये अधिकांश यसअघि आफ्नो गृह जिल्लामै बस्ने गरेका थिए । प्रतिनिधिसभामा निर्वाचित भएपछि काठमाण्डौं बस्नुपर्ने भएकाले अहिले धेरैले डेरा लागिरहेका छन् । स्याङ्जा–२ बाट निर्वाचत एमाले सांसद पद्मा अर्याल आफू डेरा खोज्ने क्रममा रहेको बताउँछिन् । ‘संसद् अधिवेशन आह्वान हुन अब राष्ट्रिय सभाकै चुनाव कुर्नुपर्ने भयो । पहिलो पटक निर्वाचित सांसद भएकाले पनि अब कम्तीमा पाँच वर्षका लागि डेरा त खोज्नै पर्‍यो । अहिले आफन्तहरूलाई कोठा खोज्नका लागि लगाईरहेकी छु ।’

दैलेख क्षेत्र नम्बर–२ बाट निर्वाचित एमालेका राजबहादुर बुढा डेराको खोजीमा छन् । सांसद बुढा भन्छन्–‘अब डेरा खोज्ने क्रममा छु । अहिले लोकन्थलीमा भाइहरूसित बसिरहेको छु । संसद् चलिनसकेकाले निर्वाचन क्षेत्र जाने आउने क्रम चलिरहेको छ ।’ बाजुरा क्षेत्र नम्बर–१ बाट निर्वाचित एमालेका लालबहादुर रावल पनि संसदमा पहिलो पटक प्रतिनिधित्व गर्दै छन् । तत्कालका लागि कीर्तिपुर बसेर पढिरहेका छोराछोरीसँग बसिरहेको बताउँदै उनी भन्छन्–‘अब अन्यत्र नै हेर्नुपर्ने भएको छ ।’

संसदबारे बुझ्दै नयाँ सांसद

डेरा पाइसकेका माओवादी केन्द्रका जुम्ला क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद गजेन्द्र महत भने सिनामंगलमा बसिरहेका छन् । उनी भन्छन्–‘सिनामंगलमा डेरा लिएर बसेको छु । जिल्लास्तरको कामसँगै यतिबेला म पूरानो संसद्को नियमावली, संसदीय गतिविधिबारे अध्ययन गरिरहेको छु ।’ पहिलो पटक प्रतिनिधिसभामा प्रत्यक्षबाट निर्वाचित अन्य सांसदहरू काठमाण्डौंमा बसोवासको प्रबन्ध गर्न व्यस्त छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७