कोरोनाले लियो ८८ हजार बढीको ज्यान, तीन लाख २९ हजार निको

एकै दिन थपिए ८२ हजार ७०३ नयाँ संक्रमित


प्रकाशित मिति : April 9, 2020

काठमाडौं, २७ चैत । प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणले हालसम्म विश्वका ८८ हजार ४४१ जनाको ज्यान लिइसकेको छ ।

आज (बिहीबार) बिहान सात बजेसम्ममा कोरोना भाइरसबाट विश्वमा १५ लाख १७ हजार ९५ मानिस संक्रमित भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामै ६ हजार ३८२ जनाको ज्यान गएको छ । बुधबार एकै दिन ८२ हजार ७०३ नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्मको तथ्याङ्क अनुसार संक्रमित तीन लाख २९ हजार ७३१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अमेरिकामा बुधबार कोरोना संक्रमणबाट एक हजार ९१६ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या ४ लाख ३० हजार नाघेको छ । मृतकको संख्या १४ हजार ७५१ पुगेको छ । बुधबार एकै दिन त्यहाँ ३० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकापछि बुधबार युकेमा धेरैको मृत्यु भएको छ । त्यहाँ बुधबार ९३८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । त्यहाँ मृतकको संख्या ७ हजार नाघेको वल्र्डमिटरले जनाएको छ ।
यस्तै बुधबार स्पेनमा ७४७ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या १४ हजार ७ सय ९२ पुगेको छ । इटालीमा हिजो ५४२ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या १७ हजार ६६९ पुगेको छ ।

फ्रान्समा बुधबार ५४१ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ८६९ पुगेको छ । जर्मनीमा बुधबार ३३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या साढे २३ सय पुगेको छ भने संक्रमित १ लाख १३ हजार नाघेको छ ।

यस्तै बुधबार बेल्जियममा २०५, इरानमा १२१, ब्राजिलमा १३४, नेदरल्यान्डमा १४७, स्वीडेनमा ९६, टर्कीमा ८७, स्वीटजरल्याण्डमा ७४, क्यानाडामा ४६, पोर्चुगलमा ३५, अस्ट्रियामा ३०, आइरल्याण्डमा २५, पोल्याण्डमा ३०, रोमानियामा २३, इक्वेडरमा २२, इन्डोनेसियामा १९, मेक्सिकोमा १६ जनाको मृत्यु भएको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमणबाट बुधबार १८ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या १७८ र संक्रमितको संख्या ५९ सय १६ पुगेको छ ।

अर्को छिमेकी देश चीनमा भने बुधबार कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु भएन । नयाँ संक्रमित नथपिएपछि कोरोनाको उद्गम थलो चीनको वुहानको जनजीवन सामान्य बन्दै गएको छ । यहाँ ७५ दिनपछि लकडाउन हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्