सम्झनामा कम्युनिष्ट आन्दोलनका ‘रत्न’ रत्नकुमार 


राजु शिवा
प्रकाशित मिति : April 9, 2020

नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा चैत २७ गते कहिल्यै भुल्न नसकिने दिन हो । निरंकुश पञ्चायती शासन व्यवस्था निर्मूृल गरी नेपाली गरीब र निमुखा जनताको पक्षमा लडिरहेका इतिहास पुरुष शहीद रत्नकुमार बान्तवाको हत्या भएको दिन हो चैत २७ गते । उनको २०३५ साल चैत २७ गते पञ्चायती प्रहरीले गोली हानी निर्ममतापूर्वक हत्या गरेका थिए ।

पञ्चायतविरोधी जुनसुकै तत्वलाई माटोमा मिलाउन आएको सरकारी आदेशले निर्देशित सुरक्षाकर्मीका अगाडि त्यही सरकार र व्यवस्थो विरोधी, त्यसमा पनि कम्युनिष्ट भएर चेतनाको राँको बालेर जनता जगाउनु जोकसैलाई चानचुुने कुरा थिएन । 

तर, पञ्चायती व्यवस्थाको जाँतोमा पिँधिएका तिनै निमुखा जनताका लागि ज्यान दिएर शहीद रत्नकुमार वान्तवाले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा आफ्नो नाम स्वर्णिम अक्षरले लेख्न सफल भए । नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा योगदान गरेका थोरै योद्धामध्ये रत्नकुमार वान्तवा अग्रपंत्तिमा पर्छन् । नेपाली कम्युनिष्ट इतिहासमा रत्नकुमार एक वहुमूल्य रत्नका रुपमा चिनिन्छन् ।

शहीद रत्नकुमार वान्तवा

क्रान्तिबाट मात्रै परिवर्तन सम्भव देख्ने र पञ्चायती व्यवस्थाको जरो उखेल्न सकिन्छ भन्ने विश्वास लिने बान्तवा जनतालाई पनि पञ्चायतका विरुद्धमा क्रान्ति गर्न आह्वान गर्थे । पञ्चायती सरकारबाट ताडना पाइरहेका नेपाली जनताको मुक्तिका लागि लड्ने बान्तवाको अनुहार उस्तै देखेर उनका काकाका छोरा बम बान्तवा र छिमेकी निमा शेर्पालाई समेत प्रहरीले हत्या गरेको थियो । इभाङ्गको जङ्गलमा रत्नकुमार बान्तवाले भौतिक शरीर जनताका नाममा चढाएको करीब ११ वर्षपछि नेपाली राजनीतिले अर्काे मोड लियो, जुन परिवर्तन त्यतिबेला जनताको मुक्ति ठानियो । 

यसरी भयो रत्नको हत्या

चैत २७ मै जन्मिएर चैत २७ मै दिवंगत हुँदा जन्मको ठ्याक्कै २७ वर्ष पुगेको दिन, अनौठो संयोग थियो । झापा विद्रोहले जन्माएका क्रान्तिकारी योद्धा रत्नकुमार तीन महिनाअघि मात्र नेकपा मालेको केन्द्रिय सदस्यमा निर्वाचित भएपछि पार्टीले खटाएअनुसार ताप्लेजुङ्गको यात्रा तय गरी हिंडेका थिए । 

रत्न, सुशीला श्रेष्ठ र कल्पना (निरमाया राई) रत्नको जन्मघर चमैताबाट इभाङ्ग पुगेको तीन दिन भएको थियो । अघिल्लो दिन उनकै मावली घर इभाङ्गमा बैठक गरेर पार्टीको जिम्मेवारी बाँडफाँड गरी भोलिपल्ट तीन जनाको टोली ताप्लेजुङ्ग पुग्नै पर्ने थियो । विहान घाम धर्तीमा खस्न नपाउँदै हिंडेका उनीहरुले घरबाट केही तल पुगेपछि मान्छे बोलेको जस्तो आवाज सुने । १०–१५ जनाको समूहमा रहेका मान्छे देख्दा स्थानीय हुन् या प्रहरी उज्यालो भई नसकेकाले ठम्याउन कठिन भयो ।  

रत्नकुमार वान्तवाको हत्या गरिएको स्थल

समूहमा रहेकाहरुले हातमा लामा–लामा लठ्ठी बोकेको देखेपछि उनीहरु सशंकित हुनु स्वभाविकै थियो । नभन्दै ‘उ त्यहि हो रत्नकुमार’ भन्ने आवाज आए लगत्तै प्रहरीको घेरामा पर्दा मात्र प्रहरी रहेछन् भन्ने थाहा पाए रत्नकुमारले । उम्किने कुनै अवसरै थिएन । 

बान्तवालाई एक जना खाइलाग्दो प्रहरीले अँठ्याएर समात्यो । तैपनि उनी उम्किन प्रयास गरिरहेका थिए । सँगै रहेकी सुशीला श्रेष्ठलाई भने त्यस बेलासम्म प्रहरीले पक्रेका थिएनन् । त्यही मौका छोपेर सुशीलाले रत्नलाई समात्ने प्रहरीको हातमा बेस्सरी लठ्ठीले बजारेपछि रत्नकुमार प्रहरीको कब्जाबाट उम्किन सफल भए । एकछिनमै ‘ड्याम्म’ गोली चलेको आवाज आयो, उम्किएर भाग्न प्रयास गरिरहेका रत्नकुमार त्यहीं ढले । 

भाग्न प्रयास गरिरहेकी सुशीलालाई पनि तत्कालै गोली हानियो । ‘पानी, पानी’ भनेर कराइरहेका रत्नलाई निर्दयीताको हद नाघेर पञ्चायतप् प्रहरीले डोरीले बाँध्यो । केही मुनिको लामो ढुङ्गामा रगताम्य शरीरमा सुताइएका रत्नले आफ्नो जीवनको अन्तिम श्वास त्यहीं फेरे । सुशीलाको भने पुरै होश हराएको थिएन । एक कुशल नेता र सहयोद्धाको प्राण पखेरु आफ्नै अगाडि गएको देखिरहेकी उनलाई पनि बाँच्ने आशा थिएन । 

रत्नको लाश इलाम ल्याउनका लागि त्यहींका केही मानिसलाई बोकाएर प्रहरीहरु हिंडे । सुशीलाको पनि शरीरभर रगत लतपतिएको थियो, उनको पनि हात बाँधियो र त्यहाँबाट हिंडाइयो । केही तल पुगेपछि रत्नको शव बाटोमा राखेर प्रहरीहरु एक वडाध्यक्षको घरमा खाना खाने सुरमा ओर्लिए । सबैले पोशाक खोले, बन्दुक भुइँमा राखे, सुशीलाको पनि हात खोलियो । सकेसम्म दुष्मनको पञ्जाबाट भाग्ने प्रयास गरिरहेकी सुशीलाले प्रहरीहरुलाई झुक्याएर त्यही मौकामा भागिन् । 

सुशीला भागेको केही क्षणपछि मात्र पत्तो पाएका प्रहरीहरुले उनको खोजी शुरु गरे । सारा जङ्गल खोज्दा कतै भेटेनन् । जथाभावी फायरिङ्ग गर्दै खोजतलास गर्दा पनि उनको कतै पत्तो नलागेपछि जङ्गलमा आगो लगाइयो । चैतको धुपमा एकै क्षणमा जङ्गल खरानी भयो ।

ज्यान जोगिने आशा नै नभएर सुरक्षित ठाउँको खोजी गरिरहेकी सुशीला भने खोला, खोल्सा र भीरपाखामा लुक्दै आगो र मुत्यूसँग संघर्ष गरिरहेकी थिइन् । एकातिर ज्यानको खतरा, अर्कातिर आँखै अघि आफ्ना नेता गुमाउँदाको विदारक दृष्य, त्यसमाथि पनि आगो झोसिएको जङ्गबाट आफूलाई सुरक्षित गराउनु पर्ने, भोक र प्यासले व्याकुल बनेकी सुशीलाले खोल्सीको पानी पिउँदा पनि घाँटीबाट तल जान सकेन ।

खेदिएको मृगझैं कता जाँदैछु भन्ने उनलाई केही अत्तोपत्तो थिएन । धेरैबेर भागेपछि जङ्गलको केही खाली भाग भेटेर ज्यान बचाउनसम्म सकेकी उनको त्यो दिन जङ्गलमै बित्यो । जङ्गल सबै जलेपछि सुशीला पनि त्यही जलेर मरिसकी भन्ने ठानेर प्रहरीहरुले उनको शव खोजे । उनलाई जीउँदो र मृत फेला पार्न सकेनन् प्रहरीले ।

सुशीला त्यहाँबाट हिंडेर एउटा झुप्रोमा पुगिन् । त्यहाँ पनि ‘अघि भाग्ने केटी तैं होइनस् भागिहालछेस् की प्रहरीलाई खबर गरुँ’ भन्ने जवाफ आएपछि त्यहाँबाट हिंड्नुको बिकल्प भएन । पानीकै भरमा तीन रात हिंडेपछि सुशीला इभाङ्गकै एउटा घरमा पुगिन् । जुन घरमा उनीहरु यसअघि पनि बैठक गर्थे ।  त्यहाँ पुगेर उनले फेरि आफ्ना सहयोद्धासँग भेट गरिन् । 

यता, रत्नको शवलाई इलाम बजारमा ल्याएर ‘पञ्चायतको विरोध गर्नेको यहि विगत हुन्छ भन्दै’ बजारभर घुमाइयो र सिंहवाहिनी मन्दिरदेखि अलि माथि लगेर गाडियो । त्यतिबेलासम्म पनि उनको परिवार भने रत्नको हत्याप्रति बेखबर नै थियो । पञ्चायती व्यवस्था भएका कारण पार्टीको पूर्वी कमाण्ड र  केन्द्रले पनि उनको हत्याको खोजवीन गर्न सकेन । अहिले पनि उनको योगदानप्रति पार्टीले चासो नदिएको परिवारले गुनासो गरिरहेका छन् । 

शहादतको ३७ वर्षपछि मात्रै शहीद

नेपालको कम्युनिष्ट आन्दोलनमा रत्नकुमार वान्तवालाई ‘कम्युनिष्ट आन्दोलनका रत्न’ को रुपमा लिइने गरिन्छ । निरंकुश पञ्चायती शासनका विरुद्ध कम्युनिष्ट आन्दोलनको राँको उचालेर जनताको मुक्तिका लागि लड्दा–लड्दै पञ्चायती प्रहरीबाट बहादत प्राप्त गरेका रत्नकुमार वान्तवालाई शहीद घोषणा गर्न परिवार र रत्नकुमार वान्तवा आवद्ध पार्टीले पटक–पटक राज्यलाई आग्रह गर्‍यो तर, सुनुवाइ भएन ।

इलाम सदरमुकामको ठूलो टुँडिखेल अगाडि निर्माण गरिएको शहीद रत्नकुमार वान्तवाको शालिक

केहि वर्षअघि मात्र रत्नकुमार वान्तवालाई शहादत प्राप्त गरेको ३७ वर्षपछि मात्रै राज्यले औपचारिक शहीद घोषणा गरेको छ । रत्नकुमार वान्तवालाई शहीद शब्दले नै सम्बोधन गरिंदै आएको भए पनि उनलाई अहिलेसम्म राज्यले शहीदको मान्यता दिएको थिएन ।

धेरै वर्षको दवावपछि रत्नकुमार वान्तवासहित अन्य २२ जनालाई सरकारले शहीदको सूचीमा थपेको थियो । २००८ साल चैत २७ गते जन्मिएका रत्नकुमार बान्तवा २०३२ सालदेखि पूर्र्णकालीन राजनीतिमा लागेको र २०३५ साउनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

को–अडिर्नेसन केन्द्र र २०३५ साल पुस ११ गते नेकपा माले (हालको एमाले) मा रुपान्तरित भएको हो । रत्नकुमार वान्तवा नेकपा मालेका संस्थापक केन्द्रीय सदस्य थिए । तत्कालीन नेकपा मालेको केन्द्रीय सदस्य भएको साढे तीन महिनामै २०३५ साल चैत २७ गते इभाङ्गमा रत्नकुमार वान्तवालाई गोली हानी हत्या गरिएको थियो । रत्नकुमारको राजनीतिलाई सघाउँदा उनका बाबु जर्गमान राईले पनि १८ महिना जेल बस्नु परेको जानकार बताउँछन् । 

सहयोद्धाको सम्झनामा रत्न

अगम बान्तवा- सहयोद्धा तथा नेकपाका राष्ट्रियसभा सदस्य

रत्नकुमार बान्तवा सम्बन्धले मेरा काका हुन् । उमेरले झण्डै उस्तै । नेपाली कम्युनिष्ट आन्दोलनको भूमिगतकालमा हामीले जनताको सेवा गर्न र जनता जगाउन सजिलो थिएन । गाउँका सुराकी र प्रहरीबाट जोगिन हामीलाई निकै गाह्राे थियो । तैपनि रत्नले हाम्रो आत्मबल बढाउँथे । कतिपय असम्भव कामलाई पनि सम्भव बनाउँथे उनी ।

एकदम चलाख मान्छे थिए उनी । उनी नेपाली जनताको मुक्तिका लागि मर्न डराउनु हुन्न भन्थे । नेपाली जनतालाई स्वतन्त्र बनाउन हरदिन खाई–नखाई हिंड्ने रत्नले पञ्चायती व्यवस्थाको जरो उखेली छाड्ने अठोट लिएका थिए । हामीले लामो समयसम्म पार्टीमा सहकार्य गर्‍यौं । उनीसँग विताएका अविस्मरीण क्षण धेरै छन् मसँग । छोटो कुराकानीमा सकिन्न त्यति धेरै कुराहरु । जनताका लागि जीवन नै दिन पछि नपर्ने र आफ्नो सबै सीप, बुद्धि, कुशलता पार्टीमै लगाउने रत्न जस्ता नेता अहिले पनि थोरै छन् र थोरै जन्मन्छन् जस्तो लाग्छ ।   

जयीमाया राई–सहयोद्धा 

हामीले धेरै पटक जनताका लागि रात–दिन समय खर्चेका थियौं । रत्नले मलाई पार्टीको काममा एकदम सुरक्षित भएर लाग्न खटाउँथे । उनको निर्देशनअनुसार हामी कहिले नामसालिङ्ग, कहिले सोयाङ्ग जानुपथ्र्यो । नम्र भावले जनताको सेवा गर्नुस् भन्थे ।

जनतामाझ भिज्नु पर्छ, उनीहरुको मन जित्नुपर्छ, जनताले साथ दिए भने पञ्चायती व्यवस्थाको जरो उखेल्न सकिन्छ भन्थे । उनीसँग गाउँघरमा जाँदा भएका दुःख र सम्झनाहरु धेरै छन् । वास्तवमा उनको सपना अनुसारको सत्ता नेपालमा अहिलेसम्म आएकै छैन । रत्नको सपना, उनको लक्ष्य अझै पूरा भएको छैन । नेपाली जनताले मुक्ति पाएकै छैनन् ।

महेश वान्तवा–रत्नका अन्तरे भाइ तथा सहयोद्धा (बीचमा कोठे सर्ट लगाएको)

मेरा दाइ रत्नकुमारले पढ्नु पर्छ, समाज बुझ्नु पर्छ, गाउँलेहरुको दुःख पीडा बुझ्नु पर्छ अनि मात्र ठूलो मान्छे भइन्छ भन्नुहुन्थ्यो । घरको कोठमा बसेर पढिरहेका रत्न दाइ हुनुुहुन्छ या हुनुहुन्न थाहा नै हुँदैनथ्यो । घरमा दाइलाई खोेज्दै प्रत्येक दिन प्रहरी आउँथे । पार्टीको बैठक गर्न घरको कोठाबाटै सुरुङ्ग (‘रत्न सुरुङ्ग’ जुन अहिले पनि छ) खनेर तल्लो कान्लामा निकालेका थियौं हामीले । रातभर सुरुङ्ग खनेर बारीमा फालिएको माटो भोलिपल्ट गोरु लगाएर बारी जोते जस्तो बनाउनु पथ्र्यो । 

चार–पाँच रात काम गरेर हामीले सुरुङ्ग बनायौं । सुरुङ्गमा बैठक गर्न केन्द्रिय नेताहरु बारम्बार आउँथे । सुरुङ्गभित्र बैठक चलिरहेका बेला घरमा प्रहरीले धेरैचोटी खानतलासी गरेको थियो, तैपनि भेटेको थिएन । भेट्ने पो हुन् की भन्ने डर मनमा भए पनि हामी घरमा कोही छैनन् भन्दै प्रहरीलाई ढाँटिदिन्थ्यौं । 

प्रहरी गएपछि दाइ रत्नले हामीलाई बाहिर निस्किएर स्याबासी दिनुहुन्थ्यो । अर्काको अधिनमा बाँच्नु हुँदैन, हामी स्वतन्त्र हुनुपर्छ । चीनमा जस्तो शासन हामी ल्याउनुपर्छ भन्नुहुन्थ्यो । पार्टीको काममा सधैं लागेकाले घरको काम गर्न भ्याउनु हुन्नथ्यो ।

सारा नेपालीलाई मुक्ति दिने भनेपछि हामी पनि उहाँलाई सहयोग गथ्र्यौं । मेरा दाजु पार्टी र देशकै लागि मरेर जानुभो तर अहिलेसम्म उहाँलाई शहीद घोषणा गर्ने बाहेक केही भएन । मेरा दाजु बाँचिरहेका भए यो मुलुक यतिबेला यो अवस्थामा पक्कै हुँदैनथ्यो, धेरै सुध्रिएको हुन्थ्यो होला जस्तो लाग्छ । उहाँमा आफ्ना लागि मात्र राम्रो हुनुपर्छ भन्ने कुनै स्वार्थ थिएन ।  

शहीद रत्नकुमारको परिवार गाउँमा खेती किसानीमा नै सीमित छन् । जीवित तीन जना भाइमध्ये बालकुमार वान्तवा भारतमा, कृष्णकुमार राई धनकुटामा र महेश वान्तवा चमैताको चित्रेमा बसोबास गर्छन् ।

जलकुमारी राई-इभाङ्गमा आउँदा रत्नले खाना खाने र बैठक गर्ने गरेको घरकी महिला 

सम्बन्धले रत्न मेरा भाञ्जा पर्थे । मावलीको निहुँमा यहाँ आएर बस्न र गाउँमा गएर जनतालाई सचेत गराउन उनलाई केही सजिलो थियो जस्तो लाग्छ, त्यही भएर उनी आइरहन्थे । मैले उनलाई धेरै पटक खाना खुवाएकी छु । उनी एक्लै कहिल्यै आउँदैनथे । कोही न कोही साथी जहिले पनि हुन्थे । 

खाना खाइरहँदा पनि उनी ‘आफ्नै देशमा श्रम र पसिना बगाउनु पर्छ, तर अर्काको आदेशमा बाँच्नुु हुँदैन, सत्ता ल्याउनु पर्छ भन्थे ।’ त्यस्तो पञ्चायी व्यवस्थाका बेला कत्रो आँट गरे यिनले जस्तो लाग्थ्यो हामीलाई । तर उनको अठोट नै थियो त्यो । खाना खाँदा पनि कहिल्यै नमिठो भनेनन् । जस्तो दिए पनि चुपचाप लागेर मिठो मानेर खान्थे । उनको ध्यान खानमा भन्दा पनि देश र जनतामा नै थियो जस्तो लाग्थ्यो । 

रत्नलाई सम्झिन आज के हुँदैछ ?

आज शहीद रत्नकुमारको ६९ औं जन्म दिन अनि ४१ औं स्मृति दिवस । आज शहीद रत्नको जन्म दिन भए पनि आज धेरैले रत्नकुमारलाई सम्झिएका पनि छैनन् । अहिले विश्वव्यापी कोरोना भाइरस महामारीका कारण नेपाल समेत ‘लकडाउन’ छ । देशभर ठूलो जमघट कार्यक्रम गर्न त परै जाओस् बाहिर निस्किन समेत बन्देज छ ।

शहीद रत्नकुमार वान्तवाको घर । अहिले यो संरक्षण गरिएको छ ।

सहज दिनहरुमा त हतपत्त सम्झना नगरिने रत्नलाई आजको यो असहज परिस्थितिमा औपचारिक रुपमा सम्झिने कार्यक्रम छैनन् । कोरोना भाइरसले सिर्जित असहज अवस्थामा मात्र होइन सहज अवस्थामा समेत रत्नको सम्झनामा औपचारिकता विसाउने बाहेक उलेख्य काम हुन सकेका छैनन् । 

रत्नकुमार वान्तवाले खनेको सुरु

पछिल्लो समय रत्नकुमार वान्तवाले निर्माण गरेको सुरुङ्ग र घर संरक्षणको काम भइरहेको छ । अहिले रत्नको सम्झनामा साँखेजुङमा पोलिटेक्निकल इन्स्टिच्युट निर्माणको काम भइरहेको छ । तर, उनको सम्मानमा राज्यले गर्नुपर्ने धेरै काम भएको जिल्लाका नेताहरु बताउँछन् ।

तत्कालीन मेची अञ्चलाधीश कार्यालयले जफत गरेका वान्तवाका थुप्रै साहित्यिक र राजनीतिक लेख भएका डायरी तथा उनले प्रयोग गरेका अन्य सामान जिल्ला प्रशासनमा नै राखिएको थियो । पछिसम्म जिल्ला प्रशासनको एउटा बाकसमा भएका त्यस्ता सामान अहिले कहाँ छन् कसैले खोजी नगरेको जिल्लाका कम्युनिष्ट नेताहरु बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्