कोरोनाबाट बेलायतमा अर्का एक भूपु गोर्खा सैनिकको मृत्यु


२३ बैशाख २०७७, मंगलवार
Narayan konwe gurung 4 may 75y Zy82LltcyC

बेलायत, २३ बैसाख । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट बेलायतमा फेरि अर्का एक भूपु गोर्खा सैनिकको ज्यान गएको छ ।

बेलायतमा कोरोना भाइरस संक्रमणबाट ७५ वर्षीय पूर्व गोर्खा नारायण कोन्मे गुरुङको मृत्यु भएको हो । ननिटनको ‘जर्ज इलिएट अस्पताल’ मा उपचारकै क्रममा ज्यान गएको हो ।

अन्य कुनै किसिमको रोग नभएका गुरुङलाई श्वासप्रश्वासको समस्या देखिएपछि अप्रिल २६ का दिन अस्पताल भर्ना गरिएको थियो । गुरुङलाई कोरोनाको पुष्टि भएको जानकारी अस्पतालले दिएको थियो । पर्वतको थाना मौला स्थायी घर भएका गुरुङका श्रीमती दुई छोरा र एक छोरी बेलायतमै छन् ।

सामाजिक सेवामा समेत रुची राख्ने गुरुङ बेलायतका विभिन्न संघसंस्थामा आबद्ध रहँदै आएका थिए । गैरआवासीय नेपाली संघ यूकेद्वारा सञ्चालित कोभिड– १९ को राहत कोषको लागि सदस्यको समेत भूमिका निर्वाह गर्दै आएका थिए ।

एनआरएनए यूके, तमुधिं यूके जस्ता संस्थामा सल्लाहकार रहेका उनी चारभञ्ज्याङ तमु समाज यूकेका संस्थापक र वर्तमान संरक्षक हुन् । चारभञ्ज्याङ तमु समाजको अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार समेत रहेका गुरुङ बेलायतस्थित कोने (घोताने–घोण्डे) समाज यूकेका संस्थापक वरिष्ठ सल्लाहकार थिए ।

बेलायतमा कोरोनाको संक्रमणबाट चार दर्जनभन्दा बढी गैर आवासीय नेपालीहरुको मृत्यु भइसकेको छ । जसमध्ये तीन दर्जनभन्दा बढी पूर्व गोर्खा सैनिकहरु रहेका छन् । बेलायतमा मात्र हालसम्म कोरोनाको संक्रमणबाट २८ हजार ७ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७