सामाजिक दूरीको नियम आफूले उल्लंघन गरेको भन्दै प्रोफेसरले दिए राजीनामा


२४ बैशाख २०७७, बुधबार
professor lockdown nQuhFXivVt

लण्डन, २४ बैसाख । बेलायतमा लकडाउनको सिफारिस गर्ने प्राध्यापक निल फर्ग्यूसनले आफैंले सामाजिक दूरीको पालना नगरेको भन्दै आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनी कोरोनाको विषयमा बेलायती सरकारका प्रमुख सल्लाहकार हुन् । आफ्नो राजीनामाबारे घोषणा गर्दै उनले भने, ‘म स्वीकार गर्छु कि मैले गलत गरेँ । त्यसकारण म आफ्नो पदबाट हट्दैछु ।

यो माहामारीलाई नियन्त्रण गर्नका लागि सामाजिक दुरीको लगातार आवश्यकता छ भन्ने कुरा स्पष्ट छ, मैले यो कुरालाई नजरअन्दाज गरें, यसमा मलाई गहिरो अफसोच छ ।’

लण्डनको डेली टेलिग्राफ पत्रिकाले एक रिपोर्ट छापेको थियो जसमा भनिएको थियो – प्राध्यापक निलले एक महिलालाई आफ्नो नजिक आउन दिएका थिए जुन सामाजिक दूरी नियमको उल्लंघन थियो ।

प्राध्यापक फर्ग्यूसन ‘सेन्टर फर ग्लोबल इन्फेक्सन डिजीज एनालिसिस’ का निर्देशक हुन् । यो संस्थाले सरकार र विश्व स्वास्थ्य संगठनलाई अफ्रिकामा इबोलादेखि अहिलेको कोरोना महामारीसम्ममा सल्लाह दिँदै आएको छ । यही संस्थाले जनवरीमा संसारलाई कोरोनाको खतराबारे चेतावनी दिएको थियो ।

जब चीनका अधिकारीले ऊहानमा दर्जन मानिसमात्रै कोरोनाबाट संक्रमित भनिनरेहका बेला यो संस्थाले ऊहानमा हजारौं नभए पनि कम्तीमा सयौंको संख्यामा संक्रमित भएको दाबी गरेके थियो ।

प्राध्यापक निलको समूहले आफ्नो अनुसन्धानको आधारमा यदि तत्काल कुनै कारवाही नगरे बेलायतमा कोरोनाभाइरसका कारण करिब पाँचलाख बढीको मृत्यु हुनसक्ने चेतावनी पनि दिएका थिए ।

उनकै सल्लाहमा बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनले २३ मार्चदेखि लकडाउन घोषणा गरेका थिए । त्यतिबेला प्राध्यापक निल बेलायतमा ‘प्रोफेसर लकडाउन’ को नामबाट चर्चित भएका थिए ।

तर आफ्नो पदबाट राजीनामा दिने उनी बेलायतका पहिलो स्वास्थ्य विशेषज्ञ भने होइनन् । उनी अघि ६ अप्रिलमा स्कटल्याण्डकी चीफ मेडिकल अफिसर डाक्टर क्याथरिन केलरवुडले लकडाउनको क्रममा दुई पटक आफ्नो अर्को घर गएका कारण आफ्नो पदबाट राजीनामा दिएकी थिइन् । स्रोतः बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७