भारतमा कोरोना त्रासबीचमै रेलसेवा सञ्चालन हुँदै, अनलाइन बुकिङ शुरु


२९ बैशाख २०७७, सोमबार
train

भारत, २९ बैशाख । भारतमा झण्डै दुई महिनापछि मंगलबारदेखि रेल सेवा पुनः सञ्चालन हुने भएको छ ।

कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै भारत सरकारले दुई महिनाअघि रेलवे बन्द गरेको थियो । उक्त रेलसेवामध्ये राजधानी नयाँ दिल्लीमा भने मंगलबार देखि पुनः सुचारु हुने भएको हो ।

भारतका रेलवे मन्त्री पियुष गोयलले मंगलबारदेखि रेलवे पुनः सञ्चालनमा आउने जानकारी दिएका हुन् । आइतबार उनले ट्वीट गर्दै सो जानकारी दिएका हुन् । उनको जानकारीको लगत्तैपछि रेल सेवा सञ्चालनको तयारी गरिएको छ । रेल सेवाका लागि सोमबारदेखि नै अनलाइन बुकिङ हुने छ । सोमबार अपराह्न ४ बजेदेखि अनलाइन बुकिङको काम शुरू हुन लागेको बताइएको छ ।

मंगलबारदेखि शुरु हुन लागेको यस सेवाका लागि रेलवे सेवाका काउन्टरहरूबाट भने टिकट किन्न पाइने छैन । काउन्टरमा भीडभाड हुने भएकोले अनलाइनबाटै टिकट किन्न पाइने अधिकारीहरुले जानकारी गराएका छन् ।

भारत सरकारका अनुसार मंगलबार नयाँ दिल्लीबाट १५ वटा रेल देशभरका मुख्य रेलवे स्टेसनका लागि छुट्ने छन् । भारतीय सञ्चारमाध्महरुले जानकारी दिएअनुसार नयाँ दिल्लीबाट अगरताला, होरह, पटना, विलासपुर, राँची, भुवनेश्वर, सिकन्दरावाद, बैंगलुरू, चेन्नाइ, थिरूवानानुथपुरम, मदगाउँ, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मु तावीका लागि रेलसेवा उपलब्ध हुने बताइएको छ ।

भारतीय अधिकारीहरुले यात्रा गर्नुअघि ती सबै रेलवे स्टेसनमा यात्रुहरूको स्वास्थ्य जाँच पनि गरिने जनाएका छन् । स्वास्थ्य परीक्षणमा कोभिड १९ को कुनै लक्षण देखिएमा उनीहरुलाई रेलमा प्रवेश गर्न नदिइने बताइएको छ ।

त्यसैगरी यसरी यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने पनि जनाइएको छ । भारत सरकारले यसअघि अलपत्र परेका मजदूरको उद्धारका लागि पनि रेल सेवा शुरु गरेको थियो ।

यही मे १ देखि श्रमिक रेलहरु सञ्चालनमा ल्याएको बताइएको थियो । ती रेलहरुले भारतका विभिन्न स्थानमा अलपत्र परेका ठूलो संख्याका मजदूर तथा विद्यार्थीको उद्धार गरेको सरकारले जनाएको छ । रासस–एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७