बन्दाबन्दीमा पनि सूर्य नेपाल प्रालि उद्योग सञ्चालन, जोखिम बढाएको भन्दै स्थानीयको अनसन


१ जेष्ठ २०७७, बिहीबार
surya nepal


दमौली, १ जेठ । बन्दाबन्दीका क्रममा सिमराबाट कच्चा पदार्थ ल्याएर सूर्य नेपाल प्रालि सञ्चालन गरेको भन्दै तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का स्थानीयवासी आन्दोलित भएका छन् ।
बाहिरी जिल्लाबाट कच्चा पदार्थ ल्याएर उद्योग सञ्चालन गर्दा कोभिड–१९ को जोखिम बढेको भन्दै स्थानीयवासीले बुधबारदेखि रिले अनसन शुरु गरेका छन् ।

रातिको समयमा सवारी साधनबाट कच्चा पदार्थ ल्याउने क्रम नरोकिएपछि सुरक्षाका लागि उद्योग बन्द गर्नुपर्ने मागसहित रिले अनशन शुरु गरिएको स्थानीयवासी किसान गुरुङले जानकारी दिए ।

‘कोरोना सङ्क्रमण पुष्टि भएको जिल्लाबाट कच्चा पदार्थ ल्याएर उद्योग सञ्चालन गरेको विरोधमा स्थानीयवासी आन्दोलित भएका हुन्’, उनले भने, ‘काम नरोकिएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

उनका अनुसार बिहान ६ बजेदेखि शुरु रिले अनसन साँझ ६ बजेसम्म जारी रहनेछ । ‘सामाजिक दूरी कायम गर्दै शुरु गरिएको रिले अनसनमा यहाँका सबै स्थानीयवासीले ऐक्यबद्धता जनाउनु भएको छ’, उनले भने ।

उद्योगले सिमरामा प्रशोधन गरिएको पाँच कन्टेनर सूर्ती र दुई कन्टेनर प्याकिङका सामग्री ल्याएको छ । जोखिमको अवस्थामा रातारात सामग्री ल्याएर थप जोखिम निम्त्याउने काम भएको स्थानीयवासी दिलबहादुर गुरुङले बताए । बन्दाबन्दी अवधिभर उद्योगको काम पनि बन्द हुनुपर्ने स्थानीयवासीको माग छ ।

उद्योगमा मौज्दात रहेका सुर्ती कुहिने अवस्थामा आएकाले काम सञ्चालन गरेको प्रबन्धक बाबुराम कार्कीले जानकारी दिए । उनका अनुसार उद्योग सञ्चालनमा ल्याए पनि कर्मचारीलाई आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको छ । ‘भित्रका कर्मचारीलाई बाहिर जान दिएका छैनाँै, सुरक्षितरुपमा काम सञ्चालन गरिएको हो’, उनले भने ।

उद्योगको अनुगमन गर्न मङ्गलबार पुग्नुभएका नगरपालिकाका प्रमुख किसान गुरुङले कर्मचारीको सुरक्षालाई ख्याल गर्दै उद्योग सञ्चालन भएको पाइएको बताएका थिए ।

पृथ्वीराजमार्गसँगै जोडिएको उद्योगले विगत ६ वर्षदेखि चुरोट उत्पादन गर्दै आइरहेको छ । १४५ रोपनी क्षेत्रफलमा फैलिएको तनहुँ प्लान्टबाट वार्षिक ६ अर्ब खिल्ली चुरोट उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७