प्रदेश-२ कोरोना पुष्टि भएका ६० जनाको सम्पर्कमा आएका ३७० को स्वाब संकलन हुँदै

बिहीबारसम्म ४,६०० को स्वाब संकलन, ७७४ को रिपोर्ट आउन बाँकी


२ जेष्ठ २०७७, शुक्रबार
korona 6

जनकपुरधाम, जेठ । प्रदेश नं २ कोरोना सङ्क्रमितको संख्यामा वृद्धि भएपछि स्वाबको नमूना सङ्कलन साथै कन्टयाक्ट ट्रेसिङको दायरा बढाइएको छ । ती दुवै कार्यमा तीव्रता ल्याउन काठमाडौंबाट विशेष टोली यहाँ आइपुगेपछि दायरा बढाइएको हो ।

गत वैशाख ३० र ३१ गते कोरोना पुष्टि भएका ६० जनाको सम्पर्कमा आएका ३७० जनाको क टे«सिङ गरी स्वाबको नमूना सङ्कलन कार्य भइरहेको समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।

यसका साथै वीरगञ्जबाट फरार भएका दुई सङ्क्रमितमध्येका ४४ वर्षीय एक व्यक्तिमा मोटरसाइकलमा चढेर धुबिनीगाउँ पुगेको जनाइएको छ । सो मोटरसाइकल चालकसहित छ जना आफन्तको पनि स्वाबको सङ्कलन गरिने भएको छ । अर्को व्यक्ति कसैको सम्पर्क नआएको बताइएको छ । दुवै जनालाई पक्राउ गरी पुनः भर्ना गरिएको छ ।

राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा बिहीबारदेखि स्वाबको नमूना सङकलन भइरहेको छ । यसका साथै सप्तरीको खड्गपुर, राजगढ र तीलाठी–कोइलाडी गाउँपालिकामा पनि नमूना सङ्कलन गरिने छ ।

सर्लाहीका ४५ वर्षीय सङ्क्रमितको सम्पर्कमा आएका तीन जनाको नमूना लिइसकिएको उनले जानकारी गराए । धनुषा र महोत्तरीको जोखिम क्षेत्र पहिचान गरी स्वाब सङ्कलन गरिनेछ ।

सिरहा जिल्लामा भारतबाट लुकीछिपी प्रवेश गर्नेहरुको संख्यामा वृद्धि भइरहेकाले यसतर्फ स्थानीय समुदायलाई निगरानी गर्न र प्रवेश गरेका व्यक्तिलाई नजिकको क्वारेन्टाइनमा राख्न जोड दिइएको छ । प्रदेशमा बिहीबारसम्ममा चार हजार ६०० जनाको स्वाब सङ्कलन गरिएको छ ।

सोमध्ये तीन हजार ७२९ को रिपोर्ट नेगेटिभ आएको छ भने ७७४ जनाको रिपोर्ट आउन बाँकी छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा ६३ र वीरगञ्जस्थित स्कूलको आइसोलेसन कक्षमा आठ जनाको उपचार भइरहेको सचिव डा. घिमिरेले बताए । यस प्रदेशमा हालसम्म ९९ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ ।

पर्सामा सबैभन्दा बढी ८२, रौतहट, बारा र धनुषामा तीन–तीन र महोत्तरी र सर्लाहीमा दुई–दुई कोरोना सङ्क्रमित छन् । अन्य तीन जना भारतीय हुन् । सो सङ्क्रमितमध्ये वीरगञ्जका दुई र जनकपुरका एक गरी तीन सञ्चारकर्मी पनि कोरोनाबाट सङ्क्रमित भएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७