कोरोना कहरबीच डेंगुको डर


३ जेष्ठ २०७७, शनिबार
dengu 2

बागलुङ, ३ जेठ । कोरोना कहर मत्थर नहुँदै जिल्लामा देखिएको डेङ्गु सङ्क्रमणले जनसाधारणलाई झस्काएको छ । कोरोना र डेङ्गु भाइरसबाट सँगैसँगै जोगिनु पर्ने भएको छ ।

डेङ्गु ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । धवलागिरी अस्पतालमा उपचाररत जैमिनी नगरपालिका–८ की २३ वर्षीया युवतीमा शुक्रबार डेङ्गु लागेको पुष्टि भएको छ ।

‘बिरामीमा शङ्कास्पद लक्षण देखिएपछि जाँच गर्दा डेङ्गुको सङ्क्रमण भेटियो’, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने । सङ्क्रमित युवती गत सोमबार अस्पताल भर्ना भएकी थिइन् ।

युवतीको अवस्था स्थिर रहेको र थप जाँच गरिने प्रमुख चिकित्सक पोखरेलले बताए । उनले गर्मी बढेसँगै डेङ्गुको जोखिम थपिएकाले सावधानी अपनाउन सबैमा आग्रह गरे । ‘लामुखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो, सुत्दा झुल टाँग्ने गरौँ, घर वरिपरी पानी जम्ने खाल्डाखुल्डी छन् भने पुरौं’, उनले भने ।

सो जातको लामखुट्टले दिउँसो मात्र टोक्ने भएकाले बाहिर हिंडडुल गर्दा लामो बाहुला भएको लुगा लगाउन, पानी जम्ने पुराना भाँडाकुँडा, ड्रम, टायर आदिलाई घर छेउछाउ नराख्न सुझाव दिए ।
स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले शुक्रबार फेला परेको सङ्क्रमण यो वर्षको पहिलो भएको उल्लेख गरे । उनका अनुसार गत वर्ष जिल्लाका १० जना व्यक्तिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो ।

‘सङ्क्रमित भेटिएको ठाउँमा ‘खोज र नष्ट’ गर अभियान सञ्चालन हुँदैछ, सम्बन्धित स्थानीय तह र स्वास्थ्यचौकीसँग समन्वय भइरहेको छ’, प्रमुख गुरौले भने । लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट गरिने उनको भनाइ छ ।

उनले डेङ्गु फैलिन नदिन घर तथा बसोबास क्षेत्रको सरफाइमा विशेष ध्यान दिनुपर्ने बताए । डेङ्गुविरुद्धको अभियानमा स्थानीय तहको भूमिका र पहल महत्वपूर्ण हुने प्रमुख गुरौको भनाइ छ । स्वास्थ्य कार्यालयले गत वर्ष पनि सदरमुकामलगायतका ठाउँमा ‘माइकिङ’, सन्देशमूलक पर्चा वितरणदेखि सञ्चारमाध्यममार्फत सचेतना जगाउने काम गरेको थियो ।

डेङ्गुको परीक्षण सेवा धवलागिरी अस्पतालमा मात्र उपलब्ध छ । शङ्कास्पद देखिएका व्यक्तिमा डेङ्गु परीक्षण हुँदै आएको छ । डेङ्गु जाँचका लागि परीक्षण किटको अभाव नरहेको अस्पतालले जनाएको छ ।

चिकित्सकका अनुसार डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तश्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्छन् । डेङ्गको खास उपचार नभएकाले लक्षणअनुसार औषधि चलाउने गरिन्छ । गत महिना छिमेकी जिल्ला म्याग्दीमा पनि डेङ्गु देखिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७