फेरियो नेपालको मानचित्र : लिम्पियाधुरासहित नेपालको नक्सा सार्वजनिक


७ जेष्ठ २०७७, बुधबार
Nepal map 1 scaled

काठमाडौँ, ७ जेठ : सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । यही जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो ।

नयाँ नक्सामा अन्तर्राष्ट्रिय सिमानामा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र तथा सङ्घीयतानुरुप प्रदेश र स्थानीय तह पनि समेटिएको छ । 

सिंहदरबारस्थित मन्त्रलायमा भूमि व्यवस्थामन्त्री पद्मकुमारी अर्यालले आज पत्रकार सम्मेलन गरी सो नक्सा सार्वजनिक गरिन् ।  मन्त्री अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् ।

सो नक्सामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ । सरकारले सो नक्साका आधारमा निशानछाप र प्रतीकचिन्हसमेत प्रयोगमा ल्याउने निर्णय गरेको छ । सोका लागि संविधानको अनुसूचीमा संशोधन गर्न संसद्मा विधेयक पेश गर्ने तयारी पनि गरिएको छ ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७