घटेन कोरोना संक्रमण दर : एकै दिन विश्वका एक लाख मानिसमा कोरोना

हालसम्म विश्वका २० लाख २० हजार संक्रमित निको, तीन लाख २९ हजारको मृत्यु


८ जेष्ठ २०७७, बिहीबार
187607 01 02

काठमाडौं, ८ जेठ । विभिन्न सुरक्षाका विधि र उपायहरु अपनाउँदा–अपनाउँदै पनि विश्वभर कोरोना संक्रमणको दर झनझन् बढिरहेको छ । पछिल्लो २४ घण्टामै विश्वभर झण्डै एक लाख मानिसमा कोरोना संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ९९ हजार ३०७ जना नयाँ संक्रमित थपिएको वल्र्डओमिटरले जनाएको छ । नयाँ संक्रमित सबैभन्दा धेरै अमेरिकाका छन् । त्यहाँ हिजो एकै दिन झण्डै २१ हजार नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १५ लाख ९१ हजार नाघेको छ ।

विश्व महामारी कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन लाख २९ हजार नाघेको छ । ५० लाख ८० हजार संक्रमितमध्ये २० लाख २० हजार उपचार पछि निको भएका छन् ।
४५ हजार बढी संक्रमितको स्वास्थ्य गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

बेलायतमा दुई लाख ४८ हजार बढी संक्रमितमध्ये ३५ हजार ७ सय जनाको मृत्यु भएको छ । इटालीमा दुई लाख २७ हजार तीन सय बढी संक्रमित र ३२ हजार तीन सय बढीको मृत्यु भएको छ ।

फ्रान्समा एक लाख ८१ हजार पाँच सय बढी संक्रमित हुँदा मृत्यु हुनेको संख्या २८ हजार एक सय नाघेको छ । यस्तै स्पेनमा दुई लाख ७९ हजार पाँच सय बढी कोरोना संक्रमितमध्ये करिब २७ हजार ९ सयको मृत्यु भएको छ ।

ब्राजिलमा दुई लाख ९१ हजार पाँच सय बढी संक्रमित हुँदा १८ हजार आठ सय बढीको मृत्यु भएको छ । यस्तै जर्मनीमा एक लाख ७८ हजार पाँच सय बढी संक्रमित र आठ हजार दुई सय बढीको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ९६५ कोरोना संक्रमित हुँदा मृत्यु हुनेको संख्या चार हजार ६३४ पुगेको छ । रसियामा तीन लाख आठ हजार सात सय बढी कोरोना संक्रमितमा मृत्यु हुनेको संख्या दुई हजार नौं सय नाघेको छ । यस्तै भारतमा कोरोना संक्रमितको संख्या एक लाख १२ नाघ्दा चीन हजार ४३४ जनाको मृत्यु भएको छ ।

ब्राजिलका एकै दिन थपिए २० हजार नयाँ संक्रमित
दक्षिण अमेरिकी देश ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९५१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई लाख ९१ हजार नाघेको छ ।

ब्राजिल विश्वमा सबैभन्दा धेरै संक्रमित हुने तेस्रो देश हो । भाइरसका कारण बुधबार ८८८ जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या १८ हजार ८ सय नाघेको छ । यसैबीच, मुलुक महामारीको नयाँ इपिसेन्टर बन्दै गएपछि राष्ट्रपति जायर बोल्सोनारोले मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसको उपचारमा प्रयोग गर्न सुझाएका छन् ।

कोरोनाको विषाणुमार्छ भन्ने कुनै प्रमाण नरहेको हाइड्रोक्सिक्लोरोक्वीनले उल्टै मुटुमा समस्या हुनसक्ने चेतावनी वैज्ञानिकहरुले दिए पनि बोल्सोनारोले उक्त औषधि प्रयोगमा स्वीकृति दिएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै खाइसकेको औषधि भएकाले खान उनको सुझाव थियो । कोरोनाका संक्रमित ह्वात्तै बढेपछि ब्राजिलको स्वास्थ्य सेवामा ठूलो दबाब परेकाले केही दिनमै स्वास्थ्य सेवा कोल्याप्स हुन सक्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७