उपत्यकाका सबै नाका शिल गर्न गृहको निर्देशन, काठमाडौं छिर्न ‘आरडीटी’ रिपोर्ट देखाउनु पर्ने


८ जेष्ठ २०७७, बिहीबार
griha home

काठमाडौं, ८ जेठ । काठमाडौं उपत्यका कोरोना संक्रमणको जोखिममा पर्न थालेपछि गृह मन्त्रालयले थप कडा कदम अगाडि बढाएको छ ।

गृह मन्त्रालयले उपत्यकाका स्थानीय निकायहरुलाई पत्राचार गर्दै लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका शिल गर्न र काठमाडौं छिर्नेहरुको कडाइका साथ निगरानी बढाउन निर्देशन दिएको हो । गृह मन्त्रालयले उपत्यकाका जनप्रतिनिधिको छलफलपछि यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो ।

जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई लकडाउनलाई कडाइका साथ पालना गराउन र मानिसको आवतजावतलाई थप निगरानी बढाउन आग्रह गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा जेठ १ गते बसेको बैठकमा उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख, उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए ।

गृहले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाडौं उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा शिल गर्न आग्रह गरिएको छ । लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न आग्रह गरिएको छ ।

गृहको पत्रमा भनिएको छ, ‘नाका प्रवेशका स्थानीय तहहरुलगायत काठमाडौं उपत्यकाका सबै स्थानीय तहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य सम्भाव्य स्थलहरुलाई क्वारेन्टायन बस्ने व्यक्ति स्वयमले क्वारेन्टिन खर्च भुक्तानी गर्ने गरी स्म्भावित क्वारेन्टाइन प्रयोजनका लागि लागन संकलन र अन्य व्यवस्थापनको कार्य अगाडि बढाउने ।’

पत्रमा थप उल्लेख गरिएको छ, ‘काठमाडौं उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयं आफनो खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सोको रिपोर्ट साथ काठमाडौं उपत्ययका प्रवेश अनुमतिका लागि माग गर्ने ।’

पत्रमा काठमाडौं उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरु प्रवेश विन्दुमा पुग्नु पूर्व नै शुरु प्रस्थान जिल्लामा नै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाई गर्ने पनि उल्लेख छ ।

‘काठाडौँ उपत्यकास्थित स्थानीय तहले स्थानीय प्रशासनको समन्वयमा लुकीछिपी उपत्यका प्रवेश गर्नेहरुको खोजी र लगत संकलन गरी आवश्यक कारबाही प्रक्रिया शुरु गर्ने,’ पत्रमा भनिएको छ, ‘सबै सुरक्षा निकायले उपत्यका प्रेश नाकाको चेकचाँच र निगरानीमा थप कडाई गर्ने, स्थानीय तहसँग समन्वय गर्ने ।’

जेठ १ गतेको छलफलमा उपत्यकाका जनप्रतिनिधिले गृहमन्त्री रामबहादुर थापा वादललाई उपत्यकाको आवत–जावतलाई कडाई गर्न माग गरेका थिए ।

बैठकमा उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले लाखौंको संख्यामा रहेका उपत्यकावासीले सरकारले गरेको निर्णयलाई पालना गरिरहेको अवस्थामा केही व्यक्तिको आवत–जावतले उपत्यका अशान्त बनिरहेको भन्दै उपत्यकाका नाकामा कडाई गर्ने भन्दा पनि प्रस्थान विन्दूबाटै आवत–जावतलाई रोक्ने कुरालाई कडाइका साथ पूर्णरुपमा पालना गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका थिए ।

बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यसँगै ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, ताराकेश्वर नगरपालिका, टोखा नगरपालिका, शंखरापुर नगरपालिका, दक्षिणकाली नगरपालिका र सुर्यविनायक नगरपालिकाका प्रमुख सहभागी थिए ।

उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमको गत बैशाख २७ गतेको बैठकले पनि सरकारलाई उपत्यका प्रवेशमा कडाई गर्न माग गरेको थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७