‘रुकुम घटनामा उच्चस्तरीय नागरिक छानविन आयोग गठन गरियोस्’


१४ जेष्ठ २०७७, बुधबार
nawaraj2 1536x590 1

काठमाडौं, १४ जेठ । बुद्धिजीवी, मानवअधिकारकर्मी, पत्रकार र सामाजिक न्यायका अभियन्ताहरुले अन्तरजातीय विवाहको निहुँमा रुकुममा भएको दलित युवाको हत्याबारे छानविन गर्न उच्चस्तरीय नागरिक छानविन आयोग गठन गर्नुपर्ने माग गरेका छन् ।

खगेन्द्र सङ्ग्रौला, राजेन्द्र महर्जन, तुलानारायण शाह र विनोदविक्रम केसीलगायत १३८ लेखक, साहित्यकार र अधिकारकर्मीले आज संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गरी घटनाको विरोधमा ऐक्यबद्धता जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक र रुकुम चौरजहारी नगरपालिका–८ की मल्ल युवतीबीचको प्रेम सम्बन्धका कारण नवराजसहित तीन जनाको हत्या गरिएको र अन्य तीन जनालाई बेपत्ता पारिएको नरसंहारका घटनामा पीडितलाई न्याय र पीडकलाई हदैसम्मको कारवाही होस् । पीडित परिवारका साथै मल्ल युवतीको मानसिक र भौतिक सुरक्षाको बारेमा पनि आवश्यक कदम चालिनु पर्छ ।’

शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरेको पीडित परिवारको भनाइ छ । नवराजको शव भेरी नदीमा भेटिएको थियो ।

नवराजसँगै केटीको घरमा गएका अन्य दुई जनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अन्य तीन जना बेपत्ता छन् । उनीहरुले देशैभरि अन्तरजातीय विवाहका कारण हत्या गरिएका र दबाबका कारण आत्महत्या गर्ने अवस्थामा पुर्‍याइएका सबै घटनाको छानविन गर्नका लागि उच्चस्तरीय संसदीय समिति तुरुन्त गठन गर्न समेत आग्रह गरेका छन् ।

निष्पक्षरुपमा छानबिन गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न माग गर्दै संसद् र सडकमा विभिन्न राजनीतिक दलका नेता, अधिकारकर्मी, दलित नागरिक समाज, सरोकारवाला सङ्घसंस्थाले आवाज उठाउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७