सुतेका बेला समेत ‘मलाई नमार्नुस्’ भन्दै चिच्याउँछन् रुकुम घटनाका घाइते


६ असार २०७७, शनिबार
rukum ghatana

जाजरकोट, ६ असार । भेरी नगरपालिका–४ का सुदीप खड्काको शारीरिक चोट विस्तारै ठीक हुँदैछ । टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर चोट छ तर त्यो चोट विस्तारै सञ्चो हुँदै गइरहेको छ । बेलाबेला घटनाको पीडा र त्रासले सताइरहेको छ । कहिलेकाहीं घटना सम्झेर उनी झस्किरहेका छन् ।

भेरी नगरपालिका–४ का नवराज विकसहित छ जनाको ज्यान जाने गरी गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घटनामा सुदीप घाइते भएका थिए। उनीसहित १२ जनाले बल्लतल्ल ज्यान जोगाउन सफल भए तर मरणासन्न हुने गरी पिटिए ।

सुदीपलाई प्रहरीले उद्धार गरी मिसन अस्पताल लगेको थियो । त्यहाँ उनलाई सकसपूर्ण दुई रात बिताउनु पर्‍यो । घाउ पूरा निको नभए पनि उनी त्रासकै कारण घर फर्किनु पर्‍यो ।

प्रहरी, सञ्चारकर्मी र अन्य आफन्तले के भएको हो ? कसरी घटना भयो ? सोधेर हैरान पारेपछि आफू घर आएको सुदीपको भनाइ छ । बेलाबेला उनलाई त्यही नवराजलगायतका साथीहरूले बचाउ बचाउ भनेको आवाज कानमा गुञ्जिरहन्छ ।

‘सुतेका बेला समेत मलाई नमार्नुस् भन्छ,’ मदनकी आमा लक्ष्मी शाहीले बताइन् । सुविधा सम्पन्न अस्पतालमा लगेर शारीरिक र मानसिक समस्याको उपचार गर्ने सोच भए पनि आर्थिक अभावले कतै लैजान नसकेको उनले बताइन् ।

घरी पुलिसले बोलाउँछ, घरी युट्युबर लगायत आउँछन्, बोलाउँछन् । ‘थरिथरिका मान्छेलाई कति बयान दिनु ?’ लक्ष्मीले भनिन, ‘अहिले पनि छोरो डराइरहेको छ ।’ गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७