प्रदेश–१ मा कोरोना संक्रमितको संख्या ४२२ पुग्यो, २३४ निको


६ असार २०७७, शनिबार
korona 1

विराटनगर, ६ असार । प्रदेश–१ बाट थप १० जनाले कोरोना भाइरसलाई जितेका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरबाट शुक्रबार १० जना निको भई घर फर्केका हुन् ।
त्यसरी घर फर्किनेमा खोटाङका तीन, सुनसरीका तीन, उदयपुरका दुई र मोरङ जिल्लाका दुई जना छन् ।

निको भई घर फर्कनेमा २१ वर्षदेखि ४० वर्ष उमेरका चार महिलासहित १० जना छन् । उनीहरु गत जेठ २१ देखि २५ गतेसम्म अस्पतालमा उपचारका लागि भर्ना गरिएको उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उराँवले जानकारी दिए ।

प्रदेश–१ मा कोभिडबाट सङ्क्रमितको संख्या अहिलेसम्म ४२२ पुगेको छ भने निको भई घर फर्कनेको संख्या २३४ पुगेको छ ।

विराटनगर, मोरङको सुन्दरहरैचा र धरानमा अहिले १८८ जना कोभिड–१९ बाट संक्रमितको उपचार भइरहेको छ । यसरी उपचारहुनेमा कोशी कोभिड उपचार केन्द्रमा विराटनगरमा २५ जना, पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टर सुन्दरहरैचा मोरङमा ८५ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना छन् ।

यसैगरी शुक्रबार प्रदेश–१ मा थप दुई जनामा संक्रमण पुष्टि भएको छ । कोभिड–१९ बाट सङ्क्रमित हुनेमा झापाको दमक र मोरङको बूढीगङ्गाका एक–एक जना छन् । उनीहरुलाई उपचारका लागि विराटनगर ल्याइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७