अङ्गिकृत नागरिकतामा कांग्रेसको फरक मत, विधेयक बहुमतले पास गरे ‘नोटअफ डिसेन्ट’


७ असार २०७७, आईतवार
congress 1

काठमाडौं, ७ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अङ्गिकृत नेपाली नागरिकतामा विभिन्न पाँच बुँदे फरक मत राखेको छ ।

कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयक बहुमतबाट पास गरे ‘नोटअफ डिसेन्ट’ लेख्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार विहान ९ बजे बसेको पदाधिकारी बैठकले राष्ट्रिय सहमतिका लागि सरकार पक्षलाई आग्रह गरिने र पेलेरै अघि बढ्न खोजे ‘नोट अफ डिसेन्ट’ लेख्ने निर्णय गरेको हो ।

सत्तारुढ नेकपाको सचिवालय बैठकले नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलाले अंगीकृत नागरिकता लिन सात वर्ष समय अवधि राख्नुपर्ने निर्णय लिएपछि काँग्रेसले यस्तो निर्णय लिएको हो ।

बैठकमा सहभागी नेता गोपालमान श्रेष्ठले भने, ‘पदाधिकारी बैठकले पहिले नागरिकता विधेयकमा राष्ट्रिय सहमतिका लागि प्रयत्न गर्न भनेको छ । नेकपाले बहुमतका बलमा पास गर्न हो भने राज्य व्यवस्था तथा सुशासन समिति रहेका हाम्रा सदस्यहरुलाई पार्टीको निर्णय अनुसार ’नोट अफ डिसेन्ट’ लेख्नु हुन्छ ।’

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे आइतबार भएको छलफलमा कांग्रेस सांसदहरु दिलेन्द्रप्रसाद बडु, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला पन्त, अमरेशकुमार सिंह, मीना पाण्डे र विनोद चौधरीले फरक मत दर्ता गराएका हुन् ।

यसअघि आइतबार बिहान बसेको कांग्रेस नेताहरूको बैठकले अंगीकृत नागरिकताबारे अहिलेकै व्यवस्था कायम राख्नुपर्नेमा जोड दिएको छ ।

कांग्रेसले हाल राज्य व्यवस्था समितिमा प्रस्तावको रुपमा आएको र सत्तारुढ नेकपाले सहमति गरेको वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि दिने प्रस्ताव यसअघि दलीय सहमतिमा बनेको नागरिकता ऐन २०६३ को विपरीत रहेको बताएको छ ।

मंगलबारको बैठकमा समिति सचिवालयले सात वर्षको प्रस्ताव प्रस्तुत गरेको छ । जसमा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले अंगीकृत नेपाली नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको रहेछ भने निजले नेपालको अंगीकृत नागरिकता प्राप्त गर्ने सक्ने व्यवस्था राखिएको छ ।

Nagarikata

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७