डिसहोम जोडेका टिभीमा समस्या, मासिक २५० भनेर ३५० रुपैंयाँ असुल्दै


९ असार २०७७, मंगलवार
Dishhome1

काठमाडौं, ९ असार । नेपालको एक मात्र विना तार सीधै ग्राहकका घरसम्म (डिटिएच) सेवा प्रदायक भनी जिकिर गर्ने डिस होम जोडेकाहरु टेलिभिजन राम्रोसँग हेर्न नपाएको गुनासो गर्छन् ।

डिटिएच प्रविधिबाट गुणस्तरीय दृष्य हेर्न सकिने बताउँदै आएको डिसहोम बादल लाग्ने बित्तिकै अवरुद्ध हुन्छ । पानी पर्न थालेपछि त झ्यार झ्यार भएर हेर्न सकिँदैन । कतिखेर त घाम लागेका बेलामा पनि सेवा अवरुद्ध हुने गरेको ग्राहक श्यामबहादुर तामाङले बताए ।

टिभी हेर्दाहेर्दै बीचमा अड्किने गर्दा ‘बेक्कारमा डिसहोम जोडेछु’ जस्तो लाग्न थालेको उनले सुनाए । कोरोनाको सङ्क्रमण फैलिएका बेला त्यसबारे जान्न समाचार हेर्न बस्दा पटक पटक टिभी बन्द हुने गरेको तामाङको अनुभव छ ।

डिसहोम जोडेका टिभी घण्टैपिच्छे झ्याप् झ्याप् हुने गरेको धेरै प्रयोगकर्ताको भनाइ छ । यो अनुभव तामाङको मात्र होइन डिसहोम जोड्ने धेरै ग्राहकको हो । आफै टिभी बन्द हुने र खुल्ने विशेषता पनि डिसहोमको छ ।

मासिक रु २५० मा टिभी हेर्न सकिने भनी विभिन्न सञ्चारमाध्यमबाट विज्ञापन गर्ने डिसहोमले मासिक शुल्क भने ग्राहकबाट रु ३५० नै असुल्ने गरेको छ । ग्राहकले वार्षिक एकै पटक तिरे मात्र रु ३५० मा सेवा पाउँछन् । विज्ञापनको भाषाले भने वार्षिक एकै पटक तिरे मात्र रु २५० पर्छ भन्दैन ।

सो प्रविधिको माध्यमबाट धेरै टिभी च्यानल स्याटेलाइटबाट सीधै उपभोक्ताका घरमा पुग्ने जिकिर गरिए पनि सेवा गुणस्तरीय छैन । घरको छतमा सानो डिस र टिभीमा सेटअप बक्स जडान गरी आउने भनिएको सो टिभी सिग्नलका कारण समाचार, चलचित्रलगायत हेर्दाहेर्दै अड्किएपछि नमज्जा हुने गरेको दक्षिणकाली नगरपालिका फर्पिङका ग्राहक रामसुन्दर पौडेलले गुनासो गरे ।

सुगमदेखि दुर्गमसम्म लिन सकिने यो सेवाको गुणस्तर भौगोलिक विकटताका स्थानमा अझ कमजोर रहेको जडान गर्ने ग्राहकको गुनासो छ । नुवाकोटको दुप्चेश्वरमा डिसहोम जोडेकी माया तामाङ विज्ञापन गरे जति राम्रो सेवा पाउन नसकिएको दुःखेसो गर्छिन् । दुर्गममा पनि राम्रोसँग टिभी हेर्न सकिन्छ भनी डिसहोम जोडिए पनि त्यो पूरा नभएको उनको भनाइ छ ।

डिसहोम जडान गर्ने ग्राहकले शुरुमा एक महिनाको मात्र शुल्क तिर्दा नै कम्तीमा रु चार हजार डिलरलाई बुझाउँछन् । त्यति पैसा बुझाएवापत ग्राहकले प्यान बिल समेत नपाइएको जनाएका छन् । यसरी डिसहोमले करसमेत छली गरिरहेको देखिन्छ ।

डिसहोमले ग्राहकलाई दिएको वेबसाइट www.dishhome.com.np समेत सहजै खुल्दैन । डिसहोमको गुनासो शाखाकी उर्मिसा भुजेलले पुरानो सेटअप भएका ग्राहकमा मात्र समस्या आएको जिकिर गरिन् । डिसहोम जोडेको महिना दिन नबित्दै समस्या आएको ग्राहक बताउँछन् । थप जानकारीका लागि कार्यालयका अरु अधिकारीलाई सम्पर्क गराउने उनले जिकिर गरे पनि सम्पर्क हुन सकेन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७