चीनसँग सीमा समस्या छैन : परराष्ट्र मन्त्रालय


११ असार २०७७, बिहीबार
pararasta mantrlaya

काठमाडौं, ११ असार । परराष्ट्र मन्त्रालयले चीनसँग कुनै सीमा समस्या नरहेको बताएको छ ।
चीनबाट पनि नेपाली भूमि मिचिएकोबारे समाचारहरु बाहिरिएपछि मन्त्रालयले आज चीनबाट सीमा मिचिएको कुरामा सत्यता नभएको बताएको छ ।

नेपाल–चीन सीमामा हराएका भनिएका ३७ र ३८ नम्बरका बाउन्ड्री मार्करहरु वास्तवमा बनाउँदै नबनाइएको मन्त्रालयको दाबी छ ।

त्यहाँको प्राकृतिक अवस्थाका कारण दुवै मुलुकको सहमतिमा ती मार्करहरु तयार नै नगरिएको परराष्ट्रको भनाई छ ।

‘दुई मुलुकबीच कुनै समस्या आइपरेको खण्डमा पनि नेपाल सरकारले दुवै तर्फका सम्बन्धित अधिकारीहरुसँगको आपसी परामर्शमा ती विषयलाई सुल्झाउँछ,’ परराष्ट्रले बिहीबार जारी गरेको वक्तव्यमा भनेको छ ।नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम रहेको परराष्ट्रले उल्लेख गरेको छ ।

कृषि मन्त्रालयले बिहीबार नै विज्ञप्ति जारी गरी नेपाल र चीनबीच सीमा विवाद भनी उल्लेख गरिएको समाचारमा आधार बनाइएको प्रतिवेदन मन्त्रालयबाट प्रकाशित नै नभएको बताएको छ ।

‘उक्त समाचारको आधार बनाइएको प्रतिवेदन यस मन्त्रालयबाट प्रकाशित नै नभएको र सोसम्बन्धी विषय मन्त्रालयको कार्य क्षेत्र समेत नभएकाले उक्त समाचारमा कुनै सत्यता नरहेको सम्बन्धित सबैमा जानकारी गराइन्छ’ सचिव राजेन्द्रप्रसाद भारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७