नेपाल भित्रियो सलह, नियन्त्रण गर्न छैन विषादी


१४ असार २०७७, आईतवार
salaha 1

काठमाडौं, १४ असार । कृषि बालीमा क्षति पुर्‍याउने किराको तुलना गर्दा सलहजतिको खतरनाक अरू किरा छैनन् ।

यसले घाँसदेखि सबै प्रकारका हरियो बाली खाने गर्छ । एउटा बालीलाई शतप्रतिशत नष्ट गरेर मात्र अर्को बालीमा प्रवेश गर्छ । यो किरा ठूलो फौज बनाएर हिंड्छ, तर नेपालमा ठूलो फौज बनाएर आएको देखिँदैन । भारतमा आएको ठूलो हावाका कारण फौजमा रहेका किरा छुट्टिएर नेपाल आएको हुन सक्छ ।

यो किरा दिनभरि उड्ने र खाने अनि रात परेपछि बस्ने हो । बिहान भएपछि पुनः बालीमा बसेर खान थालिहाल्छ । किरा भित्रिएपछि नियन्त्रणका लागि योजना बनाउने, गृहकार्य गर्ने, विभिन्न निकायमा बैठक बस्ने गर्नु हुँदैन । तुरुन्तै विषादी हालेर नियन्त्रण गरिहाल्नुपर्छ । किरा आउने बित्तिकै बसेको ठाउँमा विषादी स्प्रे गरिहाल्नुपर्छ । मन्त्रालयले रोग नियन्त्रणका लागि योजना पनि बनाएको थियो, तर कार्यान्वयन भएन ।

यसलाई नियन्त्रण गर्न ‘मालाथियन ९६ पर्सेन्ट’ विषादी सबैभन्दा प्रभावकारी हुन्छ, तर नेपालमा यो विषादी छैन । पहिले नै किनेर राख्नुपर्ने थियो । अलि कम प्रभावकारी हुने क्लोरोसाइरिफियस विषादी भने छ ।

यो विषादी शनिबार साँझ नै बसेको ठाउँमा हाल्नुपथ्र्यो । आइतबार बिहान किरा तल झर्छन्, तिनलाई पनि बिहान नै विषादी हालिहाल्नु पर्छ । यसरी राति र बिहान दुईपटक स्प्रे छरेपछि किरा मर्छन् । एक–दुई दिन भनेर विषादी खोज्ने, स्प्रे गर्ने मेसिन खोजेर तयारी गर्ने भन्न थालियो भने ढिला हुन्छ । अर्कातिर किसानहरूले थाल ठट्टाउने, ड्रम बजाउने र म्युजिक ठूलो आवाजमा बजाएर धमाउन सकिन्छ ।

कृषि बाली नष्ट गर्ने किरामध्ये अहिलेसम्मकै सबैभन्दा खतरनाक मानिएको फट्यांग्रा आकारको सलह किरा नेपाल भित्रिएको छ । शनिबार बिहान ७–८ बजे सानो संख्यामा देखिएको किरा साँझ ६ बजेबाट भने ठूलो संख्यामा भित्रिएको छ ।

कृषि ज्ञानकेन्द्र बाराका अनुसार शनिबार साँझ कलैया क्षेत्रबाट ठूलो संख्यामा सलह किरा नेपाली भूभागमा भित्रिएको छ । शनिबार बिहान सानो झुन्डमा भित्रिए पनि दिनभर रोकिएपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कर्मचारीले सामान्य मानेका थिए । तर, साँझ ठूलो संख्यामा भित्रिएपछि नियन्त्रणबाहिर जाने पक्का भएको छ ।

शनिबार बिहान बाराको सिमरा र जितपुर, सर्लाहीको नवलपुर, रुपन्देहीको बुटवल र भैरहवामा देखिएको थियो । बिहान सलह किरा भित्रिएको जानकारी पाएपछि दिउँसो कृषि मन्त्रालयमा बैठक बसेर आवश्यक तयारीबारे छलफल भएको सचिव राजेन्द्रप्रसाद भारीले बताए । ‘रुपन्देहीदेखि सर्लाहीसम्म सलह किरा भित्रिएको जानकारी छ । यसलाई नियन्त्रण गर्न एउटा कमिटी बनाएर जिम्मेवारी तोकिएको छ,’ उनले भने ।

मध्याह्नबाट बाली नष्ट गर्न सुरु

बिहान ७–८ बजे भित्रिएको सलह किरा सुरुमा आकाश र जमिनमा मात्र देखिएको थियो । तर, दिउँसोबाट भने विभिन्न बालीमा छिरेर नष्ट गर्न लागेको कृषि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सर्लाहीको नवलपुरमा फलफूलका बिरुवा र मकैमा बसेको थियो ।

सिमरा र जितपुरमा काउली, फर्सीको पातलगायत तरकारी बालीमा बसेको थियो भने बुटवलमा कागतीको बोटमा बसेको मन्त्रालयका उपसचिव गंगा आचार्यले बताए । उनका अनुसार अपराह्न ४ बजेपछि सलह किराले बाली नष्ट सुरु गरेको थियो ।

भारतबाट भित्रियो सलह

भारतमा विगतका वर्षहरूमा यो किरा साउनदेखि असोजसम्म झुन्डका रूपमा देखिने गथ्र्यो । तर, यो वर्ष गत वैशाखमा नै देखियो । भारतमा पाकिस्तानबाट सलह आएको थियो । पाकिस्तानमा माघ, फागुनमा नै यो किराले दुःख दिएको थियो । वैशाखमा आएको किराले भारतको मध्यप्रदेश, गुजरात, राजस्थानलगायतका राज्यमा छोटो समयमै ५० हजार हेक्टरभन्दा बढी क्षति गरेको थियो ।

भारतमा क्षति बढ्दै गएपछि नेपालमा पनि यसको प्रवेशको सम्भावनाबारे अध्ययन गर्न प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंको नेतृत्वमा कार्यदल बनाइएको थियो । सो कार्यदलले नेपालमा भारतबाट सलह किरा यो वर्ष आउने सम्भावना न्यून रहेको प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनका आधारमा सरकारले कुनै पूर्व तयारी नगरी बसेको थियो ।

तर, शनिबार बिहान एक ठाउँमा करिब १ लाखको संख्यामा रहेको सलह किराको झुन्ड पुष्टि भएको छ । शनिबार बिहान तराई क्षेत्रमा पानी परेकाले राति नै सलह किरा भित्रिएको अनुमान छ । दक्षिणबाट उत्तरतिर बगेको हावाले भारतमा रहेको सलहको ठूलो बथानबाट सानो झुन्ड मात्रै छुट्टिएर नेपाल आएको अनुमान गरिएको छ ।

मन्त्रालयका उपसचिव गंगा आचार्यले सलहको सानो झुन्ड देखिएको र आवश्यक सतर्कता अपनाउन आइतबार दिउँसो वैज्ञानिक सम्मिलित बैठक बस्न लागेको बताए । ‘यो किरा नियन्त्रण गर्न सकिने किसिमको छ । यसलाई कसरी नियन्त्रण गर्ने भनेर हामीले गृहकार्य गरी आवश्यक कदम चाल्नेछौँ,’ उनले भने ।

विषादी छर्केर भगाउन सकिन्छ, तर विषादी छैन

सलह किरालाई नियन्त्रण गर्न ‘मालाथियन ९६ पर्सेन्ट’ विषादी सबैभन्दा प्रभावकारी हुन्छ । तर, यो विषादी नेपालमा छैन । मन्त्रालयका सचिव डा. भारीले यो औषधि हाल मौज्दातमा नरहेको पुष्टि गरे ।

‘हामीसँग यो औषधि छैन, किन्नुपर्ने हुन्छ,’ उनले भने । जेठ दोस्रो साता नै कमिटी गठन गरेर नियन्त्रणको उपाय खोज्न भनिए पनि नेपालमा यो किरा नै नआउने भनेर प्रतिवेदन दिएकाले सरकारले कुनै पूर्व तयारी गरेको थिएन । जसकारण अहिले यो रोग भित्रिएपछि नियन्त्रणका लागि छर्ने विषादीको अभाव भएको हो ।

त्यस्तै, क्लोरोसाइरिफियस विषादी पनि सलह किरा मार्न प्रयोग हुन्छ । यो औषधि भने नेपालमा उपलब्ध छ । तर, यसले तुलनात्मक रूपमा कम किरा मार्ने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका पूर्व प्रमुख डा. डिल्लीराज शर्माले बताए । ‘क्लोरोसाइरिफियस विषादी पनि पर्याप्त मात्रामा छर्न सकिन्छ, तर ढिला गर्नुहुँदैन,’ उनले भने ।

उनका अनुसार सलह किरा दिनभर बाली खाने र साँझ परेपछि एकै ठाउँमा जम्मा भएर बस्ने गर्छन् । त्यसैले सलह किरा बसेको ठाउँमा स्प्रेका माध्यमबाट विषादी छर्केर मार्न सकिन्छ ।

‘शनिबार बिहान भित्रिएको किरालाई मार्न साँझ नै स्प्रे हाल्नुपथ्र्यो,’ उनले भने, ‘हामीले यति गर्न नसक्दा ठूलो मूल्य चुकाउँछौँ ।’ तर, शनिबार साँझ विषादी छर्किने बारेमा कुनै तयारी नभएको कृषि ज्ञानकेन्द्र, बाराका प्रमुख जितेन्द्र यादवले बताए । ‘शनिबार नै विषादी छर्ने विषयमा कुनै निर्देशन प्राप्त भएको छैन,’ उनले भने ।

शर्माका अनुसार सलह किरा बसेको ठाउँमा ठूलो आवाजमा म्युजिक बजाएर पनि भगाउन सकिन्छ । तर, एक ठाउँबाट भगाएको किरा अर्को ठाउँमा बस्ने भएकाले देशको सिमाना नै कटुन्जेलसम्म सबै ठाउँबाट ठूलो आवाजमा म्युजिक बजाउने वा किसानले ड्रम, थाललगायत बजाएर भगाउन सक्ने उनले बताए ।

के हो सलह किरा ?

फट्यांग्रोजस्तो देखिने सलह किरा कृषि बाली नष्ट गर्दै आएको अहिलेसम्मकै सबैभन्दा खतरनाक किरा हो । एक वर्ग किलोमिटरभित्र एउटै समूहमा डेढ लाखदेखि ३–४ करोडसम्मको संख्यामा जम्मा हुने र बालीनाली एकैपटक नष्ट गर्ने गर्छ ।

अन्य किराहरू बाली विशेषमा लाग्ने र आंशिक नष्ट गर्ने गरे पनि सलह किरा हरियो जुनसुकै बालीमा लाग्ने र सबै नष्ट गर्ने प्रकृतिको भएको मन्त्रालयमातहतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका पूर्वप्रमुख डा. डिल्लीराम शर्माले बताए ।

‘यो किरा अहिलेसम्मकै सबैभन्दा खतरनाक साबित भएको छ । नेपाल भित्रिनु भनेको निकै खतराको संकेत हो,’ उनले भने, ‘यसलाई नष्ट गर्न शनिबारबाटै काम थाल्नुपर्ने थियो, तर १–२ दिन पर्खेर गल्ती भइरहेको छ ।’

यो किराले छोटो समयमै बाली, पात, डाँठ सबै नष्ट गर्ने उनले बताए । यो किरा सुरुमा सन् २००३ मा अफ्रिकामा देखिएको थियो । त्यसपछि खाडी मुलुक, इरान हुँदै पाकिस्तानबाट भारतमा आएको हो ।

यो किरा एक दिनमा १ सय ५० किलोमिटरसम्म समूह बनाएर जान सक्छ । ३५ हजार मानिसले बिहान र बेलुका खाने कृषिउपज एक दिनमा एउटै समूहमा आएका किराले नष्ट गर्ने सामथ्र्य राख्छ ।

प्रदेश–५ ले एक किलो सलहको २० रुपैयाँ दिने

नेपालमा सलह भित्रिएसँगै कृषि बालीमा क्षति हुन नदिन प्रदेश–५ सरकारले नियन्त्रणका लागि आवश्यक तयारी थालेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेश–५ सरकारले सलहबाट किसानको खेती जोगाउन तीन उपाय अवलम्बन गरेको जानकारी दिइन् । सरकारले किसानलाई सचेत गराउनेदेखि विषादी छर्नेसम्मका कुरालाई प्राथमिकतामा राखेको छ ।

मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले सलह बालीमा छपक्कै बस्ने हुँदा यसलाई नियन्त्रणमा लिएर बुझाउनेलाई सम्बन्धित वडा कार्यालयबाट प्रतिकिलो २० रुपैयाँ दिने बताए । उनले अहिलेको समय धानखेतीका लागि रोपाइँ गर्ने समय भएकाले बिउ जोगाउन अझ बढी सचेत हुनुपर्ने बताए । झुल अथवा जालीले ढाकेर भए पनि बिउ जोगाउन किसानलाई सुझाब दिएको उनले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७