कोरोना निको पार्ने औषधि बनाएको भन्दै भ्रम छरेको भन्दै रामदेवसहित पाँच जनाविरुद्ध उजुरी


१५ असार २०७७, सोमबार
ramdev baba corona medicine

काठमाडौं, १५ असार । सात दिनभित्र कोरोना निको पार्ने औषधि बनाएको दावी गर्दै भ्रम छरेको भन्दै योगगुरु रामदेवसहित पाँच जनाविरुद्ध उजुरी परेको छ ।

योगगुरु रामदेवसहित उनीद्वारा स्थापित पतञ्जलि आयुर्वेद लिमिटेड सीईओ आचार्य बालकृष्ण, त्यसैका कर्मचारी अनुराग वार्ष्णेय, नेसनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज एन्ड रिसर्च (एनआईएमएस) का अध्यक्ष बलवीरसिंह तोमर र निर्देशक अनुरागसिंह तमोरविरुद्ध प्रहरीमा उजुरी परेको भारतीय सञ्चारमाध्यम द हिन्दुले उल्लेख गरेको छ ।

पतञ्जलि कम्पनीले हालै कोरोना निको पार्ने भन्दै कारोनिल भन्ने औषधि सार्वजनिक गरेको थियो । तर, सार्वजनिक गरेको केहि घण्टामै विक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो । पतञ्जलिले जयपुरस्थित एनआईएमएससँग मिलेर यो औषधि परीक्षण गरिएको र कोरोना निको पार्ने देखिएको दाबी गरेको थियो ।

केही व्यक्तिले गरेको गुनासाका आधारमा जयपुरस्थित ज्योति नगर प्रहरी स्टेसनमा वकिल बलवीर जाखडले शनिबार उनीहरूविरुद्ध उजुरी दर्ता गरेका हुन् । रामदेवसहित पाँच व्यक्तिविरुद्ध भारतीय दण्ड संहिताको धारा ४२० (धोखाधडी) र औषधि एवं चामत्कारिक उपचार (आपत्तिजनक विज्ञापन) अधिनियम, १९५४ को धारा ४ (७) बमोजिम उजुरी गरिएको हो ।

उजुरीमा भनिएको छ– उक्त औषधि भारतको स्वास्थ्य मामिला हेर्ने केन्द्रीय आयुष मन्त्रालयको स्वीकृतिबिनै सार्वजनिक गरिएको हो । वकिल जाखडको आरोप छ– न केन्द्र न राजस्थान सरकार कहीं पनि दर्ता नगरी बिनाप्रमाण कोरोना निको पार्ने भन्दै कोरोनिल औषधि सार्वजनिक गरेर आम जनताको जीवनमा खेलबाड गरिएको छ ।

प्रहरीका एडिसनल कमिसनर अशोक गुप्ताले आइतबार दिएको जानकारीअनुसार उनीहरूविरुद्ध उजुरी परे पनि अहिलेसम्म कोही पक्राउ गरिएको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७