प्रधानमन्त्री ओली आफैले आफैलाई हटाउन कस्सिएर लाग्नु भएको छ : लोहनी


१५ असार २०७७, सोमबार

काठमाडौं, १५ असार । राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री पदबाट आफूले आफैलाई हटाउन प्रधानमन्त्री केपी शर्मा ओली कस्सिएर लागेको बताएका छन् ।

नेपालको नयाँ नक्सा जारी गरेबापत आफूलाई हटाउन स्वदेशी तथा विदेशी मिलेर लागेको प्रधानमन्त्रीको आरोपप्रति टिप्पणी गर्दै लोहनीले यस्तथो बताएका हुन् ।

लोहनीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विदेशी र स्वदेशी मिलेर नेपालको नयाँ नक्सा जारी गरे बापत तपाईंलाई हटाउने प्रयास हुँदैछ भन्ने तपाईंको आरोप पढियो । तपाईंको विश्लेषण गलत छ किनभने तपाईंलाई हटाउन तपाईं आफै कसिएर लाग्नु भएको छ, एक पटक शान्त भएर आफूले आफूलाई हेर्नुस् थाहा पाउनु हुनेछ ।’

‘ठीक कुरामा जनता र दलहरुले तपाईंलाई सधै साथ दिएका छन् । तपाईंले भद्र–भलादमी प्रतिपक्ष पाउनु भएको छ । नयाँ नक्साको बारेमा तपाईंको पार्टी र अन्य सबै पार्टी तथा आम नेपाली जनताले तपाईंलाई साथ दिएका छन् ।

विचार गर्नुस्, कुनै विदेशीको मुख हेरेको भए यो एकता सम्भव हुने थिएन,’ उनले थप लेखेका छन्, ‘संसदबाट सीमासम्बन्धि प्रस्ताव निर्विरोध पारित हुने थिएन । यो देख्दादेख्दै अरुलाई बिदेशीबाट सञ्चालित भन्नु तपाईं बाहेक अरु कोही नेपालमा देशभक्त छैनन् भन्नु हो । यो भनाईले तपाई सबै नेपाली जनताको अपमान गर्दै हुनुहुन्छ । आफू बाहेक अरु सबैलाई विदेशीबाट सञ्चालित छन् भन्ने दृष्टिकोण तपाईंको कमजोर र हतास मनस्थितिको परिचय हो ।’

लोहनीका अनुसार श्री ३ शैलीको अधिनायकवादी र सर्वसत्तावादी संस्कार, भ्रष्टाचारलाई राजनीति को प्रमुख अंग सम्झने प्रवृत्ति र आफ्ना भारदारहरुलाई देस जति लुटे पनि लुट्न भने र छुट दिने तपाईंको नव सामन्ती प्रवृत्तिका कारण प्रधानमन्त्रीको विरोध भइरहेको हो ।

लोहनीले प्रधानमन्त्रीका शुभ चिन्तकहरु पनि ओलीबाट देश चल्दैन भन्ने निचोडमा पुगिसकेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७