सचिवालय सदस्यहरुलाई प्रचण्डको ब्रिफिङ : ओलीले दुवै पद छाड्दिन, बरु पार्टी फुटाउँछु भन्नुभयो


१९ असार २०७७, शुक्रबार
PM KP Oli @ CM Parchanda scaled

काठमाडौं, असार १९ :  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफूले कुनैपनि पद नछोड्ने अडान राखेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको संवादमा ओलीले यो अडान राखेका हुन् ।

शुक्रबार बिहान बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको थियो । प्रधानमन्त्री ओली र प्रचण्डबीचको भेटमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । प्रधानमन्त्री ओलीसँगको संवादको बिषयमा शुक्रबार बेलुकी आफ्नो निजी निवास खुमलटारमा केही सचिवालयका नेताहरुलाई बोलाएर प्रचण्डले भेटवार्ताबारे ब्रिफिङ गरेका थिए ।

ब्रिफिङ्गको क्रममा प्रचण्डले भनेका थिए, ‘केपी ओलीले म दुवै पदबाट कुनैपनि हालतमा राजीनामा दिन्न बरु म आफै पार्टी विभाजन गर्छु भन्नुभयो ।’ खुमलटार बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार दिउँसोको छलफलमा अध्यक्ष प्रचण्डले ओलीलाई तपाईंले निकास दिनुपर्छ भन्नु भनेर सुझाव राखेका थिए । प्रतिउत्तरमा ओलीले भनेका थिए, ‘अध्यक्ष र प्रधानमन्त्रीको कुरा गर्ने भए कुरा गर्नु परेन, म छोड्दिनँ । त्योबाहेक अरु कुरा गर्नुछ भने कुरा गरौं, म तयारै छु ।’

प्रचण्डलाई ‘माधव नेपालसँग वा आफूमध्ये कोसँग मिल्ने भनेर प्रश्न समेत गरेका थिए । ब्रिफिङ्गमा प्रचण्डले भनेका थिए, ‘उहाँले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाहेकमा छलफल गर्न सकिएला । पार्टी फुटेकै छ । अब बरु तपाईँ र मसँगै बसौँ । तपाईँ मसँग हुने कि माधव नेपालको पार्टीमा ? भनेर नयाँ कुरा गर्नुभयो ।’

खुमलटारको ब्रिफिङ्गमा वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपा स्थायी कमिटी बैठक रोकिएको थियो । बैठक शनिबार पुन बस्दैछ । बैठक अघिसम्म सहमतिका लागि प्रयास गर्ने पनि प्रचण्डले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७